कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मौसम रुघाखोकीको

अतुल मिश्र

काठमाडौं — चिसो बढेसँगै सामान्य रुघाखोकीको समस्यासमेत बढै गएको छ । मौसम परिवर्तन हुनासाथ हरेक घरमा रुघाखोकीले समाउने र थलिनेहरू बढिरहेका छन् । स्वास्थ्य केन्द्रहरूमा पनि यस्तै प्रभावितहरूको संख्या थपिइरहेको छ ।

मौसम रुघाखोकीको

केन्द्रीय आयुर्वेद अस्पताल, नरदेवीमा पुग्ने बिरामीहरूमध्ये करिब एकतिहाइ रुघाखोकीकै छन् । आयुर्वेद शिक्षण अस्पताल, कीर्तिपुरमा समेत रुघाखोकीका समस्या लिएर पुग्नेहरूको लाम सानो छैन ।

‘आज (शुक्रबार) आएका ९० जनामध्ये ३० जना रुघाखोकीकै बिरामी थिए,’ केन्द्रीय आयुर्वेद अस्पताल, नरदेवीका निर्देशक डा. रामदेव यादव भन्छन्, ‘मौसम परिवर्तनसँगै रुघाखोकीका प्रभावितहरू पनि बढेका छन् ।’

अंग्रेजीमा ‘कमन कोल्ड’ भनिने सामान्य रुघाखोकीलाई आयुर्वेदमा ‘प्रतिश्याम’ भनिन्छ । त्रिदोष सिद्घान्त अनुसार यो रोग कफ र वातको प्रकोपका कारण हुन्छ । आयुर्वेद अनुसार, शरीरमा वात, पित्त र कफको असन्तुलनले गर्दा रुघाखोकी उत्पन्न हुन्छ । त्यो किनभने, मौसम परिवर्तन हुँदा, ऋतु सन्धिकालमा अर्थात् दुई ऋतुको बीचको अवधिमा मानव शरीरको प्रतिरोधात्मक क्षमता कम हुन्छ र रुघाखोकीको संक्रमण बढ्ने गर्छ ।

सामान्य रुघाखोकीमा अर्थात् मौसमी रुघाखोकीमा नाकबाट पानी बग्ने, सुक्खा खोकी लाग्ने, टाउको दुख्ने, हल्का ज्वरो आउने, घाँटी खसखसाउने, हाच्छिउँ लागिरहने, खान मन नलाग्ने, थकाइ अनुभव हुने जस्ता लक्षण पाइने डा. रामदेव बताउँछन् ।

रुघाखोकी लागेका बेला शरीरको तापक्रम नियन्त्रित राख्नुपर्छ । तापक्रम एक्कासि हुने परिवर्तनले रुघाखोकीलाई झन् बल्झाउँछ । यसैले रुघाखोकीले समाएका बेला एकदमै चिसोबाट गर्मी र गर्मीबाट एकदमै चिसो भएको वातावरणमा जानु हुँदैन । धूलोधूवाँबाट पनि जोगिनुपर्छ । रुघाखोकी लागेका बेला सकेसम्म आराम गर्नुपर्छ ।

मौसम परिवर्तनसँगै खानपान, आहारविहारमा परिवर्तन अर्थात् ऋतु अनुसारको दिनचर्या आवश्यक हुन्छ । मौसम परिवर्तन अनुसार खानपानमा अलग अभ्यास गरे मौसमी रोगबाट बच्न सकिन्छ । आयुर्वेद अनुसार, मौसमी रुघाखोकी नलागोस् र जाडो सम्बन्धी अन्य रोगले नछोऊन् भन्न जाडोयाम (मंसिरदेखि माघसम्म) चाहिँ हेमन्त ऋतुचर्या अवलम्बन गर्नुपर्छ ।

‘हेमन्त ऋतुमा गुलियो, पिरो, अम्ल, लवण, रसको सेवन बढी गर्नुपर्छ,’ आयुर्वेद शिक्षण अस्पताल, कीर्तिपुरका डा. रामआधार यादव भन्छन्, ‘यो मौसममा चिसो पानीले नुहाउनु हुँदैन । चिसोलाई पेल्न खोज्नुभन्दा मनतातो पानीले नुहाउने गर्नुपर्छ । नुहाएपछि जीउभरि तेल लगाएर केही समय घाममा बस्नुपर्छ । दिउँसो सुत्नु हुन्न । खाना खाएको खायै गर्नु हुन्न । यो ऋतुमा मांसाहारीले माछामासुको उचित र उपयुक्त मात्रामा सेवन गर्नुपर्छ ।’

रुघाखोकीले मधुमेह, उच्च रक्तचाप, क्षयरोग, दम, एचआईभी, रक्तअल्पता जस्ता रोग लागेका, बालक, बूढापाका, कुपोषित, रोग प्रतिरोधक क्षमता कम भएकाहरूलाई बढी सताउँछ ।

रुघाखोकीको उपचार बेलैमा नगरे पछि नाक बन्द हुने समस्यासमेत हुन सक्छ । रुघाखोकी लागिरहे कफ पिनासको रूपमा जम्न थाल्छ र यसले जटिलता बढाउँछ । यस्तो अवस्थामा पिनासको समेत उपचार गराउनुपर्छ ।

रुघाखोकी तीन दिनसम्म घरायसी उपचारबाट निको नभए, सुधार नदेखिए, सास फेर्न असजिलो भए वा नाक बन्द हुने अवस्था भए चिकित्सकको परामर्श लिनुपर्ने डा. रामदेव सुझाउँछन् ।

रुघाखोकी अति सामान्य मानिए पनि यसमा कहिलेकाहीं जटिलता देखिएर ज्यानै जोखिममा पर्ने अवस्थासमेत आउन सक्छ । त्यसैले आफूलाई कुनै असामान्यत: वा जटिलता अनुभव भए तुरुन्त चिकित्सकीय परामर्श आवश्यक हुन्छ ।

रुघाखोकीको घरेलु उपचार
डा. रामआधारका अनुसार, रुघाखोकी भएपछि घरेलु उपचार अन्तर्गत तुलसी, बेसार, मरिच, दालचिनी, सुकेको अदुवा, असुरो (मधेसमा यसलाई बाकस भनिन्छ) को पात, गुर्जो (मधेसमा यसलाई गुडुची भनिन्छ), नुन र मधुमेह नभएकाहरूले अलिकति चिनी हालेर सबै वस्तुलाई चिया जस्तै पकाएर खाँदा सन्चो
हुन्छ । गुर्जो स्वाइन फ्लु, चिकेन गुनियाको उपचारमा समेत प्रभावकारी देखिन्छ ।

रुघाखोकी नभएकाहरूले पनि यसको संक्रमणबाट जोगिन जाडोयाममा तुलसीको पात, बेसार, दालचिनी, मरिचको काढापानी बनाएर चिया जस्तै खाने गरे यो समस्याले छुन सक्दैन ।

‘अदुवाका ससाना चानाहरू तताई नुन छर्केर खाँदा वा तातो दूधमा बेसार मिलाएर खाँदा पनि फाइदा हुन्छ,’ डा. रामदेव भन्छन्, ‘लक्ष्मीविलास रस बच्चाले एक र वयस्कले दुई गोली गरी दुई पटक खाँदासमेत रुघाखोकीबाट राहत मिल्छ ।’

यदि अलि मिहिनेत गर्ने हो भने लक्ष्मीविलास रस २५० मिलिग्राम, त्रिभुवन कीर्तिरस २५० मिलिग्राम, शृंग भस्म २५० मिलिग्राम र त्रिकटु चूर्ण एक ग्रामलाई राम्ररी मिसाएर एक सातासम्म बिहानबेलुका एकएक चम्चा महसँग सेवन गर्नाले समेत रुघाखोकीबाट आराम पाउन सकिन्छ । डा. रामदेवका अनुसार बालबालिकालाई भने यो मिश्रण आधा चम्चा बिहान र आधा चम्चा बेलुका दिनुपर्छ ।

रुघाखोकी लगेका बेला बसा अवलेह बिहानबेलुका ठूलाले दुई चम्चा र बालबालिकाले एक चम्चा खाने गर्दा समेत फाइदा हुन्छ । यस्तै, लवंगादि वटी दुई गोली बिहान र दुई गोली साँझ चुस्दा वा प्रतिशायहर वटी दुईदुई गोली बिहानबेलुका चुस्दा पनि लाभ हुन्छ ।

मह र कागती तातो पानीमा मिसाएर पिउनाले समेत रुघाखोकीमा फाइदा हुन्छ । बिहानबेलुका अदुवाको रस र मह मिसाएर खने गर्नाले पनि रुघाखोकीबाट छुटकारा पाउन सकिन्छ । तुलसी, अदुवा र मरिचको चिया खाँदा समेत फाइदै हुन्छ । लसुनको पोटीलाई तातो पानीमा उमालेर पिउनाले पनि तुरुन्त
फाइदा हुन्छ ।

घाँटीमा खसखस भए, नाक बन्द भए एक गिलास तातो पानीमा एक चिम्टी नुन हालेर कुल्ला (गार्गल) गर्दा पनि चाँडै आराम हुन्छ ।

लक्षण र उपचार

मौसमी रुघाखोकीमा नाकबाट पानी बग्ने, सुक्खा खोकी लाग्ने, टाउको दुख्ने, हल्का ज्वरो आउने, घाँटी खसखसाउने, हाच्छिउँ लागिरहने, खान मन नलाग्ने, थकाइ अनुभव हुने जस्ता लक्षण देखा पर्छन् ।
...
रुघाखोकी लागेका बेला शरीरको तापक्रम नियन्त्रित राख्नुपर्छ । एकदमै चिसोबाट गर्मी र गर्मीबाट एकदमै चिसो भएको वातावरणमा जानु हँँदैन । धूलोधूवाँबाट पनि जोगिनुपर्छ । सकेसम्म आराम गर्नुपर्छ ।
...
घरेलु उपचार अन्तर्गत तुलसी, बेसार, मरिच, दालचिनी, सुकेको अदुवा, असुरो (मधेसमा यसलाई बाकस भनिन्छ) को पात, गुर्जो (मधेसमा यसलाई गुडुची भनिन्छ), नुन र मधुमेह नभएकाहरूले अलिकति चिनी हालेर सबै वस्तुलाई चियाजस्तै पकाएर खाँदा सन्चो हुन्छ ।

तुलसीको पात, बेसार, दालचिनी, मरिचको काढापानी बनाएर खाने गर्दा पनि हुन्छ । अदुवाका ससाना चानाहरू तताई नुन छर्केर खाँदा वा तातो दूधमा बेसार मिलाएर खाँदा पनि फाइदा हुन्छ ।

 

प्रकाशित : मंसिर २६, २०७२ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?