२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

बैदेशिक रोजगारीका कारण विचल्लीमा परेका बालबालिका

कुम्भराज राई

ओखलढुंगा — यहाँको मानेभन्ज्याङ गाउँपालिका–५, जेरुङ गाउँका प्रदीप राई र उनका भाई जीवन क्रमश: १३ र ११ वर्षका भए । उनीहरुको बाबु वैदेशिक रोजगारीका लागि कतार गएको १२ वर्ष भईसक्यो । उनी सम्पर्क विहिन छन् । आमाले दोश्रो विवाह गरेर हिँडिन् । आमाले छोडेकै आठ वर्ष भईसक्यो ।

बैदेशिक रोजगारीका कारण विचल्लीमा परेका बालबालिका

आमाले छोडेर हिँडेपछि शुरुमा उनीहरु मावली हजुरबासँग बसे । तर खाने, बस्ने टुंगो भएन । स्याहार पुगेन । घर पनि भुकम्पले भत्कायो । हजुरबासँगको बसाई सुरक्षित नभएपछि केही समय सानीमा (आमाकी बहिनी) अनिशा राईसँग बसे । तर सानीमा पनि गाउँ छाडेर राजधानी गएपछि उनीहरु आफन्तकहाँ बस्दै आएका छन् ।


उनीहरु कक्षा ४ र ५ मा पढ्छन् । नजिकको भनिएका आफन्तहरु कसैले पनि उनीहरुलाई जिम्मा लिन तयार छैनन् । उनीहरुका बुवा नवराजको नाममा प्रशस्त जग्गा जमिन भएपनि उनीहरुको उमेर सानै छ । पढाई बिग्रिएको छ । भर्खरै मात्र उनीहरुमा पैसा चोरेको आरोप पनि लाग्यो ।

सिद्धिचरण नगरपालिका ३, जंगले गाउँका खिलबहादुर भुजेल वैदेशिक रोजगारीको लागि कतार गए । उनी विदेश गएको ११ महिनामै उनकी श्रीमति लक्ष्मीले दोश्रो विवाह गरि घर छाडिन् । लक्ष्मीले घरसँगै काखको छोरीसहित तीन जनालाई छाडेर हिँडिन् ।

दश वर्षकी ठूली छोरी निरुपा, ९ वर्षकी माहिली रुपमा र डेढ वर्षकी कान्छी छोरी रेश्मीका छोडेर लक्ष्मीले दोश्रो विवाह गरिन् । त्यतिमात्र कहाँ हो र ? उनले घरको भाँडाकुँडादेखि ओढ्ने ओछ्याउने समेत लिएर हिँडेपछि केटाकेटीले खाने, सुत्ने ठाउँ समेत रहेन । अहिले उनीहरु हजुरबुवा हजुरआमासँग बस्छन् । हजुरबुवा कुलबहादुर भुजेलले भने, ‘पेट पाल्नै गाह्रो छ । पढाउन त झनै कठिन छ ।’


लिखु गाउँपालिका २ रगनीका १८ वर्षीय मुकेश सुनुवार, उनका भाई १३ वर्षीय दिपका सुनुवार र १० वर्षीया दिपिका सुनुवारको बुवा गएको ०७२ वैशाख १२ को भुकम्पमा परेर बिते । छोराहरुको लालनपालनका लागि उनीहरुको आमा विदेशिइन् । तर विदेशिएको महिनौंसम्म पनि कुनै खबर आएन ।

हजुरआमासँग बस्दै आएका मुकेश र दिपकलाई बुढी हजुरआमाले पाल्नै धौधौ भयो । भर्खरै मात्र उनीहरुको आमा सम्पर्कमा आएकी छन् । कहिलेकाँही घरखर्च पठाउन थालेपछि केही सहज भएको छ । तर पनि नियमित विद्यालय पठाउन समस्या हुने गरेको छ । बुवा बितेर आमासँगै नभएपछि मानसिक रुपले बालबालिका प्राय विक्षिप्त हुने गरेका छन् । उनीहरु सामान्य बालबालिका सरह हुँदैनन् ।


जोखिम उत्तिकै

यकिन तथ्यांक नभएपनि जिल्लामा वैदेशिक रोजगारीमा गएका अभिभावकहरुको सयौँ बालबालिकाहरु बिचल्लीमा छन् । उनीहरु विभिन्न किसिमले जोखिममा रहेका छन् । भुकम्प पश्चात मात्रै युनिसेफको सहयोगमा जोखिममा परेका बालबालिकाहरुको तथ्यांक संकलन गरिएको थियो ।

महिला बालबालिका कार्यालय र एकिकृत स्रोत व्यवस्थापन समितिले ३ हजार ९ सय ८ बालबालिकाको प्रारम्भिक तथ्यांक संकलन गरेको थियो । त्यसमध्ये परिवारबाट अलग्गिएका बालबालिकाको संख्या मात्र ३ सय ६४ जना रहेको बालबालिका कार्यालयको सूचना व्यवस्थापन अधिकृत सुमन राईले बताए ।

जोखिममा परेका मध्ये प्राथमिकीकरण गरि करिब १ हजार भन्दा बढीलाई आर्थिक सहयोग समेत वितरण गरिएको छ । आर्थिक सहयोग पाउने अधिकांशलाई ५ हजार रुपैयाँका दरले सहयोग दिइएको हो । केहीलाई जिविकोपार्जनका लागि भनि १० देखि १५ हजारसम्म दिइएको राईले बताए । ‘तर यो सहयोग त हाम्रो आपतकालीन सहयोग मात्र हो’ राईले भने, ‘दीर्घकालीन हिसाबले हेर्ने हो भने त उनीहरु जोखिममै छन् ।’


१३ वर्ष मुनिकाहरु स्वास्थ्य, शिक्षा, पोषण लगायतको जोखिममा छन् । १३ वर्षदेखि माथिकाहरु बालविवाह, बालश्रम, यौन शोषण, वेचविखनको जोखिममा रहेको जनाइएको छ । १८ वर्षमुनिका जोखिमका बालबालिकाको तथ्यांक संकलन गर्दा प्रत्येक २० जना बराबर २ देखि ५ जनासम्मको अभिभावक रोजगारीको लागि विदेशिएको भेटिएको सामाजिक कार्यकर्ता बालाराज कार्कीले बताए ।


जिल्ला प्रहरी कार्यालयमा आउने अधिकांश सामाजिक विचलनको मुद्दामा बालबालिका जोडिएर आउने गरेका छन् । ‘कतिपय अवस्थामा त आमाहरुले प्रहरीकै अगाडी बालबच्चा छोडेर हिँड्ने सम्म पनि भेटिएको छ ।’ प्रहरी निरिक्षक टिका कार्कीले भने, ‘तर हामीले सकेसम्म नाबालक बच्चाको केसमा भने आमालाई नै जिम्मा लगाउने गरेका छौँ ।’


पहिले बुवा विदेश र आमाले छोडेर हिँड्ने समस्या बढी थियो । तर अहिले आमा वैदेशिक रोजगारीमा जानेका बालबालिकाहरु पनि विचल्लीमा पर्ने गरेका छन् । पछिल्लो वर्षहरुमा पुरुषसँगै महिलाको विदेशिने संख्या समेत बढ्दो छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार ओखलढुंगाबाट आर्थिक वर्ष ०७२/७३ मा संस्थागत स्वीकृति लिएर रोजगारीको लागि विदेशिनेको संख्या २ हजार ८ सय ९४ थिए । त्यसमध्ये पुरुष २ हजार ७ सय ६ र महिला १ सय ८८ थिए ।


त्यसैगरि व्यक्तिगत रुपमा रोजगारीका लागि जानेको संख्या भने सोही आर्थिक वर्षमा कुल २ सय ५० रहेका छन् । जसमध्ये पुरुष २ सय ७ र महिला ४३ जना छन् ।

प्रकाशित : माघ १४, २०७४ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?