भारतका बिरामी तान्दै- स्वास्थ्य - कान्तिपुर समाचार

भारतका बिरामी तान्दै

भारतीय नागरिकको समेत उपचार केन्द्र बनेको चितवनमा निजी अस्पतालले समेत क्यान्सर उपचार सुरू गरेका छन्
रमेशकुमार पौडेल

चितवन — सर्लाही मलंगवाका रामभजन पण्डित बिहीबार बिहान ८ नबज्दै भरतपुर–७ कृष्णपुरमा रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल छिरिसकेका थिए । उनी श्रीमती रामवती देवीको उपचारका लागि आएका हुन् ।


अस्पतालको गेटमै कुपन वितरण हुन्छ, त्यसैका आधारमा काउन्टर अगाडि गएर पालो कुर्नुपर्छ । बोर्डमा नम्बर डिस्प्ले भएपछि काउन्टरमा गएर डाक्टरलाई भेट्ने समय लिनुपर्छ । बिहानै जाँदा पनि रामभजनले १४७ नम्बरको कुपन पाए ।

बाजुरा छेडेदह गाउँपालिका–२ खप्तडका ५६ वर्षीय परशु बुढा भीडभन्दा बाहिर टुक्रुक्क बसेका थिए । उनका छोरा चक्र टिकट काउन्टरतिर गए । फोक्सोमा समस्या परेपछि उपचारका लागि कैलाली झरेका उनलाई भरतपुर जान भनियो । भदौदेखि उनी भरतपुर धाइरहेका छन् ।

पूर्वी नेपालका रामभजन र सुदूरपश्चिमका परशु मात्रै होइन क्यान्सरपीडितका लागि बीपी क्यान्सर अस्पताल भरपर्दो उपचार केन्द्र बनेको छ । क्यान्सरको मात्र उपचार हुने देशको ठूलो सरकारी अस्पताल यही हो । २०५६ असोजबाट सेवा आरम्भ गरेको अस्पतालमा उपचारका लागि सीमावर्ती क्षेत्रका भारतीय आउने गरेका छन् । चितवनमा निजी अस्पतालमा समेत क्यान्सरको उपचार सुरु भएको छ ।

अस्पतालका सूचना अधिकारी गृहीनारायण महतोका अनुसार सन् २०२२ मा कुल एक लाख ६५ हजार ५० जना बिरामी आएका थिए, तीमध्ये तीन हजार ५ सय २० जना भारतीय थिए । अस्पतालले क्यान्सर परीक्षण, शल्यक्रिया, रेडिएसन थेरापी तथा केमोथेरापी विधिबाट उपचार गर्दै आएको छ । अस्पतालमा हाल पाँच सय शय्या छन् ।

‘सयभन्दा धेरै चिकित्सक छन् । शय्या त्यहीअनुसारका छन् । क्यान्सरको उपचार हुने यो अस्पताल नेपालकै मुख्य अस्पताल हो,’ अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले भने । २०४८ सालमा तत्कालीन प्रधानमन्त्री चीन भ्रमणमा जाँदा भएको समझदारीअनुसार चीनले निर्माण गरेर नेपाल सरकारलाई हस्तान्तरण गरेको अस्पतालका भवन चिटिक्कका छन् । फराकिलो क्षेत्रफलमा हरियालीभित्र अस्पताल छ ।

‘हाम्रो अस्पतालमा नहुने भनेको बोन म्यारो प्रत्यारोपण र पेट स्क्यान सेवा हो । योबाहेक क्यान्सरसम्बन्धी सबै सेवा उपलब्ध छन्,’ कार्यकारी निर्देशक डा. गौतमले भने, ‘क्यान्सर भए/नभएको समयमै पत्ता लगाए धेरै खाले क्यान्सर पूर्ण निको हुन्छन् । तर नेपालमा उपचारका लागि बिरामी अन्तिम अवस्थामा आउँछन् । जनचेतना नभएर पनि यसो भएको हो । अन्तिम अवस्थामा पुगेको क्यान्सरको गुणस्तरीय उपचार हुन पाउँदैन । त्यस कारण गुनासा पनि आउँछन् ।’ बिरामीको चाप बढ्दै जाँदा रेडिएसन थेरापीमा पालो कुर्नुपर्ने अवस्था छ । चाँडै नयाँ मेसिन थपेर चाप घटाउने प्रयास भइरहेको अस्पतालको भनाइ छ ।

चितवनकी सामाजिक अभियन्ता बन्दना खाँण नेपालमै क्यान्सरको राम्रो उपचार हुन थालेको बताउँछिन् । उनलाई २०७२ भदौमा स्तन क्यान्सर भएको थियो । सुरुवाती चरणमै उनले बीपी क्यान्सर अस्पतालमा उपचार सुरु गरिन् । अहिले उनी क्यान्सरमुक्त भइसकेकी छन् । ‘यहींको उपचारले मलाई पूर्ण निको भएको हो । यस्तै उपचारका लागि धेरै जना बाहिर गएको पनि देख्छु, सुन्छु । खास गरेर भारत जाने धेरै नै छन्,’ उनले भनिन् ।

चितवन मेडिकल कलेज (सीएमसी) को भरतपुरमा रहेको शिक्षण अस्पतालले पनि माघ १२ गतेबाट क्यान्सरको उपचार सुरु गरेको छ । अस्पताल परिसरको छुट्टै भवनमा सीएमसीले सय शय्या छुट्याएको छ । परीक्षण, शल्यक्रिया, रेडियोथेरापी र केमोथेरापी जस्ता सबै खाले उपचार पद्धति उपलब्ध रहेको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । दिनमा सय जना बिरामीलाई रेडियोथेरापी सेवा दिन सकिने अस्पतालले जनाएको छ । ‘चितवनमा पालो पर्खनुपर्ने समस्याले बिरामीहरू भारत र उस्तै परे अन्य देश पनि जाने गरेका छन् ।

प्रकाशित : माघ २१, २०७९ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्

सडकमै छरपस्ट तरकारी

उचित मूल्य नपाएको भन्दै चितवनका किसानले विरोधस्वरूप नारायणगढ बजारमा तरकारी फाले
रमेशकुमार पौडेल

चितवन — दुई साताअघिसम्म चितवनका किसानले २५ किलो अटाउने एक क्रेट टमाटरको मूल्य आठ सय रुपैयाँ पाएका थिए । सुरुमा भदौतिर दुई हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको टमाटर यति बेला स्वाट्टै घटेर दुई सय रुपैयाँमा झरेपछि शुक्रबार चितवनका किसानले नारायणगढ बजारको व्यस्त क्षेत्र पुलचोकमा तरकारी छरेर विरोध गरे । भारतबाट तरकारी आएपछि मूल्य नपाएको किसानहरूको भनाइ छ । 

'एक किलो टमाटर उत्पादन गर्न कम्तीमा पनि १७ रुपैयाँ हाराहारीमा खर्च लागेको छ । अहिले त खर्च नै नउठ्ने गरेर टमाटरको मूल्य झरेपछि बेच्नभन्दा फाल्न बाध्य भयौं,’ पश्चिम चितवन शुक्रनगमा तरकारी खेती गरेका किसान लेखनाथ भुसालले भने । पश्चिम चितवन क्षेत्रमा दुईदेखि २० बिघासम्म तरकारी खेती गर्ने किसान १३० हाराहारीमा छन् ।

'यति बेला भारतबाट टमाटर धेरै नै आएको छ । त्यसैले हामीले मूल्य नपाएका हौं । अरू तरकारीको अवस्था पनि त्यही हो । अब हामी चरणबद्ध आन्दोलनमा जान्छौं । भारतीय तरकारी नरोकिँदासम्म आन्दोलन चल्छ,’ उनले भने । उनी किसानले गठन गरेको संघर्ष समितिका संयोजक पनि हुन् । संघीय सरकारले दीर्घकालीन र तत्कालीन रूपमा स्थानीय निकायले किसानको समस्या हटाउन पहल गर्नुपर्ने उनले बताए ।

किसानहरूले दुई गाडी टमाटर, दुई गाडी फर्सी र दुई गाडी सबै खाले तरकारी सडकमा फालेका हुन् । नारायणगढमा रहेको तरकारी तथा फलफूल व्यवसायीको संस्था फलफूल तथा तरकारी थोक व्यवसायी संघका अध्यक्ष मुकुन्दप्रसाद गौतम यति बेला बजारमा भारतीय तरकारी आएको बताउँछन् । तर भारतीय तरकारीका कारण मात्रै नेपाली किसानले मूल्य नपाएको उनी स्विकार्दैनन् ।

'यति बेला प्रायः तरकारीले मूल्य नपाउने समस्या हुन्छ । अघिल्ला वर्षमा त अझ तरकारी बारीमै रहने, कुहिने हुन्थ्यो,’ उनले भने, 'अहिले बजारमा त आएको छ । जताततै तरकारी भएका कारण मूल्य नआएको हो ।’

प्रकाशित : माघ २०, २०७९ २२:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×