कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युकेको प्रमुख डकुमेन्ट्री फेस्टिभलमा 'ढोरपाटन'

काठमाडौँ — युकेको प्रमुख डकुमेन्ट्री फेस्टिभल 'शेफिल्ड डकफेस्ट'मा नेपाली डकुमेन्ट्री 'ढोरपाटन'को वर्ल्ड प्रिमियर हुँदैछ । राजन कठेत र सुनीर पाण्डे निर्देशित ७८ मिनेटको 'ढोरपाटन', डकुमेन्ट्रीका लागि विश्वकै प्रभावशालीमध्येको बजार मानिने यो फेस्टिभलमा प्रिमियर हुने खबरसँगै निर्माण टिम उत्साहित बनेको छ । 

युकेको प्रमुख डकुमेन्ट्री फेस्टिभलमा 'ढोरपाटन'

अंग्रेजी नाम 'नो विन्टर होलिडेज' रहेको यो डकुमेन्ट्रीको तयारी सन् २०१८ देखि नै सुरु भएको थियो । निर्माण टिमले त्यति बेलादेखि विभिन्न कार्यशालादेखि पिचिङ कार्यक्रमहरुमा डकुमेन्ट्रीलाई ‍सहभागी गराउँदै आएको थियो । त्यही क्रममा २०२१ मा शेफिल्डकै 'द विकर्स' भन्ने पिचिङ कार्यक्रममा 'ढोरपाटन' छनोटमा पर्‍यो ।

नेपाली रकम १ करोड बराबरको अनुदान रहेको यो पिचिङ कार्यक्रमको शीर्ष पाँचसम्म डकुमेन्ट्री पर्न सफल भयो । फेस्टिभलकै मुख्य प्रतिस्पर्धामध्यको 'इन्टरनेसनल फस्ट फिचर कम्पिटिसन'मा 'ढोरपाटन' प्रदर्शनमा आउँदैछ । जुन १४ देखि १९ सम्म आयोजना हुने महोत्सवको चौथौ दिन डकुमेन्ट्री प्रदर्शनमा आउने भएको हो ।

डकुमेन्ट्री खिच्न दुई निर्देशकसँगै सिनिमेटोग्राफर बबिन दुलाले ढोरपाटनमा सय दिन बिताएका थिए । पहिलो हिउँदमा अध्ययनका लागि टिमले १० दिन बितायो । त्यसपछिको हिउँद खिच्न राजन, सुनीर र बबिनले ७० दिन बिताए । त्यसपछि शरद र बसन्तलाई १०/१० दिन लगाएर खिचे । ‍हिउँदमा सबै गाउँले बेसी झर्दा गाउँको रेखदेख दुई कुरुवा महिलाहरुले गर्छन् । ७५ वर्षका ती दुई बुढी आमै सम्बन्धले सौता । यी दुईले हिउँदलाई कसरी काट्छन् ? डकुमेन्ट्रीमा उनी दुईको सम्बन्धलाई देखाइएको निर्देशक कठेत बताउँछन् ।

'बूढीआमा बस्ने घरबाट आधा घण्टामा पुगिने होटलमा हामी बस्यौं । हिउँ परेको बेला, हामीलाई कठिन भयो । तर, हामी हिउँदका लागि तयारीसहित पुगेका थियौं । हामी तीनले ९ जोडी गमबुट फटायौं पनि,'कठेतले भने,'बुढ्यौली हुनु के हो ! प्रकृतिसँग जुधेर ती दुई बूढी आमैहरू कसरी बाँचिरहेका छन् भन्ने कुरालाई हामीले देखाएका छौं ।' डकुमेन्ट्रीलाई किरण श्रेष्ठले सम्पादन गरेका हुन् । 'ढोरपाटन'को प्रिमियरमा सहभागी हुन निर्देशक राजन, सुनीरसहित सिनिमेटोग्राफर बबिन युके जाँदैछन् ।

प्रकाशित : जेष्ठ ९, २०८० १४:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?