कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालगन्जमा दादुराका बिरामी बढ्दै

नेपालगन्जमा दादुराका बिरामीको संख्या हालसम्म एक सय १० पुगिसकेको छ
रुपा गहतराज

नेपालगन्ज — बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा दादुरा संक्रमितको संख्या एक सय १० पुगिसकेको छ । नेपालगन्जमा एक सय ८ जना र खजुरामा दुई जना गरी दादुरा संक्रमितको संख्या एक सय १० पुगेको हो ।

नेपालगन्जमा दादुराका बिरामी बढ्दै

जसअनुसार नेपालगन्जमा दादुरा संक्रमितको संख्या बढ्दो क्रममा रहेको । स्वास्थ्यकर्मीहरूका अनुसार दैनिक १५ जनाभन्दा बढी संक्रमित भेटिएका छन्।

यहाँका १० वटा वडामा संक्रमित फेला परेका हुन्। उपमहानगरको १, ५, ७, ८, ९, १०, ११, १४, १५ र २२ मा दादुराका संक्रमित देखिएका हुन् ।

सबैभन्दा धेरै वडा नं. ८ मा २९ जना संक्रमित फेला परेका छन् । वडा नं. ७ मा २८, वडा नं. ११ मा २१, वडा नं. ५ मा १५ जना संक्रमित भेटिएका हुन् । बाँकेको खजुरामा दुई जना संक्रमित भएका छन्। उनीहरूको अस्पतालमा उपचार भइरहेको छ। नेपालगन्ज उपमहानगरपालिका–५ मा दादुराले सिकिस्त भएका ३१ महिने बालकको पुस १३ मा मृत्यु भएको थियो  ।

भेरी अस्पतालमा उपचार भइरहेका बिरामीसँग अस्पतालले शुल्क लिएको विषयमा भने स्वास्थ्यकर्मीले आक्रोश पोखेका छन्।

नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले संक्रमण फैलिएको नेपालगन्जमा संक्रमितलाई भेरी अस्पतालले नि:शुल्क उपचार गर्नुपर्नेमा शुल्क लिएर काम गर्न अप्ठेरो पारेको बताए।

नेपालगन्जमा संक्रमितको संख्या बढ्दै गएपछि चार दिनदेखि दादुराविरुद्धको खोप अभियान चलाइएको छ। संक्रमण देखिएका वडाका ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाइएको छ। स्वास्थ्य कार्यालयले १० हजार ९ सय ९६ जनालाई खोप लगाउने लक्ष्य राखेको छ ।

पछिल्लो समयमा स्वास्थ्य मन्त्रालयले पनि नेपालगन्जमा देखिएको दादुराप्रति चासो दिएर स्वास्थ्य सेवा विभागको टोली नेपालगन्ज पठाएको छ । नेपाल सरकारले सन् २०२३ सम्ममा दादुरालाई निवारण गर्ने लक्ष्य लिएको थियो ।

प्रकाशित : पुस २७, २०७९ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?