२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

पूर्वजन्मका नेपाली !

डा. आर्ने ड्रिउजले गोरखाको आँपपीपलमा सन् २०१२ मा अस्पताल भवन र २०१६ मा नर्सिङ भवन बनाइदिए । सदरमुकाम गोरखा बजारदेखि ४५ किलोमिटर परको अस्पतालसम्म पुग्न आँपपीपल भन्ज्याङदेखि १६ सय मिटर बाटो पनि खनाइदिए, बाटो पुगेपछि अस्पताललाई दुई जिप र एक एम्बुलेन्स किनिदिए, बस किन्न नपुग रकम पनि हालिदिए ।
घनश्याम खड्का

काठमाडौँ — जर्मनीका प्रसिद्ध पल्मोनोलोजिस्ट (श्वासप्रश्वास रोग विशेषज्ञ) डा. आर्ने ड्रिउज कतिपटक नेपाल आए ? उनैलाई हेक्का छैन । सन् १९९२ सेप्टेम्बर ७ मा नेपालमा पहिलो पटक पाइला टेकेपछि हरेक वर्षजस्तो उनी सहयोगका हात फैलाउँदै त्रिभुवन विमानस्थल ओर्लन्छन्, हुर्रिंदै गोरखाको आँपपीपल पुग्छन्, छेउछाउका गाउँघर घुम्छन् ।

पूर्वजन्मका नेपाली !

यो नित्यचर्या महामारीका बेला भने खलल पर्‍यो । किनभने, त्यसबेला उनी जर्मनी छाडेर आउन सक्ने अवस्थै भएन । तर, हरदिन नेपालकै लागि सहयोग जुटाउन जर्मनीका अनेकन साना–ठूला सहर पुगी नै रहे । ‘के चाहिन्छ भन्नुस् है,’ महामारीका बेला आउन नपाए पनि उनी फोनमै नेपालका चिकित्सक साथी र चिनारुलाई सोधिरहन्थे, ‘हामी छौं है यहाँ ।’

जनस्वास्थ्य सरोकार ट्रस्टकी मानव संसाधन प्रमुख युमा प्रधान आपत्मा ड्रिउजको त्यो सहयोग सधैं स्मरण गरिरहन्छिन् । ‘महामारीमा हामीलाई अस्पताल चलाउन आर्थिक सहयोग चाहिएको थियो, अक्सिजन प्लान्टको झनै जरुरत थियो,’ उनले भनिन्, ‘यही आवश्यकताबारे ड्रिउजलाई भनेँ, तत्कालै उहाँले मोडल अस्पतालमा अक्सिजन प्लान्ट राख्न सघाउनुभयो, अरू पनि सहयोग छ उहाँको ।’

लाखौं पर्यटक नेपाल आउँछन् घुम्न । अधिकांश तिनको उद्देश्य हुन्छ– हिमाल आसपास गई प्रकृतिको आनन्दमा हराउने । ड्रिउज पनि सुरुमा यही उद्देश्यले नेपाल आए, २२ वर्षको छँदा । उनका चिकित्सक पिता एकाहार्डको दराजमा एक पुस्तक थियो ‘सेभेन इयर्स इन तिब्बत’, जसको गातामा पहेंलो टोपी र लामो तुरही बोकेका भिक्षुको लस्कर थियो र पृष्ठभूमिमा उतुङ्ग हिमालका दृश्यहरू । त्यो देखेपछि चिकित्साशास्त्र पढिरहेका आर्नेलाई सगरमाथाको देश घुम्न मन भएछ । तिनताक पूर्वजर्मनीलाई पश्चिमी जर्मनीसँग अलग्याउने बर्लिनको पर्खाल भर्खरै भत्किएको थियो । र, टुक्रिएका दुई देश फेरि एक भएका थिए । पर्खाल भत्किएपछि पूर्वी जर्मनीका मानिस संसार घुम्न स्वतन्त्र थिए र हूलका हूल घरबाट निस्किन थालेका थिए । यही मेसोमा ड्रिउज पनि निस्किए । बेलायत र अमेरिका पुगेपछि सोझै नेपाल आए, हिमाल हेर्ने चाहनामा ।

‘काठमाडौं आएपछि मलाई हिमाल त होइन, यहाँको अनौठो संसारले तान्यो,’ तीन दशकअघिको स्मृति उद्यानमा फुलेका सम्झनाका फूललाई ड्रिउजले मुसारे, ‘संसारबाट अलगथलग, नेपाल एक अलग्गै संसारजस्तो लाग्यो, यहाँको दैनिक जीवन दुष्कर थियो र पनि मानिसहरू मस्त फक्रेको फूलजस्तै हँसिला देखिन्थे ।’

चिकित्साशास्त्रका विद्यार्थी भएको नाताले ड्रिउज स्वभावैले यहाँको स्वास्थ्य अवस्थाबारे जान्न उत्सुक थिए । भर्खरै खुलेको नेपाल मोडल अस्पतालमा पुगे, जहाँको सुविधा र गुणस्तर जर्मनीको तुलनामा कता हो कता टिठलाग्दो थियो ।

राजधानीकै अस्पताल यस्तो छ भने गाउँको अवस्था कस्तो होला ? यो प्रश्नले उनलाई चेपाङ बस्तीहरूमा पुर्‍यायो । त्यहाँको अस्तव्यस्तता देखेपछि मनैभरि वेदना बोकेर ड्रिउज जर्मनी फर्के । ‘उहाँ आफैं विद्यार्थी हुनुहुन्थ्यो तर पनि सकेको सहयोग गर्न थाल्नुभयो,’ युमा भन्छिन्, ‘पछि श्वासप्रश्वाससम्बन्धी रोगको विशेषज्ञ भएर काम गर्न थालेपछि सहयोगको दायरा र मात्रा दुवै बढाउनुभयो ।’

हरेक वर्ष नेपाल आउने र यहाँका अस्पताल तथा स्वास्थ्य चौकीहरूमा केही सहयोग गर्ने क्रम अलिक वर्ष चलेपछि सन् २००० को अगस्टमा ड्रिउजले एक परोपकारी संस्था खोले, नेपाल–मेड । नेपालमा धूवाँ र धूलोले फोक्सोका बिमारी बढेको देखेपछि ड्रिउजले त्यसविरुद्ध लड्न यहाँका चिकित्सकलाई तालिम दिए, अस्पताललाई उपकरण प्रदान गरे, गाउँघरमा हजारौं सुधारिएका चुल्हो बाँडे र विदेशबाट विशेषज्ञ झिकाएर उपचारमा उत्प्रेरित गरे । यही उपक्रममा सन् २००३ को बर्खायाममा गोरखाको आँपपीपल अस्पताल पुगे । ‘साउनको कुनै दिन हुँदो हो, झमझम पानी परिरहेको थियो,’ आँपपीपल अस्पतालका तत्कालीन प्रशासकीय अधिकृत बाबुराम गिरी भन्छन्, ‘उहाँ घण्टौंको पैदल यात्रा गर्दै प्लास्टिक ओढेर अस्पताल आइपुग्नुभयो ।’

सन् १९५६ तिर अमेरिकी मिसनले खोलेको आँपपीपल अस्पताललाई पछि उनीहरूले नै सहयोग बन्द गरिदिएपछि यो जरा जीर्ण भएको थियो । दुर्गम भेगमा अति जरुरी अस्पतालको यो हाल देखेपछि ड्रिउजले मन फुकाएरै सहयोग गरे । अस्पतालमा एक्सरेदेखि अल्ट्रासाउन्डसम्मका उपकरण, शय्यादेखि मेच टेबलसम्मका फर्निचर र सोलारदेखि सरसफाइसम्मको व्यवस्था गरिदिए । ‘अस्पतालमा हामी लुगा धुन दाउरा बालेर तातो पानी उमाल्थ्यौं,’ गिरी भन्छन्, ‘उहाँले त्यसलाई रोक्न सुरुमा ग्यासको व्यवस्था गरिदिनुभयो र पछि ठूलो वासिङ मेसिन नै किनिदिनु भयो ।’

हुँदाहुँदा उनले आँपपीपलमा सन् २०१२ मा अस्पताल भवन र २०१६ मा नर्सिङ भवन पनि बनाइदिए । अस्पतालका बिरामी र चिकित्सकलाई तातो पानीले नुहाउन पुग्ने गरी सोलार सिस्टम जडान गरिदिए । गोरखा सदरमुकामदेखि ४५ किलोमिटर परको अस्पतालसम्म पुग्न आँपपीपल भन्ज्याङदेखि १६ सय मिटर बाटो पनि खनाइदिए । बाटो पुगेपछि अस्पताललाई दुई जिप र एक एम्बुलेन्स किनिदिए, बस किन्न नपुग रकम पनि हालिदिए । दुर्गममा काम गर्न उत्प्रेरणा मिलोस् भनेर स्टाफ नर्सका लागि अवकाशपछि पाउने कल्याणकारी कोषको स्थापना पनि गरिदिए ।

‘आर्ने ड्रिउजले आँपपीपल अस्पताललाई मात्रै करोडौंको सहयोग गर्नुभएको छ, जसको गुन तिरेर तिर्न सकिन्न र बयान गरेर गर्न सकिन्न,’ गिरी भन्छन्, ‘तर, त्योभन्दा पनि ठूलो, उहाँले नेपालको समग्र स्वास्थ्य प्रणालीलाई सुधार्न निभाएको भूमिका महत्त्वपूर्ण छ ।’

बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला उनी आँपपीपल अस्पतालको अवलोकन भ्रमणमा गएका थिए । त्यहाँ जडित सोलार बिजुलीको कारण चाहिएजति तातोपानी आउँथ्यो र संक्रमण नहोस् भनेर बिरामीको शल्यक्रिया गर्नुअघि मज्जाले नुहाएर सफा पारीवरी अपरेसन कक्षमा लैजाने चलन त्यहाँ चलेको थियो । ‘त्यतिबेला बाबुरामले अरू सरकारी अस्पतालमा पनि आफूले यस्तै सुविधा होस् भनेर पहल गरिरहेको छु भन्दै अस्पतालको तारिफ गर्नुभएको थियो,’ गिरी भन्छन्, ‘हालै प्रधानमन्त्री पुष्पकमल दाहालले पनि अस्पतालको उच्च सुविधा र सेवाको प्रशंसा गर्दै ५० शय्यामा स्तरोन्नति गर्ने अनुमति दिनुभएको छ, यो सही मूल्यांकन हो आर्नेको कामको ।’

आँपपीपलका अतिरिक्त आर्नेले अछामको बयलपाटा अस्पताल, काठमाडौं मोडल अस्पताल र कीर्तिपुर अस्पतालमा पनि भौतिक पूर्वाधार विकासमा उत्तिकै सहयोग गरेका छन् । त्यस्तै, सोलुखुम्बुको सोलु दूधकुण्ड– २ मा दन्त चिकित्सक र एक स्वास्थ्यकर्मीसहित ‘गाउँघर क्लिनिक’ चलाएका छन् । यो स्थानीयका लागि सरकारले जिल्ला अस्पताल फाप्लुमा चलाएको अस्पतालले दिने सेवाभन्दा नजिक र भरपर्दो भएकामा डा. आर्नेप्रति कृतज्ञ छन् वडाध्यक्ष नवाङ शेर्पा । आर्नेले यस्तै एउटा आधुनिक स्वास्थ्य चौकी ओखलढुंगामा पनि बनाएका छन् ।

यसरी, हरेक वर्ष सहयोगका अनेकन योजना लिएर नेपाल आउने काम छँदै छ, यहाँ केही भयो कि आकस्मिक मद्दतका लागि जर्मनीमै हुँदा पनि उत्तिकै सक्रिय हुन्छन् उनी । महाभूकम्प– २०७२ को खबर सुन्नेबित्तिकै ड्रिउजले युमालाई फोन गरे र नेपालमा केकस्तो क्षति भयो भनी सोधे । अस्पतालको अवस्थाबारे जानकारी लिए । ‘हामी भर्खरै बनाएको कीर्तिपुर अस्पताल सञ्चालन गर्न उपकरणहरूको अभावमा थियौं, उहाँले हामीलाई तत्काल अल्ट्रासाउन्ड र इन्डोस्कोपी गर्ने मेसिनहरू जर्मनीबाटै किनिदिनुभयो,’ युमा सुनाउँछिन्, ‘लगत्तै २ करोड पर्ने सिटी स्क्यान मेसिन किनिदिनुभयो, नेपालको स्वास्थ्य सेवाबारे उहाँको खटाइ अहोरात्रको छ, जसको जति प्रशंसा गरे पनि कम हुन्छ ।’

आँपपीपल आउँदाजाँदा आर्ने पदयात्रा पनि गर्छन् । त्यस पदमार्गको नाम उनले गोर्खा हेरिटेज पदमार्ग राखेका छन् । आँपपीपलबाट तीन दिन लाग्ने यो पदमार्गमा सुरुको दिन थार्लाङ, त्यसपछि छाप्राक र तेस्रो दिनको हिँडाइमा गोर्खा बजार पुगिन्छ ।

पछिल्लो पटक आर्ने गत जनवरीमा नेपाल आएका थिए । उनीसँगै ५ बेलायती र १२ जर्मन चिकित्सक/विद्यार्थी पनि नेपाल आएका थिए । उनीहरूले आँपपीपल अस्पतालदेखि गोर्खा बजारसम्म तीन दिनको पदयात्रा गरे । बाटामा पहाडको टाकुराबाट हिमाल देखिने ठाउँमा टेन्ट गाडेर बस्दाको अनुभव सबका लागि रमाइलो रह्यो । गोर्खा बजार आइपुगेपछि उनीहरू पोखरा गए र दुई दिन त्यहाँको सौन्दर्यमा रमाए ।

बौद्धमा स्तूपा सामुदायिक अस्पताल बन्दै छ । यसपटक त्यहाँका लागि पनि सहयोग जुटाउँदै छन् आर्ने । ‘नेपाल मेडले फर्निचर र नयाँ भवनका लागि प्रायोजन गर्दै छ,’ उनले भने, ‘यो हाम्रो पछिल्लो र थप एक नयाँ साझेदारी हो ।’

नारायणगोपालको गीत ‘एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा...’ ले भनेजस्तै ट्राभल एजेन्सी सञ्चालक केपी मास्केलाई लाग्छ, आर्ने एउटैको मायाले धेरै नेपालीको जीवनमा फरक पारेको छ । ‘हामी नेपालीले गर्न नसकेको माया उनले नेपाललाई गरिरहेका छन्,’ आर्नेको आवतजावतलाई दशकौंदेखि व्यवस्थापन गर्दै आएका उनी भन्छन्, ‘चाह्यो भने एउटै मान्छेले पनि कति फरक पार्न सक्दो रहेछ !’

तीर्थाटन गरेझैं हरेक वर्ष परिवारजन र साथीभाइका साथ नेपाल आउँछन् आर्ने । कोभिडको कहर हट्नेबित्तिकै सन् २०२२ मा जर्मनीबाट उडे र नेपाल उत्रिए । उनलाई लाग्छ, प्रत्येक पटक आउँदा नेपालमा केही न केही विकास भइराखेको छ । घरहरू, पुलहरू, अस्पतालहरूको गुणस्तर, सबैमा सुधार आइरहेको उनका अध्ययनशील आँखाले देखेका छन् । ‘अहिले त धेरै अस्पताल र स्वास्थ्यचौकी गाउँहरूमा पनि छन्,’ आर्ने भन्छन्, ‘यस्तो पहिला कहाँ थियो र ?’

उनी आएको सन् १९९० को दशकमा नेपाल शान्त थियो र सहरको हावापानी सफा । ठमेलबाट भक्तपुरसम्म उनी साइकलमा आउजाउ गर्थे, रिङरोड वरपर हरिया खेतका फाँट थिए, वाग्मती सफा बग्थ्यो । प्रत्येक वर्ष अलिअलि गर्दै आर्नेका आँखामा यी सब ओझेल पर्दै गयो । अब उनी काठमाडौंको घना बस्तीमाझ हरिया फाँट देख्ने आशा गर्दैनन् । न चर्को प्रदूषण, भीडभाड र गाडीको अस्तव्यस्त कुदाइले निसास्सिने अवस्थाको सडक पार गर्दै ठमेलबाट साइकलमा भक्तपुर जाने कल्पना नै गर्न सक्छन् ।

उनलाई लाग्छ, विकासको सुरुवातमा यस्तो अस्तव्यस्त दृश्यको सामना गर्नु अनिवार्य नियतिजस्तै हो तेस्रो विश्वको । ‘यस्तो हुन्छ र यो स्वाभाविक हो,’ आर्ने आश्वस्त पार्न खोज्ने गरी बोल्छन्, ‘तर, अलिक व्यवस्थित तरिकाले पनि गर्न सकिन्थ्यो यही काम, त्यो बेग्लै कुरा हो ।’ उनलाई लाग्छ, नेपालीहरू साह्रै हँसिला र मिजासिला छन् र यो हँसिलोपन पहिलेजस्तो थियो, अहिले पनि उस्तै छ ।

‘नेपाली जत्तिको सहयोगी र मिलनसार मानिस संसारमा विरलै होलान्,’ गएको जनवरीको अन्त्यतिर जर्मनी फर्किनु एक दिनअघि ठमेलको एक होटलको बगैँचालाई घेर्न आइपुगेको गोधूली साँझ र फूलहरूको झाङमा बलेको बत्तीको मधुरो प्रकाशले उद्दिप्त आर्नेका आँखा चम्किए, ‘युरोप र अमेरिकामा मानिसहरू सुविधापूर्ण जीवन बाँचिरहेका छन् तर नेपालीजति खुसी र मिजासिलाचाहिँ छैनन्, जबकि यहाँ असुविधा बढी छ, अचम्म होइन त यो ?’

मरिजाने एक बारको जुनीमा यस्तै गरी मुस्कुराउनु पो पर्छ त भन्ने आर्नेलाई लाग्छ । त्यसैले उनी काँडाबीच पनि फुल्ने गुलाबजस्तो नेपाली हृदयको हँसिलोपन र अतिथिप्रतिको सहृदयी भावको ठूलो प्रशंसक हुन् ।

नेपालभन्दा जर्मनीको समय पौने पाँच घण्टा ढिलो छ । त्यसैले, यहाँ दिनको काम सुरु हुँदा जर्मनीमा उनी निन्द्राबाट ब्युँझेका मात्र हुन्छन् । यहाँ उनले चलाएको संस्था नेपाल मेडका कर्मचारी छन्, सहयोग साझेदार गरेका अस्पतालका व्यवस्थापक छन् र युमा, नावाङ, बाबुरामजस्ता थुप्रै प्रशंसक मित्र पनि छन् । उनीहरूबाट ह्वाट्स एपमा दिनहुँ आर्नेलाई म्यासेज गइरहन्छ । ‘निद्रा खुल्नेबित्तिकै म ह्वाट्सएप चेक गर्छु र पाएका म्यासेजको प्रत्युत्तर फिराउँछु,’ आर्ने भन्छन्, ‘यो दैनिकी चल्न थालेको वर्षौं भइसक्यो मेरो जीवनमा ।’

जर्मनीमा सामाजिक कामका लागि पैसा संकलन गर्ने चलन नागरिक जीवनको एक पाटोजस्तै छ । कम्पनीहरूको कुनै समारोह, कुनै संगठनको स्थापना दिवस वा क्रिसमस र नयाँ वर्षको समयमा सामाजिक कामका लागि दान दिने चलन त्यहाँ धेरै पहिलेदेखिको हो । यी सब मौकामा आर्ने नेपाल मेडका लागि सहयोग जुटाउन अनेकन प्रस्ताव लिएर जर्मनीका कुनाकुनामा पुगिरहेका हुन्छन् ।

उनको यो खटन देखेर सबैले सोध्छन्, किन यति धेरै माया हो आखिर नेपालको ? यसको स्पष्ट जवाफ आर्ने आफैंसँग पनि छैन । ‘सायद म पूर्वजन्ममा नेपाली थिएँ,’ करुणाले टल्किएका उनका आँखा यसोभन्दा किञ्चित फराकिला हुन्छन्, ‘अरू त के होला र कारण ?’ यो सुन्दा ‘होला पनि, जन्म–मृत्युको रहस्य कसलाई थाहा छ र ?’ भनेजसरी उनको परिवारजन र साथीभाइहरू प्रतिक्रियामा कुम र आँखीभौं खुम्च्याएर एक मृदु हाँसो प्रकट गर्छन्, जुन देख्दा उनलाई निकै रमाइलो लाग्छ ।

नेपालको स्वास्थ्य प्रणालीलाई सघाउन उनले स्थापना गरेको नेपाल मेडको जर्मन शाखामा ७ सय सदस्य छन् भने बेलायत शाखामा १ हजार रहेका छन् । उनकी पत्नी सिल्का लेखापाल छन् । हिसाबकिताब राख्ने आफ्नो ज्ञान र सीपलाई उनले पूर्ण रूपमा नेपाल मेडकै काममा लगाएकी छन् । उनका तीन सन्तान म्याट, लेनी र गेटा पनि आमाबाबुझैं नेपाल भनेपछि हुरुक्क हुन्छन् र बेलाबेला पदयात्राका लागि यहाँ आइरहन्छन् ।

नेपालको स्वास्थ्य सेवाको उन्नयनमा आर्नेले गरेका यी सबै काम त छँदै छन्, यसभन्दा आश्चर्य पार्ने अर्को पाटो छ– उनको उपन्यासकार जीवन । उनका आठ उपन्यास प्रकाशित छन् । यी सबै उपन्यास नेपालबारे लेखिएका छन् । नेपालमा हुने अपराधका घटना उनी पत्रिकामा पढ्छन् । अनि अचम्म लागेका विषय छान्छन् । र, त्यसमाथि पुस्तक प्रकाशन गरेर जर्मनीभर बेचेको पैसाले नेपालका अस्पतालमा उपकरण र भवन बनाउन खर्च गर्छन् ।

यार्चागुम्बा टिप्न जाँदा गोरखाका मानिस मनाङमा मारिएको खबर पढेपछि उनले त्यसबारे लेखेको उपन्यास थियो– हिमालय गोल्ड । काभ्रे होक्सेमा पूरै गाउँका मानिसले गरिबीका कारण मिर्गौला बेचेको खबर पढेपछि उनी स्तब्ध भए । र, त्यस अपराधबारे लेखे– मनसुन । त्यस्तै, नेपालका मूर्तिहरू युरोप र अमेरिकातिर तस्करी भइरहेको व्यापक समाचार पढेपछि त्यसबारे पनि उनले कलम चलाए र लेखे– डिमन ।

जर्मन भाषामा लेखिएका यी तीन उपन्यासलाई सन् २०१७ मा उनले एकैपल्ट प्रकाशित गरे । सुरुमा जर्मन र पछि अंग्रेजी अनि नेपालीमा (बज्र बुक्सको सहयोगमा) पनि प्रकाशित ‘हिमाली सुन’, ‘मनसुन’ र ‘डिमन’ लाई उनको देशमा धेरैले पढे र मन पनि पराए । यो उत्साहले सन् २०१८ मा उनले चौथो उपन्यास निकाले– नेट वर्क । योचाहिँ रेडपान्डाको चोरी सिकारीबारे छ । अर्को वर्ष नेपालमा हुने नक्कली लागूऔषधको कारोबार र युवाहरूमा व्यापक मात्रामा भइरहेको त्यसको दुर्व्यसनीबारे उनको उपन्यास ‘ग्रिड’ प्रकाशित भयो । पछिल्ला दुई पुस्तक अंग्रेजीमा पनि प्रकाशित छन् ।

उनले बयलपाटा अस्पताल बनाउँदाको अनुभव समेटेर लेखेको पुस्तक ‘ब्रस्टेन्डु’ (श्वास फेर्ने भूमि), सन् २०२० मा चिनियाँ नागरिकले नेपालको एटीएममा गरेको चोरीबारे अर्को उपन्यास ‘गोल्डेन स्टार’ र सिनामंगलको मातृका आँखा अस्पतालमा भएको बम विस्फोटबारे लेखेको आठौं उपन्यास ‘अग उम अग’ (आँखाको बदला आँखा) प्रकाशित छन् । ‘यिनीहरूचाहिँ जर्मनी भाषामा मात्रै छन्,’ आर्ने भन्छन्, ‘अब छिट्टै नै अंग्रेजी र नेपालीमा पनि आउँदै छन् ।’ हाल उनी नवौं उपन्यास लेखनमा लागेका छन् । योचाहिँ नेपाली परिवारमा हुने अंशसम्बन्धी झगडा र त्यसले निम्त्याएको अपराधबारे केन्द्रित छ ।

सिरियल क्राइम थ्रिलरजस्तो उनका सबै उपन्यासमा केही मुख्य पात्र हुन्छन्– इन्सपेक्टर सञ्जित, असई सुन्तली खत्री, हवल्दार भैरव र सुपरिटेन्डेन्ट पेम्बा शेर्पा, सञ्जीवको एक पत्रकार साथी र रेस्टुरेन्ट सञ्चालक । जर्मनीमा दिनभरि फोक्सोका बिरामी जाँचेर र नेपाल मेडका लागि राखिएका गतिविधि हेरेर उब्रेको समयमा आर्ने नेपाली पात्र, घटना र परिवेशलाई उपन्यासमा उधिन्न सञ्जित, सुन्तली, भैरव र पेम्बालाई कल्पनामा भेट्छन् र तिनले बनाएको संसार कागजमा उतार्छन् । अनि त्यो प्रकाशित गरी बेचेको पैसा बोकेर नेपाल आउँछन् र सघाउँछन् ।

यहाँ तन्नेरी कतिखेर देश छाडौं भनेर युरोप, अमेरिकाको सपना मनभरि खेलाइरहेका बेला जर्मनीदेखि यो हिमाली भूमिलाई मन, वचन र कर्मले अगाध प्रेम गर्ने आर्नेको लगाव र हुटहुटी देखेपछि ‘पूर्वजन्ममा म नेपाली पो थिएँ कि’ भन्ने उनको शंका सही हो जस्तो लाग्छ । अनि, उनलाई प्रेमले अँगालेर भन्न मन लाग्छ, ‘पूर्वजुनीमा मात्रै किन प्रिय डाक्टर, तिमी यही जुनीमा पनि नेपाली नै हौ, नेपालीभन्दा पनि बढी नेपाली छौँ ।’

प्रकाशित : चैत्र ९, २०८० ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?