कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

आमिर खानलाई कहाँबाट आउँछ यो जोश ?

यज्ञश

आमिर खानले निर्देशन गरेको ‘तारे जमिन पर’ र अभिनय गरेको फिल्म ‘थ्री इडियट्स’ को मूल भनाइ थियो– छोराछोरीको काम मातापिताको सपना पूरा गर्ने होइन, उनीहरूलाई त्यसका लागि बाध्य पारिनु हुँदैन । ‘थ्री इडियट्स’ मा त यदि अभिभावकको दबाबमा कसैले आत्महत्या गर्छ भने त्यसलाई हत्या मानिनुपर्छ भन्ने तर्क थियो । यी दुवै फिल्म निकै मन पराइए ।

आमिर खानलाई कहाँबाट आउँछ यो जोश ?

यो साता आएको र तीन दिनमा सय करोड भारु कमाइ गरेको तिनै आमिरको फिल्म ‘दंगल’ मा चाहिँ आफ्नो सपना पूरा गराउन छोरीहरूलाई यातनासम्म दिन पछि नपर्ने पिताको कथा छ । यी दुवै कुरा एकैपटक ठीक हुन सक्छन् ? कथा काल्पनिक भए पनि तर्क काल्पनिक हुँदैन ।

एउटा फिल्मका लागि ९५ किलोसम्म वजन पुर्‍याएर, छ महिनामै फेरि धूवाँदार बडिबिल्डर बन्ने जोस ५१ वर्षीय सुपरस्टारलाई कसरी आउँछ ? ‘थ्री इडियट्स’ मा कलेज विद्यार्थी, ‘धुम ३’ मा डबल रोल, ‘पीके’ मा एलियन, ‘दंगल’ मा कुस्तीबाज आमिर अभिनीत भूमिकामा विविधता मात्रै छैन, लवज पनि फरक छ, एउटामा कलेज विद्यार्थीको भाषा, अर्कोमा भोजपुरी र अर्कोमा हरियाणवी ।

ज्यान बनाउनेदेखि, बोली टिप्नेसम्मको यस्तो जाँगर देखाउन सुपरस्टारलाई साँच्चिकै आवश्यक छ ? वा यही प्रश्नलाई अर्को कोण पनि हेर्न सकिन्छ । एउटा फिल्मले ५ सय करोड भारु कमाउँछ र त्यसमध्येको करिब १ सय करोड (करिब १ अर्ब ६० करोड नेरु) आफैंले पाउने भए यति मिहिनेत कसले गर्दैन ? अझै, फिल्मको निर्मातासमेत आफैं हुँदा त कमाइ यसको दोब्बर, तेब्बर हुन सक्छ ।

फिल्मको मार्केटिङका दृष्टिले स्टारको महत्त्व निर्देशक वा लेखकभन्दा ठूलो हुन्छ । यस्तोमा स्टारले नै मार्केटिङ गिमिक्सको जिम्मा लिनु के ठूलो भयो र ? त्यसमाथि आमिर परे मिहिनेत गर्न रुचाउने अभिनेता । आफूलाई फरक–फरक भूमिकामा ढालेर आफ्नो परीक्षण गरिरहने । यसै खुबीले उनी एउटै छविको बन्दी छैनन्, सीमा फैलिएको छ । अन्य अभिनेता र आमिरबीच एउटा फरक छ । उनी आफैं फिल्मको कथा र निर्माण प्रक्रियामा घुसेर काम गर्छन् । आफूले निर्वाह गर्ने भूमिकाका लागि पूरा तयारी गर्छन्, त्यसलाई विश्वसनीय र आकर्षक बनाउन अतिरिक्त मिहिनेत गर्छन् ।

यसैले उनलाई निर्देशकको काममा हस्तक्षेप गरेको आरोप पनि लागिरहन्छ । आफैंले निर्माण गरेको फिल्म ‘तारे जमिन पर’ मा त उनी यति धेरै हावी भए कि, पछि निर्देशकलाई नै हटाएर आफैंले निर्देशन गरे । फिल्मको पटकथादेखि, चरित्र निर्माण र प्रचारसम्ममै उनी सहभागी हुन्छन् । फिल्मको प्रचारमा पनि आमिर नयाँ नयाँ शैली भित्र्याउँछन् । यसैले त भारतमा पाँच सय र हजारका नोट नचल्ने भनेर हाहाकार भएको समयमा पनि उनको ‘दंगल’ ले सय करोड कमायो ।


एउटा फिल्मका लागि ९५ किलोसम्म वजन पुर्‍याएर, छ महिनामै फेरि धूवाँदार बडिबिल्डर बन्ने जोस ५१ वर्षीय सुपरस्टारलाई कसरी आउँछ ? ज्यान बनाउनेदेखि, बोली टिप्नेसम्मको यस्तो जाँगर देखाउन सुपरस्टारलाई साँच्चिकै आवश्यक छ ? ‘दंगल’ हेर्दा आमिर खानको मेहनत र लगाव फेरि पुष्टि हुन्छ ।

जबकि, यही समयमा आएको शाहरूख खानको फिल्म ‘डियर जिन्दगी’ ले दुई सातामा जम्मा ६५ करोड कमाउन सकेको थियो । यसैले त तिनै आमिरले बाबुआमाले छोराछोरीलाई आफ्नो सपनाको भारी बोकाउनु हुँदैन भन्दा पनि दर्शक सहमत हुन्छन् र उनैले आफ्नो सपना पूरा गराउन छोरीहरूलाई जबर्जस्ती पहलमान बनाएको पनि स्वीकार गर्छन् । छोरीहरूको बाल्यकाल हरण गर्ने खलनायक बाबु उनी बन्दैनन् । बरु, चलाखीपूर्वक यो बाबुलाई गीतबाट नयाँ विशेषण दिन्छन्, ‘हानिकारक बापु ।’

कुनै नयाँ कलाकारले यो भूमिकामा अभिनय गरेको भए सायद मेडल जित्ने छोरीहरू कथाको हिरो बन्थे होलान् । तर, यो खेलाडीभन्दा कोचको कथा हो । र, कोच छन् आमिर । अनि त जित्ने भन्दा जिताउने ठूलो हुने भइगयो । शाहरुख खानको ‘चक दे इन्डिया’ मा पनि यस्तै थियो ।

‘दंगल’ एउटा बायोपिक हो । कुस्तीमा देशका लागि अन्तर्राष्ट्रिय मेडल जित्ने आफ्नो अधुरो सपना आफ्ना छोरीहरूमार्फत पूरा गराउन लागिपरेको पहलमान महावीर सिंह फोगाटको जीवन कथा । केही वर्ष पहिले आमिरको टीभी कार्यक्रम ‘सत्यमेव जयते’ मा यी बाबुछोरीले आफ्नो कथा सुनाएका थिए । त्यही कथामा नितिश तिवारीले बनाएको यो फिल्म चार जना लेखकले मिलेर लेखेका हुन् । कुनै सन्देश समाजका लागि हानिकारक नभइन्जेलसम्म कुनै कलाकारले जस्तासुकै कथामा पनि अभिनय गर्न सक्छन् । चाहे ती उसका अघिल्ला फिल्मभन्दा विपरीत सन्देश वा दर्शन भएकै किन नहुन् । यदि यस्तो गर्नु हुँदैनथ्यो भने एउटा फिल्ममा नायक भएका कलाकारले अरूमा खलनायक वा नकारात्मक चरित्रमा अभिनय गर्न नपाउने नियम बनाउनुपर्ने हुन्छ । एउटा लेखकले जस्तो उपन्यास लेख्छ, जीवनभर त्यही र त्यस्तै कथामा मात्रै लेखिरहनुपर्ने हुन्छ । कलाकारको दृष्टिले हेर्ने हो भने त परस्परविरोधी भूमिकामा उत्तिकै विश्वसनीय हुन सक्नु उपलब्धि हो । दुई फरक निर्देशकले एउटै कथालाई फरक दृष्टिले प्रस्तुत गर्न सक्छन् । एउटै कथामा छोराछोरीको पक्षबाट र अभिभावकको दृष्टिबाट फरक फरक फिल्म बन्न सक्छन् । ‘दंगल’ वास्तविक जीवनकथा भएकाले यो अघिल्ला फिल्मभन्दा विपरीत हुन सक्छ । यी दुई दृष्टिमध्ये कुनचाहिँलाई पत्याउने वा मन पराउने भन्ने दर्शकको रोजाइको कुरा हो ।

‘दंगल’ बाबु–छोरीको सम्बन्धको कथा हो । बाबुको सपना र छोरीहरूको व्यथाबाट सुरु हुने कथा मध्यतिर पुग्दा यी दुईको ‘इगो’ को कथा बन्छ र अन्त्यमा इतिहास निर्माणको महान् गाथा ।

यो यस्तो गाथा हो, जुन छोरीको भ्रूण हत्या र प्रेम विवाहका नाममा हत्या गरिने ‘खाप’ प्रचलनमा रहेको क्षेत्रमा लेखिएको हो । हरियाणाको गाउँमा केटासँग आफ्ना छोरीलाई कुस्ती लडाउने बाबुको एउटै भनाइ छ, जब यिनले सफलता पाउने छन् त्यो नै सबैलाई जवाफ हुनेछ । तर, त्यो जवाफसम्म पुग्दा छोरीहरूले के–के त्याग गर्छन् भन्नेलाई चाहिँ फिल्मले खासै महत्त्व दिँदैन । क्यामेराको फोकस एकोहोरो बाबुको सपनामा मात्रै छ ।

कसैको असली स्वभावको विकास तबमात्र हुन्छ, जब ऊ आफ्नासँग अलग्गिएर कुनै नयाँ जीवनमा पुग्छ । जब यो सपनाको बाबुकी छोरी एकेडेमीमा पुग्छे र अर्कै कोचसँग प्रशिक्षण लिन थाल्छे, कथा भावनाको उत्कर्षतिर अघि बढ्छ । बाबुछोरीको दंगलदेखि टेलिफोन वार्तासम्मको केही मिनेट फिल्मको उत्कर्ष हो । संवादविहीन टेलिफोन ‘संवाद’ नै फिल्मको खास क्लाइमेक्स हो । अन्तिममा मेडल कसको गलामा हुनेछ भन्ने यही दृश्यमा थाहा भइसक्छ ।

भतिजोको आँखाबाट भनिएको ‘ताउजी’ को यो कथा परिवारको हिम्मत, साहस र एकताको पनि हो । छोरीको विवाह १४ वर्षकी हुनासाथ गर्न तयार हुने बाबुले भरिएको समाजमा छोरीलाई अन्तर्राष्ट्रियस्तरकी खेलाडी बनाउन तम्सिने बाबुको ठूलो सपनाको कथामा आफ्नो भान्सामा मासु पाक्न नदिने आमाको कथा हराएजस्तो लाग्छ । फिल्मको अन्त्यतिरको प्रसंगमा बाबुलाई कोठामा थुन्ने प्रसंग अनावश्यक लाग्छ ।

एक्सन फिल्ममा विश्वासिलो देखिनका लागि आमिरले ‘गजनी’ ताका सिक्स प्याक बनाउने चलन बलिउडमा भित्र्याएका थिए । त्यसयता थुप्रै बलिउड हिरोहरूले उनलाई फलो गरेर ज्यान बनाए । उनका समकालीन कति हिरोले बाबुको भूमिकामा अभिनय गर्न ज्यान बढाउलान् ? हेरौं ।

फिल्मका एक–एक दृश्यलाई विश्वसनीय बनाउन कलाकार, निर्देशक र लेखकले गरेको मिहिनेत स्पष्ट देखिन्छ । मूलपात्र र कथाभन्दा बाहिर एकछिन पनि फिल्म भट्किँदैन । हेर्दा सामान्य ‘खेल’ जस्तो लागे पनि खेलमा मानवीय भावना, जीतहार, खुसी र अवसादलाई एकैपटक मिश्रण गराउन सक्ने खुबी हुन्छ । यही भावनाका कारण एक जनाको खेल ठूलो समूहका लागि खुसी वा पीडाको विषय बन्न जान्छ । यदि त्यस्तै भावना फिल्मका कुनै पात्रका लागि दर्शकले महसुस गर्छन् भने त्यो निर्देशक सफल हुन्छ । ‘दंगल’ मा त्यो क्षमता छ ।

प्रकाशित : पुस १५, २०७३ १२:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?