कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नाटक ‘त्रयम’ : महिला आवाजको खोजी

दिलीप रानाभाट निर्देशित यो नाटकमा पितृसत्तात्मक समाजले पिल्सिएका ३ महिलाहरुको कथा समावेश छ, जो यो शासकीय विचारधाराको पर्खाल नाघेर उन्मुक्तिको श्वास फेर्न चाहन्छन् ।
रीना मोक्तान

काठमाडौँ — दर्शकदीर्घातर्फ नजर पारेर उभिएका छन्, तीन महिला । तीनैले पहिरेका सारीका रंग फरक । हरियो, रातो अनि नीलो । एकटकले उभिएका उनीहरु अचल । नेपथ्यबाट तीन पुरुष छेवैमा आइपुग्छन् ।

नाटक ‘त्रयम’ : महिला आवाजको खोजी

उनीहरुका हातलाई उनीहरुकै दाहिने कम्मरतिर अड्यादिन्छन् । झट्ट हेर्दा कम्मर मर्काउन तयारजस्तो । त्यसपछि उनीहरुका ओठलाई गालासम्मै तन्काइदिन्छन्, जबरजस्त हाँस्न लगाउँदै । उनीहरुले हाँस्ने प्रयास पनि गर्छन् । तर, त्यो हाँसो लामो समय टिक्दैन । बिस्तारै ती महिलाहरु निस्सासिँदै जान्छन् । छोटो-छोटो स्वास फेर्न थाल्छन् । त्यसपछि पहिलाकै मुद्रामा फर्कन्छन् । ती तीन पुरुषहरुले उनीहरुका हातलाई कम्मरमा राखिदिने, ओठलाई गालासम्म तन्काइदिने क्रम चलिरहन्छ । हाँस्ने प्रयास गर्दा-गर्दै निस्सासिने दृश्य दोहोरिरहन्छ ।

कौशी थियटरमा मञ्चनरत नाटक 'त्रयम'को यो पहिलो दृश्यमै पितृसत्तात्मक संरचनाले महिलाहरु कसरी दबाइन्छन् ? समाजले निर्माण गरिदिएको मूल्य/मान्यता कति असहज र हानिकारक छ भन्ने कुरा प्रस्टाइदिन्छ । 'महिला बनाइन्छ, जन्मँदैनन्'‍ भन्ने भाष्यलाई सशक्त रुपमा यही एउटै दृश्यले प्रस्तुत गर्छ । पितृसत्तात्मक समाजले महिलामाथि गर्ने नियन्त्रण, शासन, दमनको उदाहरण पनि हो यो सशक्त दृश्य । दिलीप रानाभाट निर्देशित यो नाटकमा पितृसत्तात्मक समाजले पिल्सिएका तीन महिलाहरुको कथा समावेश छ, जो यो शासकीय विचारधाराको पर्खाल नाघेर उन्मुक्तिको श्वास फेर्न चाहन्छन् । नाटकमा पितृसत्तासँगको यो लडाइँमा महिलाहरुले चुकाउनुपर्ने मूल्यका विषयलाई पनि प्रस्तुत गरिएको छ । पितृसत्ताले वर्तमान समाजमा कसरी जरा गाडेको छ भन्ने कुरालाई पनि 'त्रयम'ले व्यंग्य गर्छ । 'त्रयम' ती महिलाका आवाज हुन्, जो पितृसत्ताको संरचना भत्काएर आफ्नो आवाज खोज्ने यात्रामा हिँडेका छन् ।

यो नाटकमा एउटै फ्ल्याटमा बस्ने तीन महिलाहरुको कथा छ । एकै दिनमा उक्त फ्ल्याटमा घट्ने घट्नाहरु नाटकमा समावेश छ । फरक भान्सा, फरक विचारका यी तीनले बिदाको दिन अर्थात् शनिबार एकअर्कासँग आ-आफ्ना भोगाइ साट्छन् । उनीहरुकै भोगाइमार्फत वर्तमान समाजमा व्याप्त पुरुषत्व, पितृसत्तात्मक सोंचको पर्दा उघारिँदै जान्छ । दर्शक हसाउँदै सुरु भएको नाटक उनीहरुको भोगाइसँगै गम्भीर बन्दै जान्छ ।

गायत्री(पूर्णिमा आचार्य) गाउँबाट भागेर काठमाडौं आएकी हुन्छिन् । मगनी भइसकेको परिवारले बिहेको केहीदिन अगाडि दाइजोको दबाब दिएपछि गायत्रीले घर छोड्ने निर्णय लिएकी हुन्छिन् । आर्थिक संकटसँग झेल्दै आएको परिवारका लागि दाइजोले दिने दबाबले सिर्जना गर्ने समस्याले गायत्रीलाई घर छोड्ने निर्णयमा पुर्‍यायो । त्यस्तै, आत्मसम्मान, स्वाभिमान र आत्मनिर्भरताका पक्षमा उभिँदा अमृताले(रक्षा थापा)ले आफ्नी छोरीसँग टाढिनुपर्ने मूल्य चुकाउँछिन् । आत्मनिर्भरताका सवाल उठाउँदा पति, माइती सबै उनीबाट टाढिन्छन् । त्यही फ्ल्याटमा बसेर अमृताले आफ्नो अस्तित्वको लडाइँ लडिरहेकी हुन्छिन् । जेसिका(संगीता थापा)लाई भने यौन दुर्व्यवहारको विरुद्धमा उठाएको आवाजले त्यो फ्ल्याटमा पुर्‍याएको हो । आफूमाथि भिनाजुले गरेको दुर्व्यवहारविरुद्ध आवाज उठाउँदा जेसिकाले आफ्नै परिवार, आफन्तबाट पीडा र उत्पीडन सहन्छिन् ।

यो नाटकमा त्यस्ता महिलाहरुको कथा छ जो पितृसत्तात्मक समाजको विद्रोहमा उभिएका छन् । आफूमाथि भएको दमन, हिंसा र पीडाका विषयमा आवाज उठाउने महिलाहरुको कथा हो, 'त्रयम' । पितृसत्ताले निर्माण गरिदिएको संरचना भत्काएर स्वतन्त्रता, आत्मनिर्भरता र स्वाभिमानसहित बाँच्न चाहने महिलाहरुको विद्रोह प्रस्तुत छ । नाटकमा महिलाले हरेक कदममा सामना गर्नुपर्ने संकिर्ण विचार, दुर्व्यवहार र हिंसाका विषय पनि समेटिएको छ । अमृताको कोठामा कुकुर बनाइदिन आउने व्यक्तिले गायत्रीलाई गलत चरित्रको ट्याग भिर्‍याइदिन्छन् । गलत प्रवृतिका विरुद्धमा कदम चाल्ने अमृताहरुलाई समाजले कस्तो नजरले हेर्छ भन्ने कुरा त्यही व्यक्तिको धारणाबाट प्रष्ट हुन्छ ।

जेसिकालाई तारन्तर फोन गरिरहने 'रङ नम्बर'को कल होस् या ग्यास पुर्‍याउन आउनेको गलत विचार । आम महिलाले हरेक कदममा कस्तो हिंसा र दुर्व्यवहारको सामना गर्नुपर्दछ ती महिलाहरुसँग जोडिन आउने पुरुषहरुबाटै थाहा पाउन सकिन्छ । नाटकमा त्यस्ता पुरुषलाई पनि देखाइएको छ जो महिला मुद्दामा संवेदनशील हुन्छन् । घरबेटी ती तीन महिलाहरुको जीवनसँग ठोक्किन आउने संवेदनशील पुरुष हुन् । नाटकको सुरुआती दृश्यहरु हेर्दा 'महिला नै महिलाका दुश्मन' भन्ने भाष्य निर्माण गर्न खोजिएको हो कि भन्ने लाग्छ । जब अमृता, गायत्री र जेसिकाको भोगाइ उघारिँदै जाँदा त्यो भाष्य पनि भत्किँदै जान्छ । महिला एकअर्काका शक्ति, आड र भरोसा हुन् भन्ने कुरा प्रष्ट हुँदै जान्छ ।

नाटकमा रंगको प्रयोग विम्बात्मक देखिन्छ । सेट निर्माणलाई मध्यनजर गर्ने हो भने प्रत्येक चरित्रका लागि फरक-फरक रंगको प्रयोग गरिएको छ । तीनै जनाको कोठालाई तीन फरक रंगले दर्शाइएको छ । गायत्रीको कोठा हलुका हरियो रंग(पास्टल ग्रीन)को छ, उनी त्यही रंगको सारी पहिरिन्छिन् । त्यस्तै, जेसिकाको कोठा रातो रंगले सजिएको छ, उनी रातै साडीमा देखिन्छिन् । अमृताले भने नीलो सारी लगाउँछिन्, उनको कोठाको भित्ता पनि नीलो रंगले सजिएको छ ।

नीलो रंग स्वतन्त्रता, संवेदनशीलता, स्थिरता र अन्तर्ज्ञानको प्रतीक हो । अमृताले आफ्नो स्वतन्त्रताका लागि चालेको कदमको प्रतिनिधित्व यो रंगले जति गर्छ, सायदै अरुले नगर्ला । गायत्रीको कोठा र सारीको हरियो रंगले नवीकरण, पुरुत्थानको अर्थ दिन्छ । पुरानो जीवन त्यागेर नयाँ बाटोमा हिँडेकी गायत्रीको स्वभाव र चरित्र यही रंगहरुले पनि व्यक्त गरिदिन्छ । रातो रंगले उर्जा, खतरा, बलिदानको अर्थ दिन्छ । जेसिकाले आफ्नै परिवारका सदस्यले गरेको दुर्व्यवहारबारे बोल्ने आँट/साहस/उर्जा जसरी बटुलेकी छिन्, त्यसलाई रातो रंगले प्रतिनिधित्व गरिरहन्छ । यस अर्थमा यो नाटकमा रंगहरुले पनि कथा भनिरहेझैं लाग्छ ।

यस्तो गम्भीर विषयमा युवा रंगकर्मी दिलीप रानाभाटले निर्देशन गरेको 'त्रयम', उनको परिपक्व काम हो । यौन दुर्व्यवहार, महिला मुद्दाका विषयमा कमै नाटक बन्ने गरेका छन् । यस अर्थमा यस्तो संवदेनशील विषयमा नाटक गर्ने आँट गरेका दिलीप धन्यवादका पात्र हुन् । महिला मुद्दाका मिहीन कुरालाई पनि दीलिपले गम्भीर भएर नाटकमा प्रस्तुत गर्ने जमर्को गरेका छन् ।

थिएटर भिलेजको प्रस्तुति यस नाटकको लेखन दिलीप आफैंले गरेका हुन् । एक घन्टा लामो यो नाटकमा जेसिकाको भूमिकामा संगीता थापाले गरेको अभिनय दमदार छ । उनले जेसिकाको साहस र शक्तिलाई आफ्नो अभिनयमार्फत प्रस्तुत गरिदिएकी छन् । जेसिका चरित्रलाई विश्वसनीय बनाउन संगीताले प्रस्तुत गरेको अब्बल अभिनय प्रशंसनीय पाटो हो । घरबेटी, ग्यासवाला र ग्यास बनाउन आउने पात्रको अभिनय पनि तारिफलायक नै छन् । नाटकमा संगीतासँगै रक्षा थापा, पूर्णिमा आचार्य, श्रवण राणा, न्याथन रायन भण्डारी र सबीर चुरौटेको अभिनय छ । 'बोल न' बोलको गीतले नाटकको कथालाई मज्जाले माथि उठाइदिन्छ ।

'बोल न! तिम्रो स्वरले बोकेको छ इन्द्रेनी

तिम्रै स्वरमा लुकेको छ चट्टान पनि

बोल न ! तिमी बोले चर्किनेछन् मै हुँ भन्ने चट्टान पनि…।'

प्रकाशित : जेष्ठ २५, २०८० १३:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?