‘गोरु पर्व’ लाई उत्कृष्ट वृत्तचित्र अवार्ड- मनोरञ्जन - कान्तिपुर समाचार

‘गोरु पर्व’ लाई उत्कृष्ट वृत्तचित्र अवार्ड

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालको मौलिक संस्कृतिलाई समेटिएको वृत्तचित्र ‘गोरु पर्व’ ले उत्कृष्ट वृत्तचित्र अवार्ड जितेको छ । पुरु लम्सालले निर्देशन गरेको वृत्तचित्रले बंगलादेशको बोगुरामा आयोजित ‘तेस्रो बोगुरा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२३’ मा उक्त अवार्ड पाउन सफल भएको हो ।

लम्सालका अनुसार जनवरी २६ देखि २८ सम्म आयोजना भएको महोत्सवमा भारत, बंगलादेश, नेपाल, फ्रान्स, इजिप्ट, ट्युनिसिया लगायतका विभिन्न देशका ४७ चलचित्र प्रदर्शन गरिएको थियो ।

नुवाकोटको तारुकामा हरेक वर्ष माघे संक्रान्तिको अवसरमा आयोजना हुने गोरु जुधाउने परम्परामाथि निर्मित वृत्तचित्र सिने मेकर्स नेपालको प्रस्तुतिमा केपी पाठक र नीराजन सिग्देलले निर्माण गरेका हुन् । रमेशकुमार धमला र ज्योति सिंहले खिचेको वृत्तचित्रको सम्पादन लव प्याकुरेलले गरेका हुन् ।

वृत्तचित्रमा सुशीलसिंह ठकुरीको पार्श्वगायन, राजेन्द्र बजगाईंको पार्श्वसंगीत रहेको छ । निर्देशक लम्सालले वृत्तचित्रले नेपालको मौलिक संस्कृतिमा आधारित ‘गोरु पर्व’ बारे अन्तर्राष्ट्रिय रूपमा प्रचारप्रसारसमेत गरेको जनाए । ‘यसलाई अन्तर्राष्ट्रियकरण गर्ने एउटा प्रयास मात्रै हामीले गरेका हौं,’ उनले भने, ‘हाम्रा हरेक पर्व र संस्कृतिहरूको अन्तर्राष्ट्रिय प्रचार गर्न सके यसबाट पनि हामीले देशलाई चिनाउन सकिन्छ भन्ने देखिएको छ ।’

प्रकाशित : माघ १८, २०७९ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्

अक्सफोर्ड डिक्सनरी प्रकाशन

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १८८४ मा आजकै दिन (फेब्रुअरी १) मा अक्फोर्ड अंग्रेजी डिक्सनरीको दस वटा अंकमध्ये पहिलो प्रकाशन भएको थियो । सन् १८५७ मा फिलोलजिकल सोसाइटी अफ लन्डनले डिक्सनरी आवश्यक भएको निर्णय गरेको थियो ।


तर अक्सफोर्ड युनिभर्सिटी प्रेसलाई डिक्सनरी प्रकाशन गर्न दिने सहमतिमा पुग्न सोसाइटीलाई अर्को २२ वर्ष लागेको हो । १८७९ मा गरिएको निर्णयअनुसार प्रेसले ५ वर्ष लगाएर डिक्सनरीको पहिलो अंक प्रकाशन गरेको हो ।

सुरुमा सम्पादकहरूले डिक्सनरी चार वटा अंकमा छापिने र त्यसमा समावेश हुने शब्द र अर्थलाई अन्तिम रूप दिन दस वर्ष लाग्ने आकलन गरेका थिए । तर पाँच वर्षको अवधिमा उनीहरूले जम्मा ‘ए’ देखि ‘एन्ट’ सम्मका शब्द टुंगाएका हुन् । १८८४ मा ‘न्यु इंगलिस डिक्सनरी’ का नाममा प्रकाशित भएको डिक्सनरीमा ३ सय ५२ पेज थिए । त्यतिबेला यो ४ हजार प्रति बिक्री भएको थियो ।

सन् १९२८ सम्ममा दस अंक प्रकाशित भएका न्यु इंगलिस डिक्सनरीमा ४ लाख शब्द तथा वाक्यांशहरू समेटिएका थिए । सन् १९३३ मा भने यसको दोस्रो संस्करणअन्तर्गत १२ वटा अंक प्रकाशित गरिएको थियो । १९८९ मा उक्त डिक्सनेरी विभिन्न २० अंकमा प्रकाशित भएको थियो । अक्सफोर्डले १९८४ मा डिक्सनेरीलाई डिजिटल स्वरूपमा निकाल्ने निर्णय गरेका थिए । त्यसपछि १ सय २० जना टाइपिस्टले ५ वर्ष लगाएर तयार पारेको डिक्सनरी १९९२ मा सीडी रोममा सार्वजनिक गरिएको थियो । तर पछिल्लो समय भने हामीले डिक्सनरी अनलाइनमार्फत डाउनलोड गरेर प्रयोग गर्न सक्छौं ।

प्रकाशित : माघ १८, २०७९ ०८:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×