कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

जाडोमा छाला सुक्खा

अतुल मिश्र

काठमाडौं — जाडो सुरु हुनासाथ निस्ताको तनाव बढेको छ । चिसो वृद्घि क्रमसँगै उनको छालाको रुखोपन समेत बढ्दै गएको छ ।

जाडोमा छाला सुक्खा

वर्षेनी यही मौसममा आधुनिक चिकित्सा प्रक्रिया अनुसारको मोइस्चराइजर लगायतका उपचार प्रक्रियाले निस्तालाई तत्काल राहत दिए पनि उनले भोग्दै आएको समस्या भने समाप्त भएको छैन । उनीजस्तै यो मौसममा छालाको रुखोपन बढ्ने समस्या भएकाहरूको संख्या कम छैन ।

‘जाडोमा उनलाई रुखोपनको भएजस्तै धेरैलाई यो समस्या बढै गएर जीउ चिलाउने, घाउ हुने, डाबर निस्किने लगायत समस्याले समेत सताउँछ,’ केन्द्रीय आयुर्वेद अस्पताल, नरदेवीका निर्देशक डा. रामदेव यादव भन्छन्, ‘हाम्रो उपचार प्रक्रिया अनुसार पित्तलाई सन्तुलनमा ल्याएर यो समस्याको समाधान हुन्छ ।’

आधुनिक चिकित्सा पद्घतिको उपचार प्रक्रिया अनुसार दिइने मोइस्चराइजर लगायतका अन्य प्रक्रियाले तत्कालको लागि राहत दिए पनि यो समस्यालाई जरोदेखि निर्मुल नगर्ने उल्लेख गर्दै डा. यादव भन्छन्, ‘हामी आयुर्वेदको प्रक्रिया अन्तर्गत उपचार गर्दा यो समस्यालाई सधैंको लागि निर्मुल गर्ने प्रयास गर्छौं ।’

भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको वर्षौंदेखिको घाँटीको खसखस, खोकी अत्याधुनिक चिकित्सा पद्घतिबाट निको नभएपछि केही दिनको आयुर्वेदिक उपचार प्रक्रियाबाट निको भएको दृष्टान्त दिँदै आयुर्वेद विभागका पूर्व महानिर्देशक डा. रामनारायण साह भन्छन्, ‘हरेक उपचार पद्घतिको एउटा लिमिटेसन छ, यसलाई मान्नुपर्छ र रोग विशेषको लागि जुन पद्घति बढी फाइदाकारी छ, त्यसको माध्यमले निदान गर्नुपर्छ ।’

आयुर्वेद अनुसार वात, पित्त, कफ दोषमध्ये पित्त बढा छाला सुक्खा हुने समस्या हुन्छ । यो समस्या पित्तको प्रकोप भएर यसले रगत समेत लाई दूषित गरी छाला सम्बन्धी समस्या उत्पन्न गरेर हुने हो ।

सुक्खा हटाउने उपाय
छाला सुक्खा हुने समस्या भएकाहरूले तीन बिर्को महामञ्जिष्ठारिष्टमा तीन बिर्को पानीमा हालेर बिहान बेलुका गरी दुई सातासम्म सेवन गर्दा छालाको रुखोपनको समस्यामा प्रभावकारी हुने डा. रामदेव बताउँछन् ।

यस्तै, निम क्याप्सुललाई दुई गोली बिहान र दुई गोली बेलुका गरी दुई सातासम्म सेवन गर्नु समेत उपयोगी हुन्छ ।

यदि छाला रुखो भएसँगै चिलाउँछ, राताराता डाबर पनि निस्किएको छ भने एउटा खास पाउडर बनाएर उपयोग गर्नु फाइदाजनक हुन्छ ।

डा. रामदेवका अनुसार, यस अन्तर्गत बंगभष्म २५० मिलिग्राम, आरोग्य वर्धिनि २५० मिलिग्राम, गिलोय सत्व ५०० मिलिग्राम र निम्वादी चूर्ण ३ ग्रामलाई राम्ररी मिसाएर एउटा बट्टामा राखेर यसलाई मनतातो पानीसँग एक चम्चा बिहान एक चम्चा बेलुका खानुअघि सेवन गर्नुपर्छ ।

जीउ चिलाउने, खस्त्रो वा घाउ भएको ठाउँमा लगाउन आयुर्वेदमा विशेष प्रकारको तेल पनि उपयोग गरिन्छ । डा. रामदेवको अनुसार निम, बेसार, चन्दन, दारु हरिद्रा लगायतका घटक भएको ‘तुवरक तेल’ छाला चिलाएको ठाउँमा लगाउनुपर्छ ।

सुक्खा छालाको समस्या धेरै बढी छ भने प्रभावित व्यक्तिलाई पञ्चकर्म चिकित्सा अन्तर्गतको विरेचन कर्म गरिने समेत डा. रामदेव बताउँछन् ।

विरेचनमा बिरामीलाई तीनदेखि पाँच दिनसम्म औषधियुक्त घ्यू सेवन गराइन्छ । यसपछि पुन: तीनदेखि पाँच दिनसम्म महानारायण तेलद्वारा मालिस र सेकाइ गरिन्छ ।

यसपछि विरेचनयुक्त औषधि खुवाएर विरेचन गराउने काम हुन्छ । यसले शरीरको विषाक्तता दोषमुक्त हुन्छ ।

‘यो प्रक्रियाले शरीरको विषाक्तता पेटभित्र जम्मा हुन्छ र विरेचन कर्म गर्दा मलको माध्यमले बाहिर निस्किन्छ,’ डा. रामदेव भन्छन्, ‘यो शरीर शोधन प्रक्रिया हो । यसबाट छाला सुक्खा हुने समस्या हुँदैन ।’

जस्तो भोजन त्यस्तो मन हुन्छ भन्छ आयुर्वेद । यसैले यो उपचार प्रक्रियामा खानपान, जीवनशैलीलाई महत्त्व दिइन्छ । छाला रुखो हुने समस्या भएकाहरूले पथ–परहेज गर्नुपर्छ । यस्तो बेला माछा, भान्टा, दही, अमिलो आदि सेवन गर्नु हुँदैन ।

जाडोमा सरसफाइको अभावका कारण छाला रुखो हुने, चिलाउने आदि समस्या देखिने गर्छ ।
यसैले व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्छ । मन तातो पानीले नुहाउनुपर्छ ।

तेल मालिस लाभदायक
जाडो याममा शरीरमा तेल मालिस गर्दा छाला रुखो हुन पाउँदैन । थकाइ हट्नुका साथै रक्त सञ्चारसमेत बढ्छ । मालिस शरीरको माथिदेखि तलसम्म एकोहोरो रूपमा हल्का तवरले गर्नुपर्छ ।

केन्द्रीय आयुर्वेद अस्पताल, नरदेवीका डा. शोभाराम सुवेदीका अनुसार, जाडोमा दिनहुँ तेल मालिस गर्नाले बुढ्यौलीको लक्षणसँगै थकाइसमेत हट्छ, आयु बढ्छ । यसले हाम्रो छाला चाउरिन नपाई कोमल र चम्किलो बन्छ ।  

तेल मालिस गर्न तिल, नरिवल, जैतुन, बदाम, सस्र्युं आदि प्रयोग गर्न सकिन्छ । आयुर्वेद अनुसार, तिलको तेल धेरै फाइदाकारी हो । नुहाउनुअगावै सम्पूर्ण शरीरमा तेल लगाउँदा राम्रो हुन्छ ।

प्रकाशित : पुस ४, २०७२ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?