कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६५

बन्चरेडाँडामा फेरि बल्झियो 'काठमाडौंको दुर्गन्ध'

१७ वर्षमा ७२ वटा सम्झौता गरिए पनि सल्टिएन फोहोर बिसर्जनको समस्या । गत वर्ष जेठमा काठमाडौंका मेयर बालेन्द्र साहले गरेको सम्झौतापछि समस्या समाधान हुने अपेक्षा गरिएको थियो । तर यसपटक वर्षा सुरु भएसँगै लिचेट ओभरफ्लो भएर खोलामा मिसिने खतरा देखिएको छ ।
कृष्ण थापा

नुवाकोट — वर्षायाम सुरु हुनै लाग्दा नुवाकोट र धादिङको सीमा क्षेत्रमा पर्ने बन्चरेडाँडास्थित ल्यान्डफिल साइटको लिचेट ओभरफ्लो हुन लागेपछि आसपासका बासिन्दाहरू चिन्तित देखिएका छन् । लिचेट भरिएर लेदोयुक्त पानी कोल्पुखोलामा मिसिनसक्ने भन्दै स्थानीयहरूले यसको समाधानका लागि सरकारसँग पहल गर्न जनप्रतिनिधिसमक्ष माग गरेका छन् ।

बन्चरेडाँडामा फेरि बल्झियो 'काठमाडौंको दुर्गन्ध'

‘लिचेट भरिएर ओभरफ्लो हुन लागेको छ । बन्चरेडाँडाको मुनिबाट कोल्पुखोला बगिरहेको छ । अब पानी परेर लिचेट बग्न थाल्यो भने यो लिचेट कोल्पुखोलामा मिसिने खतरा छ,’ ककनी गाउँपालिका-३ का घननाथ बजगाईंले भने ।

सिसडोलमा फोहोर भरिएपछि गत वर्ष जेठमा माथिल्लो क्षेत्रमा पर्ने बन्चरेडाँडामा फोहोर बिसर्जन गर्न थालिएको थियो । वर्षायाम सुरु भएसँगै उक्त फोहोर पनि भरिएर दुर्गन्ध फैलन सक्ने भएपछि स्थानीयहरू चिन्तित बनेका हुन् । पछिल्लो शुक्रबार सदरमुकाम विदुरबाट जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, वन कार्यालयसहितको टोली बन्चरेडाँडा अवलोकनमा पुगेको थियो । यस क्रममा स्थानीयहरूले फोहोर व्यवस्थापनको काम दीगोरुपमा समाधान गर्नुपर्ने माग गरेका छन् । साथै मानव बस्तीमा दुर्गन्ध फैलन सक्ने भन्दै उनीहरूले जनप्रतिनिधिहरूलाई दबाब दिए ।

शुक्रबार नुवाकोट क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित नेकपा माओवादी केन्द्रका सांसद हितबहादुर तामाङ, सांसद विमला सुवेदी, जिसस प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, पालिका अध्यक्ष लगायतको टोलीले अवलोकनका लागि बन्चरेडाँडा पुगेको थियो ।

अवलोकनको क्रममा सांसद तामाङले मान्छे र फोहोर एकै ठाउँमा राख्न नपाइने बताएका थिए । फोहोरलाई दिगो रुपमा बस्तीबाट टाढा व्यवस्थापन गर्नुपर्ने उनले सुझाव दिएका थिए । बन्चरेडाँडामा हरेक वर्ष देखिने समस्याको विकल्प सरकार र काठमाडौं महानगरपालिकाले खोज्नुपर्ने उनको भनाइ थियो ।

फोहोर बिसर्जनस्थलमा साइकल यात्री

त्यसो त, फोहोर बिसर्जनका लागि यसअघि काठमाडौं महानगरपालिका, सहरी विकास मन्त्रालय, धुनीबेसी नगरपालिका र ककनी गाउँपालिकाबीच समझदारी भएको थियो । तर उक्त सम्झौताअनुसार कार्यान्वयन नहुँदा फेरि समस्या निम्तिएको स्थानीयहरूको गुनासो छ । ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले भने यसअघि भएको सम्झौतालाई संघ सरकार र महानगरबाट बेवास्ता भएको बताए ।

‘मापदण्ड पुर्‍याएर व्यवस्थापन गरेका छैनन् । लिखितरुपमा गरेका मागका सम्झौता कार्यान्वयन नभएपछि स्थानीयले माग उठाएका छन् । फोहोर र मान्छे सँगै नबस्ने भनिएको छ । फोहोरले प्रभावित पार्ने स्थानीयलाई अन्यत्र स्थानान्तरण गर्ने भनेका थियौं । कम प्रभावित क्षेत्रका बासिन्दालाई विकास निर्माणमा प्राथमिकता दिने र लिचेटलाई खोलामा नहाल्ने भनिएको थियो । र यहाँका बासिन्दालाई लक्षित गरी तत्काल १० शय्याको अस्पताल स्थापना गर्ने भनिएको थियो । तर अहिलेसम्म भएको छैन,’ अध्यक्ष तामाङले भने ।

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्ने क्रममा नुवाकोटको ककनीसहित धादिङको धुनीबेंसीका १८ हजार मानिस प्रभावित छन् । तर ती मानिसको जिउधन रक्षा र वातावरण विनासको समस्याप्रति सरोकारवाला निकाय जिम्मेवार हुन नसकेको गुनासो गर्छन् ककनी गाउँपालिका ३ का स्थानीय तथा बन्चेरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिका संयोजक ढुंगाना ।

स्थलगत अनुगमनका लागि संघीय सांसद हितबहादुर तामाङ, विमला सुवेदीलगायत शुक्रबार बञ्चरेडाँडामा । तस्बिर : कान्तिपुर

यसबाहेक लामो समयदेखि फोहोर थन्क्याउने काममात्रै भइरहँदा स्थानीयहरूमा विभिन्न स्वास्थ्य समस्या देखिने गरेको स्थानीयहरूको गुनासो छ । स्थानीयहरूमा क्यान्सर लगायतका समस्या देखिनुमा पनि काठमाडौं उपत्यकाकै फोहोरलाई कारक मानिएको छ । ककनी गाउँपालिका-१ का वडाध्यक्ष पदमबहादुर श्रेष्ठ बलामीका अनुसार फोहोरकै कारण क्यान्सरले वार्षिकरुपमा ५ देखि १० जनाले ज्यान गुमाउनु परेको छ । बर्सेनि ३ वडामा स्थानीयको स्वास्थ्यमा असर पुग्ने गरेको र क्यान्सरका रोगी बढेको अध्यक्ष बलामीको दाबी छ । अर्का स्थानीय राजु घिमिरेका अनुसार स्थानीयहरूमा छाती र फोक्सोका बिरामीको संख्या पनि बढ्ने क्रम छ ।

०६२ सालमा नुवाकोटको ओखरपौवामा २/३ वर्षका लागिमात्रै फोहोर फ्याँक्ने सहमति बने पनि काठमाडौं महानगर र सरकारले उचित व्यवस्थापन भने खोज्न सकिरहेको छैन । हरेक वर्ष वर्षायाममा दुर्गन्ध फैलने क्रम बढेपछि स्थानीयहरू विरोध गर्छन् । तर सरकार र महानगरले स्थानीयलाई विभिन्न आश्वासनसहित थामथुम पार्ने गरेका छन् । तीन वर्षका लागि फोहोर फाल्ने भनिएको सम्झौता उल्लं‌घनमात्रै हैन, हाल काठमाडौं महानगरसहित १८ वटा नगरपालिकाको १० देखि १२ टन फोहोर दैनिक यहाँ बिसर्जन हुने गरेको छ । १७ वर्षको अन्तरालमा ७२ पटक सम्झौता गरिए ।

कोल्पुखोला किनारमा रहेको खाल्टो फोहोरले भरिएर करिब २ सय मिटर अग्लो पहाडकै रुपमा खडा भयो । फोहोरकै पहाडमाथि फोहोर बोक्ने गाडीहरु कुद्न थाले । गत जेठमा काठमाडौं महानगरका मेयर बालेन्द्र साहले स्थानीयसँग गरेको सम्झौतासँगै ल्यान्डफिल साइट तयार पारिएपछि उक्त समस्या समाधान हुने अपेक्षा गरिएको थियो । तर यसपटकको वर्षा सुरु भएसँगै दुर्गन्ध फैलिएर विकराल रुप लिने देखिएको छ । काठमाडौं महानगरले फोहोर फाल्ने ठाउँ खोजिरहँदा बन्चरेडाँडा आसपासका बासिन्दा भने राजधानीको दुर्गन्धको विकल्प खोजिरहेका छन् । हिउँदका महिनाहरूमा धुलो खाइरहेका उनीहरू वर्षासँगै हिलो र दुर्गन्धबाट मुक्ति पाउने उपाय खोजिरहेका छन् ।

फोहोर बोकेको ट्रक

प्रकाशित : चैत्र ११, २०७९ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×