हिम्मतिला हिक्मत

वैशाख ८, २०८०

ज्योति कटुवाल

सुर्खेत — दैलेखको चामुण्डाबिन्द्रासैनी–४ जम्भुकाधमा जन्मिएका २९ वर्षीय हिक्मत बादीले मासिक एक लाख रुपैयाँ भाडा तिरेर वीरेन्द्रनगर–१० शान्तिटोलमा २ वटा होस्टल सञ्चालनमा ल्याएका छन् । जहाँ १ सय १० जना बादी बालबालिका बस्छन् ।

उनीहरूलाई निःशुल्क होस्टेलमा राखेर झन्डै ४ वर्षदेखि हिक्मतले नै निजी विद्यालयमा पढाइरहेका छन् । कतिपय निजी विद्यालयले पनि उनको अभियानमा साथ दिएका छन् । 

भरपर्दो स्रोत नभएपछि विभिन्न दातासँग सहयोग मागेर उनले होस्टेल सञ्चालन गरिरहेका हुन् । सात दिदी र ४ दाजुभाइमा उच्च शिक्षा गरेका हिक्मत एक्ला हुन् । उनले नेपाली विषयमा स्नातक गरेका छन् । सुरुदेखि नै उनका बुवाआमाको सपना थियो, ‘छोराले सरकारी जागिर खाओस्’ भन्ने । तर उनी कर्णालीका विभिन्न जिल्लाका बादी बालबालिकालाई बटुलेर उनीहरूलाई शिक्षादीक्षा दिन तल्लीन छन् । बादी बालबालिकालाई पढाउन बादी सरोकार मञ्च खोलेर समाजसेवामा लागेका उनले आश्रय दिएका ५५ केटा र ५५ केटी नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन गरिरहेका छन् । ‘म पनि निकै आर्थिक अवस्था कमजोर भएको परिवारको मान्छे हुँ, जागिर गरेर घरपरिवारलाई सुखमा राख्ने मेरो चाहना भने अपूरै छ,’ उनले भने, ‘मागेर दैनिकी गुजार्ने समुदायबाट स्नातक गरेको मान्छे जस्तो पनि जागिर खान सक्छु तर मेरा समुदायका सयौं बालबालिका सडकमा माग्ने बेचबिखनको सिकार र बालश्रम गर्ने भएकाले मैले मेरो इच्छा त्यागेर उनीहरूको भविष्यका बारेमा सोचेर यो अभियानमा लागे ।’ 

हिक्मतले यसअघि ज्योतिको घर नेपाल, लभ एन्ड होप नेपाललगायत विभिन्न संघसंस्थामा काम गरिसकेका छन् । उनले आफूले होटलमा भाडा माझेर, दाउरा बेचेर र मालवाहक गाडीको सामान झारेर पढेको बताए । दैलेखबाट केही वर्षअघि पढाइदिने बहानामा ३८ जना बालबालिकालाई विभिन्न संघसंस्थाले काठमाडौं लगेका थिए । शारीरिक शोषणमा परेको गुनासो बालबालिकाबाट आएपछि सबैलाई दैलेख लगिएको थियो । ‘पढाउने नाममा बालबालिका विभिन्न शोषणमा परेपछि यो अभियान थालेको हुँ,’ उनले भने, ‘सडकमा माग्ने, चोर्ने, पुर्ख्यौली पेसा अँगाल्ने बालबालिकालाई बालविवाह, बालश्रम, बेचबिखन हुनेबाट बचाउन पनि यो अभियान थालिएको हो ।’ २०७५ सालबाट सुरु गरिएको उनको होस्टेलमा कर्णालीका १० वटै जिल्लाका बादी बालबालिका बस्छन् । सुरुमा १७ जना बालबालिकाबाट आफूले होस्टेल सुरु गरेको उनले बताए ।

सुर्खेतको सिद्धपाइला बोर्डिङ स्कुलले ६२ जनालाई निःशुल्क पढाएको छ भने चिल्ड्रेन प्याराडाइज, इलाइट, अरणीको, सूर्योदय, सासा, उषालगायत बोर्डिङले केही बालबालिकालाई निःशुल्क पढाएका छन् । उनको होस्टेलमा आफ्नै समुदायका ७ जना शिक्षकले पठनपाठनमा सहयोग गरेका छन् । हिक्मतको काम देखेर विभिन्न व्यक्तिले होस्टेलमा पुगेर जन्मदिन, वर्षगाँठ, चाडपर्वलगायतमा बालबालिकालाई खाद्यान्न, लत्ताकपडा, शैक्षिक सामग्रीलगायत सहयोग गर्छन् । ‘दैनिकजसो विभिन्न व्यक्तिसँग खाना र कापीकलम जुटाउन बजार निस्कन्छु, मागेर कति दिन चल्ने हो ? थाहा छैन,’ उनले भने, ‘तर मागेरै भए पनि यी बालबालिकालाई उच्च शिक्षा भने हासिल गराएरै छाड्छु ।’ 

उनलाई सबैभन्दा ठूलो समस्या मासिक १ लाख घरभाडा कसरी तिर्ने भन्ने हुन्छ । ‘५ वर्षसम्म सबैसँग मागेर विद्यार्थीलाई पढाएको छु, कहिले समयमै घरभाडा तिर्न सकिँदैन,’ उनले भने, ‘तर सहयोग माग्न गएको ठाउँबाट खाली हात फर्कनुपरेको छैन, त्यसैमा सन्तुष्ट छु ।’ उनका अनुसार १ सय १० जना बालबालिकालाई मासिक खाना खर्च मात्रै कम्तीमा १ लाख ६० हजार रुपैयाँ लाग्छ । अहिलेसम्म कुनै सरकारी निकायबाट सहयोग नपाएको उनले बताए । ‘सधैं कति मागौं ?, यत्तिकै छोडौं भने यी बालबालिकाहरू सडकमा माग्ने, चोर्नेलगायत काममा संलग्न हुन्छन्,’ उनले भने, ‘तर जति सक्छु यिनीहरूको भविष्य उज्ज्वल बनाइछोड्छु ।’ 

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully