२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

कामकाजी महिलालाई करिश्माको सौन्दर्य टिप्स

प्रदीप मेन्याङ्बो

धरान — सदावहार अभिनेतृ करिश्मा मानन्धर शनिबार बेलुका धरानको एक कार्यक्रम अचानक देखा परिन् । तर कुनै चलचित्र छायाङ्कनमा होइन । उनी आएकी थिइन्, धरानेहरुलाई आफूजस्तै सदाबहार बन्ने सौन्दर्य टिप्स दिन ।

कामकाजी महिलालाई करिश्माको सौन्दर्य टिप्स


 
उनी धरानमा आइतबारदेखि संचालनमा आएको ‘धरान हेल्दि होम’को ब्रान्ड एम्बासडरका रुपमा टिप्स दिँदै भनिन्, ‘मिठो लाग्ने र रुचाएको भन्दै खानेकुरा धेरै नखानुस्, दिउँसो सुप खानुस् अनि बिहान हल्का एक्सरसाइज गर्नुस् ।’

मानिसको सबैभन्दा ठूलो धन नै स्वास्थ्य भएकाले स्वास्थ्यमा ख्याल गर्न उनले आग्रह गरिन् । उनले सहरीयाहरु जथाभावि खानेकुरा खाने तर शारीरिक अभ्यास नगर्ने हुँदा मोटोपन बढिरहेकाले सचेत रहनु पर्नेमा जोड दिइन् ।  

धरानका वरिष्ठ चिकित्सक, प्रहरी अधिकृत र स्थानीय महिलाहरु माझ उनले आफू दैनिक २ घण्टा शारिरीक अभ्यास गर्ने गरेको बताउन भ्याइन् ।

आधुनिकतासँगै भित्रिएको व्यस्त दैनिकीमा सहरिया महिलालाई शरिरको बोसो पगाल्न सुझाव दिइन् । उनले भनिन्, ‘शारिरि सौन्दर्यको स्याहार गर्न सकेमात्र लामो समयसम्म कायम राख्न सकिन्छ । आफ्नै शरीरको वेवास्ता गरे सौन्दर्य विग्रन एक साता पनि लाग्दैन । र विग्रेको सौन्दर्यैलाई फर्काउन धेरै मिहिनेत गर्नु पर्छ ।’ सहरिया महिलालाई मात्र होइन प्राय सबै महिलालाई स्लिम, राम्री, स्वस्थ हुन मन लाग्छ तर सौन्दर्य प्रति सचेत नुहँदा धेरैले आफ्नो शरीरलाई मन नपराउने गरेको पनि उनले बताइन् ।

पूर्वको धरानमा पहिलो पटक धरानमा सुरु भएको विना शारिरीक परिश्रम बोसो घटाउने कोरियन प्रविधि मार्फत सौन्दर्य बढाउन सकिने उपायबारे पनि उनले भन्न भ्याइन् । सौन्दर्य र शारिरिक स्वस्थतामाथि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्राध्यापक डा. विक्रमप्रसाद श्रेष्ठले मोटोपनका कारण मानिसमा विभिन्न रोग देखा पर्ने भएकाले बेलैमा सचेत रहन सुझाव दिए ।

विपी प्रतिष्ठानकै स्त्री तथा प्रसुती विशेषज्ञ एसोसिएट प्रोफेसर डा.मोहनचन्द्र रेग्मीले सहरका महिलाहरुमा मोटोपनाले समस्या बढिरहेको र स्वास्थ्यमा गम्भीर बन्नु पर्ने अवस्था आइसकेको बताए । उनले मोटापनबाट मधुमेह, मुटु रोग, उच्च रक्तचाप, मृगौला रोग जस्ता समस्या निम्तिने भएकाले सचेत रहन सबैमा आग्रह गरे ।

धरान हेल्दि होमकि निर्देशक सुप्रिया माझी बनेपालीले दिनभर व्यस्त रहने कामकाजी महिलाहरुको स्वास्थ्य र सौन्दर्यलाई लक्षित गरेर धरान हेल्दि होम सञ्चालनमा ल्याएको बताइन् । उनले भनिन्, ‘कतिपय कामकाजी सहरी महिलाहरु आफ्नो व्यस्त दैनिकीले गर्दा शरीरको सौन्दर्यप्रति ध्यान नदिँदा मोटोपनको सिकार भएका छन् । त्यसलाई कम गर्न कोरियन प्रविधिबाट शरीरको बोसो पगाल्न सकिन्छ ।’ उनले निकट भविष्यमै पूर्वका इटहरी, विराटनगर र विर्तामोडमा पनि हेल्दि होम सञ्चालन गर्ने जानकारी गराइन् ।

प्रकाशित : मंसिर २७, २०७२ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?