कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

युनिक क्यारेक्टर

कमेडी आर्टिस्ट बन्छु भनेर राजधानी छिरेको लालबन्दीको केटो हेर्दाहेर्दै क्या गजबको अभिनयवाज भएर पो निस्कियो ।
गोकर्ण गौतम

थिएटरको त विजय बराल स्टार थिएन नै, कबड्डीले मास अडियन्समा चिनायो । दयाहाङ राईको लगौंटिया यार बनेको यही फिल्मको सिक्वेलले उनको लोकप्रियता अझ व्यापक बनायो । उनको हुलिया, बोल्ने शैली अनि हाउभाउ दर्शकमाझ प्रिय भइदियो किनभने त्यो ‘नेचुरल’ थियो । यही बीचमा उनले हाउ फन्नी र झुम्की खेले ।

युनिक क्यारेक्टर

मण्डला थिएटरको नाटकमा त अक्सर छुट्दैनथे । अर्थात् यता भ्याइनभ्याई थियो, तैपनि के सुर चलेछ कुन्नि, कोलकातातिर हुइँकिए । बहाना थियो, माइम सिक्ने ।

एक वर्ष उतै बिताएर फर्किएका विजय यतिबेला मण्डलाको स्टेजमा राजा बनेर देखापरेका छन् । प्राचीन ग्रिसेली नाटककार सोफोक्लिजद्वारा इसापूर्व ४४१ ताका लेखिएको नाटक एन्टिगोनीमा राजा क्रियोन बनेका हुन् उनी । संसार प्रसिद्ध दुखान्त नाटकहरूको लहरमा एन्टिगोनी अघिल्लो लहरमै आउँछ । अनि क्रियोनको चरित्र विजयको वास्तविकतासँग पटक्कै मेल खाँदैन । उनले हाँस्दै सुनाएँ, ‘त्यसैले क्रियोन बन्नु मेरा लागि फलामको चिउरा चपाएजस्तै भयो ।’

थेविज राज्यका राजा इडिपसको देहान्तपश्चात् उनका दुई छोरा पोलिनिसस र एटियोक्लिज आपसमा लडेर मर्छन् । त्यसपछि मामा क्रियोन राजा बन्छन् । नियत सफा हुँदाहुँदै पनि उनी ज्यादै क्रूर र महत्त्वाकांक्षी भइदिन्छन् । एकपछि अर्को बिछोडको सामना गर्नुपर्छ । यस्तो कठोर र प्राचीन पात्रलाई मञ्चमा उतार्नु चानचुने कुरा हुँदै होइन । विजय उम्दा कलाकार त हुन् नै, तैपनि यसपटक अलि मुस्किल पर्‍यो । त्यसको रोचक कारण रहेछ । 

एक त, उनी प्राय: कमेडी र ग्रामीण चरित्रका भूमिकामा चिनिएका कलाकार हुन् । त्यस्तै भूमिकामा सहज महसुस गर्छन्, जीवन्तता दिन्छन् । अर्कोतिर, माइममा जे सिके, क्रियोनको चरित्र ठ्याक्कै विपरीत । जस्तो, माइम ‘साइलेन्ट एक्ट’ हो, जहाँ बिनासंवाद शारीरिक हाउभाउ र अनुहारको भावभंगिमाबाट प्रस्तुति दिइन्छ । चार्ली च्याप्लिनको जस्तै । तर क्रियोनको भूमिकामा विजयले लामा–लामा, त्यो पनि गहन संवाद बोल्नुपर्छ । संवाद कण्ठ गर्नै धौधौ पर्‍यो । फेरि फरर बोल्ने होइन, संवाद आत्मसात् पनि गर्नुपर्‍यो । डेढ दर्जन नाटकमा अभिनय गरिसकेका उनी भन्छन्, ‘राजाको सम्बन्ध, शान, टाइमिङ र डायलग डेलिभरीको सेन्स पनि ख्याल गर्नुपरेको छ । जुन मेरा लागि नौलो हो ।’ नाटकको मञ्चन २३ असारबाट सुरु भइसक्यो । तैपनि निर्देशक राजन खतिवडा भूमिकालाई जीवन्तता दिलाउनका खातिर उनलाई अतिरिक्त अभ्यास गराउन तल्लीन छन् । उता, हर दिन शो गरेपछि विजयमा पनि आत्मविश्वास बढिरहेको छ । चरित्रकै लागि बाक्लो दाह्री रंग्याएका छन् । 

त्यसो त, कोलकाताबाट फर्किएपछि विजयले मिस्टर झोलेको सुटिङ भ्याइसकेका छन् । रामबाबु गुरुङ निर्देशित यस फिल्मको ‘लिड’ मध्ये एक हुन् उनी । तर यो फिल्म मंसिरको पहिलो साता प्रदर्शन हुनेछ । त्यतिबेलासम्म उनी पर्दामा नदेखिएको दुई वर्ष नाघ्नेछ । झन्डै डेढ वर्ष त नाटकमा पनि देखिएनन् । त्यसैले कतिपय साथीभाइले भन्छन्, ‘ग्याप धेरै भयो । स्पिड बढाउनुपर्‍यो ।’ तर विजयलाई कुनै हतारो छैन । ढिलै सही तर स्तरीय काम गर्नु छ । किनभने एक दशकअघि सर्लाहीको लालबन्दीबाट कमेडी आर्टिस्ट बन्छु भनेर राजधानी छिरेका थिए उनी । बुझ्दै जाँदा, मुख बंग्याएर हँसाउने कमेडियन होइन, जीवन्त अभिनय गर्ने कलाकार बन्नुपर्छ भन्ने बोध भयो । त्यही चाह पूरा गर्न मण्डलाको भवन बनाउँदा पसिना चुहे, हातमा ठेला उठे । काँध खुइलियो । 

गम्भीर र मिहिनेती कलाकारको छवि बनाएका विजय मुस्कुराए, ‘हतार गरेको भए त उहिल्यै क्यारिकेचर गर्ने भइसकिन्थ्यो होला । तर आज चुनौतीपूर्ण चरित्रमा रमाउन सक्ने भएको छु ।’ त्यसो नहुँदो हो, २७ वसन्त पार गरिरहेका विजयले चरणदास चोर, जार, डिग्री माइला, सिरुमा रानीलगायतका नाटकमा आफ्ूभन्दा झन्डै दोब्बर उमेरको चरित्र निर्वाह गर्ने थिएनन् होलान् । अझ मितज्यू नाटक त दोहोरो अनि एकआपसमा निकै भिन्न ८५ वर्षको वृद्ध र ३५ वर्षे अधबैंसेको भूमिकामा काम गरे । पात्रअनुरूप क्षणभरमै बोल्ने शैली र हाउभाउ फेर्नुपथ्र्यो । तर यी तमाम चुनौतीमाथि नामजस्तै विजय प्राप्त गरे विजयले । र, त्यो शृंखला जारी छ । 

उस्तै परे अर्को वर्ष विजय अभिनय पढ्न बाहिर जानेछन् । जबकि फिल्म र नाटकमा चलेकै छन् । त्यसो भए किन पढ्नुपर्‍यो त एक्टिङ ? मण्डला थिएटरको पहिलो ब्याचका यी एक्टर भन्छन्, ‘केही नसिक्दा आफूलाई सबै आउँछ जस्तो लाग्ने । सिक्न थालेपछि आफूमा कति अभाव छ र कति सिक्नु पर्दोरहेछ भन्ने हेक्का हुँदोरहेछ । त्यसैले अझ केही वर्ष अभिनयको औपचारिक अध्ययन गर्ने हुटहुटी छ ।’ 

यही उत्साहकै कारण अर्को वर्ष भारतको नेसनल स्कुल अफ ड्रामा (एनएसडी) मा ट्राई गर्दैछन् ।


 

प्रकाशित : असार ३०, २०७४ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

काठमाडौंका खोला किनारमा थप २० मिटर खाली गराउने सर्वोच्च अदालतको आदेशलाई लिएर भइरहेको बहस र विवादबारे तपाईं के भन्नु हुन्छ?

x
×