३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

ललितपुरको गोदावरीमा पुनर्स्थापना केन्द्र निर्माण गर्ने ट्रमा सेन्टरको योजना

काठमाडौँ — राष्ट्रिय ट्रमा सेन्टरले विभिन्न प्रकारका हाडजोर्नी तथा नसाका रोगसहित दुर्घटना तथा मस्तिष्कघातका कारण दैनिक जीवनयापनका लागि पुनर्स्थापना आवश्यक पर्ने बिरामीका लागि पुनर्स्थापना केन्द्र सञ्चालनमा ल्याउने तयारी गरेको छ। सेन्टरले पुनर्स्थापना केन्द्र निर्माणका लागि आवश्यक प्रक्रिया समेत अगाडि बढाइसकेको बताएको छ।

ललितपुरको गोदावरीमा पुनर्स्थापना केन्द्र निर्माण गर्ने ट्रमा सेन्टरको योजना

ट्रमाका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट तथा हाडजोर्नी विशेषज्ञ डा. बद्री रिजालका अनुसार पुनर्स्थापना केन्द्र निर्माणका लागि ललितपुरको गोदावरी नगरपालिकामा जग्गा लिन प्रक्रिया अगाडि बढाइएको बताए । उनका अनुसार गोदावरी नगरपालिकाले पुनर्स्थापना केन्द्र निर्माणका लागि एक सय रोपनी जग्गा पहिचान गरेर कार्यपालिका बैठकले दिने निर्णयसमेत गरिसकेको छ ।

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनका अनुसार गत पुस ८ मा बसेको नगरपालिकाको कार्यपालिका बैठकले ट्रमा सेन्टरले निर्माण तथा सञ्चालन गर्ने पुनर्स्थापना केन्द्रका लागि आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए । उनका अनुसार नगरपालिकाको वडा नं ६ र १० को सीमामा पर्ने झ्यालुङटार सामुदायिक वन र फैडोल सामुदायिक वन क्षेत्रभित्र बन्द अवस्थामा रहेको पुरानो ढुंगा खानी क्षेत्रमा पुनर्स्थापना केन्द्रका लागि जग्गा उपलब्ध गराउने निर्णय भएको हो ।

'हामीले ट्रमा सेन्टरलाई जग्गा दिने निर्णय गरेर पठाइसकेका छौं । अब जिल्ला प्रशासन कार्यलय हुँदै मालपोतबाट आवश्यक प्रक्रिया टुंगिएपछि मन्त्रिपरिषदले नै निर्णय गरेपछि ट्रमा सेन्टरले पुनर्स्थापना केन्द्र सञ्चालन गर्नका लागि जग्गा प्राप्त गर्ने छ,' उनले भने, 'यहाँ पुनर्स्थापना केन्द्र बन्यो भने सबैलाई फाइदा पुग्छ भनेर हामीले जग्गा दिने निर्णय गरेका हौं ।'

डा. रिजालका अनुसार जग्गा प्राप्तिका लागि स्वास्थ्य मन्त्रालयमार्फत आवश्यक प्रक्रिया अगाडि बढाइएको छ। ‘दुर्घटनामा परेर गम्भीर घाइते भएका झण्डै ७० प्रतिशतलाई फिजियोथेरापीका साथै अन्य विशेष प्रकारका थेरापी आवश्यक हुन्छ । यसका साथै मस्तिष्कघात लगायतका समस्या भएका लागि पनि पुनर्स्थापना आवश्यक पर्छ । त्यसैले हामीले सरकारी स्तरमै पुनर्स्थापना केन्द्र बनाउने योजना बनाएका हौं,' उनले भने, 'हालसम्म सरकारीस्तरमा केन्द्रीय तहको रिह्याब सेन्टर छैन। त्यसैले हामीले केही समयदेखि यसमा जोडबल गरेका थियौं ।'

डा. रिजालका अनुसार वार्षिक रुपमा अस्पतालमा उपचारका लागि आउनेमध्ये थोरैमा पनि पाँच सय जनालाई फिजियोथेरापी लगायत पुनर्स्थापना आवश्यकपर्ने देखिएको छ । 'सरकारीस्तरको पुनर्स्थापना केन्द्र नहुँदा गैरसरकारी तथा निजी संस्थाका केन्द्रमा पठाउनुपर्ने बाध्यता रहेको छ,' उनले भने, 'त्यस्ता संस्थामा बसेर पुनर्स्थापना हुन दैनिक दुई हजराभन्दा बढी नै रकम लाग्छ । जुन हामी कहाँ उपचार गराउन आउने बिरामीका लागि महंगो हुन्छ । ट्रमाले नै पुनर्स्थापना केन्द्र सञ्चालनमा ल्याए बिरामीले सहज रुपमा सेवा पाउन सक्ने छन्।'

उनका अनुसार पुनर्स्थापना केन्द्र स्थापना भएपछि त्यहाँ फिजियोथेरापी विषयको अध्ययन अध्ययापन गराउने योजनासमेत रहेको छ । यसका साथै उक्त पुनर्स्थापना केन्द्रमा विश्वस्तरका फिजियोथेरापी सुलभ र सहज रुपमा गराउने व्यवस्था मिलाइने छ ।

डा. रिजालले ट्रमा सेन्टरमा उपचारका लागि आउने बिरामीलाई सहज होस् भनेरै नि:शुल्क खाजा र खानाको व्यवस्था समेत गरिएको बताए । उनका अनुसार पछिल्लो समय गम्भीर चोटपटक लागेका बिरामीलाई आकस्मिक रुपमा डायलासिस गर्नका लागि डायलासिस मेसिन पनि सञ्चालनमा ल्याइएको उनले बताए ।

'हामीले पछिल्लो समय बिरामीलाई सहज होस् भनेर सेवा विस्तार गर्दै लगिरहेका छौं । हामीले आकस्मिक कक्षमा छुट्टै रिससिटेसन कक्षाको पनि व्यवस्था गरेका छौं । त्यहाँ २४ घण्टा एमडीजीपीका साथै एनेस्थेलियोजिस्ट हुने छन्,' उनले भने, 'यसैगरी, अस्पतालले हाल सञ्चालनमा रहेका पाँच वटा शल्यक्रिया कक्षलाई मोडुलर ओटीमा स्तरोन्नतरी गर्ने काम पनि गरिरहेको छ । तीनवटाको काम सकिसकेको छ । बाँकी दुईको स्तरोन्नती पनि छिट्टै सकिन्छ ।'

उनले आइसीयू सेवा विस्तारका साथै एचडीयू कक्ष पनि सञ्चालनमा ल्याइएको पनि बताए । उनका अनुसार हाल सञ्चालनमा ल्याएको ८ बेडको एचडीयूमा ३ वटा भेन्टिलेटर सुविधा समेत रहेको छ ।

प्रकाशित : चैत्र २, २०८० १३:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?