२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

मानसिक स्वास्थ्यमा आत्मसम्मान

डा. अजय रिसाल

ऊ हिजो पनि आएको थियो, मेरो ‘ओपीडी’मा । एक २२ वर्षे स्नातक उत्तीर्ण होनहार युवक, दुई वर्षदेखि मसँग उपचाररत छ । ‘सिजोफ्रेनिया’ उसको रोग, हाम्रो उपचार प्रयास पनि सफलै भइरहेछ भन्नुपर्छ । एकदमै सहृदयी श्रीमती अनि बुझक्कड बाबुआमाको साथले गर्दा उसको उपचार प्रक्रिया सहज भएको छ । नियमित छ, ऊ ‘फलो–अप’मा, अनि टुटेको छैन, उसको औषधी ।

मानसिक स्वास्थ्यमा आत्मसम्मान

 

त्यसैले त एउटै औषधीले उसलाई छोटो समयमै पुरानो अवस्थामा ल्याइपुर्‍याएको छ । रोगका दुष्परिणामबाट समेत मुक्त छ ऊ, पारिवारिक दायित्व राम्ररी नै सम्हालेको छ । उसकी दुईवर्षे छोरी पूर्णरूपमा स्वस्थ छे, श्रीमती ऊसँग सन्तुष्ट छिन्, विश्वविद्यालयमा एमएको पढाइ पनि चालु छ, उसको । तर पनि ऊ खुसी छैन, जीवनको गुणात्मकताको परीक्षणमा उसलाई अझै दुर्बल नै पाउँछौं हामी ।
 
ऊसँग आधा घन्टाको कुराकानीमै खुलस्त हुन्छ, कारण । परिवारका चार सदस्य (बाबुआमा, श्रीमती र छोरी) बाहेक अरुको ऊप्रतिको दृष्टिकोण ठीक मान्दैन ऊ । उसलाई घरायसी लेनदेन, निर्णय प्रक्रियामा सहभागी गराइँदैन । उसका साथीभाइ अहिले पनि उसका कुरा, उसले राखेका तर्कहरूलाई महत्त्व दिँंदैनन्, ऊबाट सकभर परपर हुन खोज्छन् । उसका शिक्षक ऊसँग सवाल—जवाफै गर्न चाहँदैनन् ।

स्नातक उत्तीर्ण गरिसक्दा पनि ऊ अझैसम्म बेरोजगार छ, लिखित पास तर अन्तर्वार्तामा सधंै फालिने । त्यसैले सजल नेत्रमा ऊ मसँग सोध्छ, ‘के एक पटकको सिजोप्रेmनियाले मलाई जीवनभरि नै पिछा नछोड्ने नै हो ? के म इज्जतसाथ बाँच्न नपाउने ? के मेरो जीवनको कुनै मर्यादा छैन ? मनोरोगी हुनु मेरो गल्ती नै हो ? डाक्टरसाब, प्लिज मलाई सहयोग गर्नुस् ।’

म निरुत्तर हुन्छु । ऊ र ऊजस्ता मेरो सम्पर्कमा आइरहने बिरामीहरू, तिनका अभिभावकहरूको यस्ता प्रश्नको उत्तर छैन, मसँग । लाग्दैन, अरु कसैसँग पनि छ । त्यसैले नै हुनुपर्छ, मानवीय ‘मर्यादा’का यी बहुआयामिक पक्षलाई महत्त्व दिँंदै विश्व स्वास्थ्य संगठनले ‘मानसिक स्वास्थ्यमा आत्मसम्मान’ लाई यस वर्ष विश्व मानसिक स्वास्थ्य दिवसको नारा बनाएको । 

लोकलज्जा र विभेद, उपचार कार्यमा हुनेगरेका भेदभाव अनि मानवअधिकार उल्लंघन ‘मर्यादा’का तीन महत्त्वपूर्ण पक्ष हुन्, मानसिक स्वास्थ्यको दृष्टिकोणमा ।

वास्तवमा लोकलज्जाका कारण मनोबलमा आउने कमी, आत्मसम्मानमा हुने गिरावट आदिले गर्दा एक्लिएका हुन्छन्, मानसिक रोगीहरू समाज अनि परिवारबाट समेत । गत महिनाकै कुरो, झापामा मानसिक रोगी एक महिलालाई घरैमा बाँधिएर राखिएको समाचार छापिएको थियो ।

समाज त तिनलाई बहिष्कृत नै गर्न खोज्छ, ‘सन्की’, ‘पागल’, ‘बहुलाहा’ आदि उपमाद्वारा तिनलाई गलित, खण्डित अनि हतप्रभ नै बनाउँछ । औषधी खाएर साधारण अवस्थामा आइसक्दा पनि शंकालु नजरले हेर्ने, तिनका व्यक्तिगत एवं नितान्त निजी मामिलामा समेत अनावश्यक चासो लिने, तिनका अगाडि आपसमा साउती गर्ने, तिरस्कार गर्ने– यी सबका कारण मानसिक रोगी अझै निष्क्रिय बन्छन्, आफैंलाई घृणा गर्न थाल्छन्, नि:सहाय ठान्छन्, अनि हीनताग्रस्त बन्छन्, त्यसैले रोग दोहोरिरहने या उल्टिने सम्भावना रहन्छ ।

विश्वमा दीर्घ मानसिक रोगले ग्रस्त व्यक्तिमध्ये एक चौथाइभन्दा कमले मात्र रोजगारी पाउने गरेको, तीमध्ये दुई तिहाइले यस्तै विभेदकारी वातावरणका कारण आफ्नो काम छोड्नुपरेको आँकडा पाइन्छ ।
 
यस्ता विभेद व्यक्तिगत, सामाजिक, अनि आर्थिक कोणमा मात्र नभई राजनीतिक या राष्ट्रिय रूपमा समेत कायम रहेको हाम्रै देशको बजेटले समेत देखाएको छ । ‘स्वास्थ्य’का लागि छुट्याइएको न्युन बजेटको पनि नगण्य हिस्सा ‘मानसिक स्वास्थ्य’ ले पाउँछ । मानसिक स्वास्थ्य नीति अझै बन्नसकेको छैन । देशको केन्द्रीय अस्पतालमा समेत ‘मानसिक स्वास्थ्य युनिट’ अटाउँदैन । अनि त ती मानसिक रोगी निजी स्तरमा बिना पूर्वाधार हचुवा तालमा खुलेका ‘रिह्याव सेन्टर’ नधाएर के गरुन् ? तर के त्यस्ता उपचार स्थलहरूमा ती रोगीहरूले मर्यादापूर्वक रहन पाएका होलान् त ?

विकसित कहलिएका मुलुकहरूमा समेत स्रोतसाधन, उपलब्ध स्वास्थ्यकर्मीहरूको योग्यता, अनि बिरामीहरूले पाउने सुविधाको मापन गर्दा अन्य वार्डहरूको तुलनामा मानसिक रोगीहरूको वार्डमा आकाश–जमिनको फरक पाइने गरेको परिप्रेक्ष्यमा हाम्रा ‘रिह्याव’हरूको अवस्था कस्तो होला ? कल्पना गर्न गाह्रो छैन । मकहाँ आउने रोगीहरूको कथन सुन्दा आङै जिरिंग हुन्छ । न्यून खानामा बाँच्नुपर्ने, अनि बाँधिएर या थुनिएर संकुचित वासस्थान एवं भीडभाडमा बस्नुपर्ने । अनि यदाकदा भजनकीर्तन र प्रवचन श्रवण । मानसिक रोगीहरूलाई यति नै पर्याप्त होला त ?

अनुवंशीकता, रासायनिक उतार—चढाव, अनि मस्तिष्कजन्य विविध प्रभावका कारण मानसिक रोग लाग्ने गर्छ भनेर अनुसन्धानहरूबाट पुष्टि भइसक्दा पनि हामी अझै यताउति अल्मलिइरहनु समय—सापेक्षिक होला त ? अनि यस्ता व्यवहारलाई मानवअधिकारको दृष्टिमा उचित ठहर्‍याउन सकिएला त ?

वास्तवमा मानसिक रोगीहरूले पनि अन्य रोगीहरूले झैं मर्यादापूर्वक उपचार पाउनुपर्छ । ती रोगीहरूमा आशा जगाउनसके, सकारात्मक पहिचानको पुन:स्थापना भएमात्र ती आफ्नो जीवनको जिम्मेवारी आफैं बहन गर्न सक्षम हुने र वास्तविक रूपमा जीवनको अर्थबोध गर्न समर्थ बन्छन् । त्यसका लागि मानवोचित व्यवहार, सत्प्रेरणा, प्रोत्साहन, स्वतन्त्रता अनि व्यक्तिगत र पारिवारिकमात्र नभई सामुदायिक, सामाजिक र राष्ट्रिय स्तरमै सही दृष्टिकोण अत्यावश्यक हुनजान्छ ।

इज्जत, मर्यादा, सुरक्षा, वातावरणीय हेरचाह, अनि सम्मानजन्य उपचार, यी सब भएमा मात्र साँचो अर्थमा मानसिक रोगीहरूलाई आफ्नो जीवनलाई गुणात्मक बनाउने कार्यमा सरिक गराउन सकिन्छ । नत्र त माथि उल्लेख भएझैं २२ वर्षे कलकलाउँदो उमेरमै हीनताग्रन्थिले पलायनवादी सोच नपलाउला भन्न सकिन्न ।

धुलिखेल अस्पतालमा कार्यरत रिसाल मानसिक रोग विशेषज्ञ हुन् ।

प्रकाशित : मंसिर २८, २०७२ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?