आईपीपीएफका महानिर्देशक डा. बर्मेखो नेपालमा

मंगलबार प्रधानमन्त्री दाहाललाई भेट्दै
कान्तिपुर संवाददाता

काठमाडौँ — इन्टरनेसनल प्लान्ड प्यारेन्टहुड फेडरेसन (आईपीपीएफ) का महानिर्देशक डा.अलभाइरो बर्मेखो नेपाल आएका छन् । नेपाल भ्रमणका क्रममा महानिर्देशक डा.बर्मेखोले उच्चस्तरीय भेटघाटसमेत गर्ने भएका छन् ।

मंगलबार उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्नेछन् । सोमबार नेपाल परिवार नियोजन संघको कार्यालयमा भएको पत्रकार भेटघाटमा उनले मंगलबार प्रधानमन्त्री दाहालसँग भेट्ने र बजेटमा यौन स्वास्थ्यलाई प्राथमिकता दिन आग्रह गर्ने पनि बताएका छन् । नेपाल परिवार नियोजन संघ आईपीपीएफ सदस्य हो ।

‘हामी नयाँ रणनीतिसहित यौन र प्रजनन स्वास्थ्य एवं अधिकारलाई वास्तविक रुपमा आवश्यकता भएकाहरूको लागि सेवा दिन रूपान्तरणको प्रक्रियामा छौं,’ डा.बर्मेखोले भने ।

उनले नेपालमा अझै ६५ प्रतिशत गर्भपतन असुरक्षित रहेको, सुरक्षित गर्भपतन सेवा, कानुनी अधिकारबारे महिलालाई थाहा नभएको अवस्था रहेको समेत जनाए ।

डा.बर्मेखोसँग नेपाल भ्रमणमा आईपीपीएफकी दक्षिण पूर्व एसियाका क्षेत्रीय निर्देशक सोनल मेहतासमेत छिन् । डा.बर्मेखो र मेहताले यौनकर्मी, एचआईभीसँग बाँचिरहेकाहरू, लागूऔषध प्रयोगकर्ता, अपाङ्गता भएकाहरू, यौनिक अल्पसंख्यक, यौनकर्मीलगायतका प्रतिनिधिहरूसँग भेटर यौन र प्रजनन स्वास्थ्य एवं अधिकार को विषयमा छलफलसमेत गरेका थिए ।

नेपाल परिवार नियोजन संघका कार्यकारी निर्देशक डा.नरेशप्रताप केसीले डा.बर्मेखो नेपालका उच्च पदाधिकारीहरूसँग भेटघाट सँगै कोशी र वाग्मती प्रदेशको परिवार नियोजन संघको स्वास्थ्य सुविधा र क्लिनिकहरू भ्रमण गरेर जानकारी समेत लिने बताए ।

प्रकाशित : वैशाख १८, २०८० २२:२९
प्रतिक्रिया
पठाउनुहोस्

फिनल्यान्डमा ‘मानव तस्करी र ठगी’ अभियोगमा एनआरएन अगुवालाई सजाय

दोलखा र गुल्मीका दुई पीडितलाई २ करोड ४० लाख र १ करोड ८२ लाख रुपैयाँ क्षतिपूर्ति दिन स्थानीय अदालतको आदेश 
देवेन्द्र भट्टराई

काठमाडौँ — फिनल्यान्डमा  ‘मानव तस्करी र ठगी’ अभियोगमा एनआरएन अगुवालाई स्थानीय अदालतले सजाय सुनाएको छ । राजधानी हेलसिन्कीमा रहेको नेपाली रेस्टुराँमा दुई नेपाली कामदारलाई वर्षौंसम्म तलब, सेवा–सुविधा नदिएको र निरन्तर मानव तस्करी गरेको पुष्टि भएपछि स्थानीय जिल्ला अदालतले रेस्टुराँका नेपाली मालिकलाई क्षतिपूर्ति भराउनेसहितको सजाय सुनाएको हो ।

फिनल्यान्डमा नेपाली रेस्टुराँ प्रवर्द्धनसहित गैरआवासीय नेपाली संघको संस्थापकको हैसियतमा रहेका देवीदत्त शर्मा खरेल र उनकी श्रीमती मन्जु शर्मालाई विपक्षी बनाएर जिल्ला अदालतमा दर्ता भएको मुद्दामा शुक्रबार आएको फैसलामा दुवै पीडित कामदारका पक्षमा फैसला सुनाएको हो । दोलखा, मैनापोखरीकी तारा थापा र गुल्मी आँपचौरका दिल खरेलले दायर गरेको मुद्दामा अदालतले थापाका पक्षमा झन्डै २ करोड ४० लाख रुपैयाँ र खरेलका पक्षमा झन्डै १ करोड ८२ लाख रुपैयाँ क्षतिपूर्ति रकम भराउने आदेश दिएको हो ।

रेस्टुराँ हिमालयका सञ्चालक दम्पतीद्वयलाई एक वर्ष ८ महिना जेल सजायको निर्णयसमेत अदालतले सुनाएको छ । तर, जेल सजायको हकमा भने ‘कन्डिसनल’ (ऐच्छिक)भन्दै शर्मा दम्पतीको अबको गतिविधि हेरिकन र ठगी तथा मानव तस्करीका अरु प्रकरण बाहिर नआएको खण्डमा भने यो सजायमा ‘पुनर्विचार’ हुन सक्ने भनिएको छ ।

सन् ९० को दशकमा फिनल्यान्डमा नेपाली रेस्टुराँ सुरुवात गर्दै तथा गुल्मी, अघाँखाँची, बागलुङ, पाल्पासहितबाट आफन्तजनलाई ल्याएर रेस्टुराँका काममा लगाउँदै आएका देवीदत्त शर्माले नेपालबाट कामदार लैजाने ‘एजेन्ट’ सरहको काम गर्दै आएका थिए ।

गैरआवासीय नेपाली संघ, फिनल्यान्डका पूर्वअध्यक्ष शेखर आचार्यका अनुसार, फिनल्याण्डमा ५० भन्दा बढी नेपाली रेस्टुराँ रहेका छन् । औपचारिक तथ्यांकमा फिनल्यान्डमा ३५ सय नेपाली रहेको भनिए पनि यो संख्या ५ हजारसम्म रहेको हुन सक्ने देखिएको छ । फिनल्यान्डको कूटनीतिक सहप्रमाणीकरण मामला डेनमार्कस्थित नेपाली दूतावासले हेर्दै आएको छ ।

व्यवसायी देवीदत्त शर्माकै सेटिङमा ११ वर्षअघि फिनल्यान्ड पुगेकी दोलखा, मैनापोखरीकी तारा थापा हेलसिन्की पुगेपछिका ५ वर्षसम्म बेहोरेको पीडा र दासता सम्झनसमेत चाहन्नन् । संयोगले पारिवारिक काममा अघिल्लो साता काठमाडौं आएकी तारा कान्तिपुर कार्यालयमा आफूले फिनल्यान्डमा नेपाली मालिकबाट बेहोरेको अमानवीय व्यवहार सुनाउन आएकी थिइन् । ‘म दोलाखाबाट यता काठमाडौं घरेलु काम गर्न आएकी थिएँ । अहिले फिनल्यान्ड बस्ने देवीदत्त खरेलकै जेठी श्रीमती अप्सराको घरमा काम गर्दै थिएँ,’ताराले सुनाइन्, ‘फिनल्यान्डबाट घर आएका देवीदत्तले मलाई काममा विदेश लैजाने र राम्रो पैसा, सुविधा दिने भनेर फकाए । म पनि सबै कागजी प्रक्रिया पुर्याएर फिनल्यान्ड पुगें ।’

सर्तमा मासिक १२ सय युरो तलब दिने भनिए पनि त्यो कागजी रकम मात्रै रहेको ताराले पछि थाहा पाएकी थिइन् । सुरुमा घरेलु काम मात्रै भनिए पनि केहीपछि देवीदत्तले उनकै रेस्टुराँमा समेत काममा लगाएको र दिनरात नभनी वा साताको छुट्टी केही नभनी काममा खटिएपछि आफू बहुलाउन मात्रै नसकेको ताराले सुनाइन् । ‘मेरैजस्तो हालत अरुको पनि थियो, तर कामबाट निस्कनुपर्ला भनेर बोल्न सक्ने कोही थिएन,’ताराले ती दिन सम्झिन् ।

आफूले दायर गरेको मुद्दाको गत शुक्रबार सुनुवाइ भएको थाहा पाएपछि र आफूले पहिलो चरणको न्याय पाएको बोध गरेपछि ताराले सोमबार फोनमै सुनाइन्, ‘अहिले पनि मजस्ता पीडित र माव तस्करीको फन्दामा पर्ने दाजुबहिनीहरू फिनल्यान्डमा धेरै छन्, उनीहरू धेरैजसो आफ्नै नातेदारको घेरामा बसेका छन् । ती धेरैजसो रेस्टुराँभित्रका काममा बँधुवा मजदुरजस्तै बसेका छन् । म अब ती सबैका लागि पनि बोल्न तयार छु । अब दबिएर बस्ने होइन, आफ्नो न्याय र अधिकारका लागि अघि आउनुपर्छ ।’

यसअघि, मानव तस्करी र ठगीसहितको प्रकरणमा अदालती फैसलापछि फिनल्यान्डको तामपेरे सहरको कारागारमा डिलाराम र रिमा सापकोटा दम्पती गत डिसेम्बरदेखि ३ वर्ष ८ महिनाको थुनामा परिसकेका छन् । सापकोटा दम्पतीले तामपेरे सहरमा रहेको आफ्नै रेस्टुराँमा नेपाली कामदार ल्याएर बन्धक बनाएको उजुरी परेपछि गरिएको छानबिनमा जेल सजाय सुनाइएको थियो ।

प्रकाशित : वैशाख १८, २०८० २२:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×