नाचघरमा मिथिला महर्षि आउँदै- मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नाचघरमा मिथिला महर्षि आउँदै

कान्तिपुर संवाददाता

काठमाडौं — स्वार्थबिनाको संसार असम्भव छ । सामान्य व्यक्तिले यसो भन्यो भने त्यसको अर्थ अनेक लाग्न सक्छ ।

पौराणिक विद्वान् महर्षि याज्ञवल्क्यले उतिबेलै यसको पुष्टि गरिसकेका थिए । आफूले आफंैलाई चिन्नुपर्छ भन्ने उनको तथ्यपरक आदर्श थियो । यही आदर्श अब रंगमञ्चमार्फत प्रस्तुत हुने भएको छ । जमलस्थित नेपाल सांस्कृतिक संस्थान (नाचघर) ले यो पटक पौराणिक दर्शन बोकेको नाटक ‘महर्षि याज्ञवल्क्य’ मञ्चन गर्दै छ । कलाकारहरू यतिबेला पूर्वतयारीमा धमाधम जुटिरहेका छन् । 

संस्कृतिविद् सत्यमोहन जोशीले यो नाटक करिब ९ वर्षअघि नै लेखेका थिए । बद्री अधिकारीको निर्देशनमा यो नाटकले यतिबेला रंगमञ्चीय रूप पाउन लागेको हो । झन्डै पाँच महिनादेखि प्रशिक्षण चलिरहेको नाटक यही पुस १७ गतेदेखि मञ्चन हुने संस्थानका महाप्रबन्धक राजेश थापाले जनाए । ‘कम सुनिएको तर अत्यन्त अर्थपूर्ण यो नाटकलाई सबैसामु ल्याएर नयाँ बहस गर्न चाहेका हौं,’ उनले भने । उनका अनुसार बुद्ध र याज्ञवल्क्यउस्तै उद्देश्य बोकेका तर फरक तरिका अपनाउने व्यक्तित्व थिए । बुद्धले गृहस्थी त्यागेर ज्ञान प्राप्त गर्न सकिन्छ भन्ने धारणा राखे भने याज्ञवल्क्यले गृहस्थीसँगै जोडिएर पनि बुद्धत्व प्राप्त गर्न सकिन्छ भन्ने तर्क अघि सारे । 

नाटकमा उनै याज्ञवल्क्यको गृहस्थी जीवन जोडेर मनको चिन्तन व्यक्त गर्न खोजिएको छ । ‘व्यक्तिले आफ्नै प्रयोजनका लागि अरूसँग सम्बन्ध गाँस्छ र कुनै पनि स्वार्थबिना गतिविधि हुँदैन भन्ने विषय प्रष्ट पार्न नाटकले सघाउँछ,’ थापाले भने, ‘यसलाई पुष्टि गर्ने क्रममा याज्ञवल्क्यले पेस गरेका रोचक, वैज्ञानिक र तार्किक प्रयत्नहरू नाटकमा हुनेछन् ।’ दुई पत्नीका पति रहेका उनले घरकै सदस्यमार्फत आफ्नो ज्ञानको परीक्षण गरेका हुन्छन् । 

पौराणिक विषय समेटिएकाले नाटकको परिदृश्यसमेत प्राचीन स्वादको हुने थापाले जनाए । यो नाटक छनोट गर्नुको अर्को उद्देश्य राजनीतिक चेतना दिनु पनि रहेको उनले खुलाए । मिथिला नगरीमा प्राचीन सभ्यतादेखि याज्ञवल्क्यजस्ता दार्शनिकको समेत जन्म भएको थियो भन्ने इतिहास धेरैलाई थाहा छैन । तर, त्यही क्षेत्र अहिले किन वैचारिक दृष्टिले कमजोर ठानिँदै छ ? पौराणिक महत्त्व बिर्सन लागेका तराईवासीलाई यो नाटक देखाउन उत्तिकै आवश्यक रहेको समेत राजेशले दाबी गरे । 

नाटकमा अभिनय भने सबै युवा पुस्ताका छन् । सबैजना संस्थान बाहिरकै । नयाँ पुस्तालाई रंगकर्ममा प्रोत्साहन गर्न पनि संस्थान बाहिरको कलाकार खोजिएको उनले जनाए । नाटकमा विम्ब अधिकारी, सुरवी सापकोटा, अनु दाहाल लगायतले अभिनय गरेका छन् । 

प्रकाशित : पुस १४, २०७३ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्

हात्तीमाथि नक्कली मोदी

विमल खतिवडा

सौराहा — यहाँ जारी १३औं चितवन हात्ती महोत्सवमा बुधबार अघिपछिभन्दा दर्शकको भीड बढेको थियो । उद्घोषकले अघिल्लो दिन नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने भन्दै प्रचार गरेका थिए ।

दर्शकले होइन भन्दै उद्घोषकको कुरा पत्याएनन् । आउने को रै’छ, जिज्ञासा भने दर्शकको मनमा रहिरह्यो । त्यही जिज्ञासा मेटाउन बुधबार साँझसम्म महोत्सव स्थलमा दर्शकको भीड थियो । नेपाली मात्र होइन, विदेशी दर्शकसमेत झुम्मिएका थिए । 

साँझ ५ बज्न लाग्दा उद्घोषकले स्टेजबाट आउँदै हुनुहुन्छ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भनेका मात्र के थिए, दर्शकले चारैतिर आँखा डुलाए । स्टेजअघिको भागबाट हात्ती चढेर मोदीजस्तै अनुहारका व्यक्ति अघि बढेको दृश्य दर्शकले देखे । साँच्चै हो कि भन्दै उनीहरू आश्चर्यमा परे । उनी हात्तीबाट झरे । दर्शकदीर्घामा हात हल्लाउँदै स्टेजतिर लागे । दर्शकले नक्कली हो कि सक्कली भनेर छुट्याउन सकेनन् । केही दर्शकले भने ‘मनोज गजुरेलजस्ता छन्’ भन्दै आपसमा कुरा गरे । 

स्टेजमा पत्रकार रक्षा रेग्मीले उनलाई नेपालीमा एकोहोरो प्रश्न सोधिन् । त्यसको जवाफ उनले आडैमा रहेका दोभासेलाई सोधेझैं गरेर हिन्दीमा दिए । व्यंग्य नाकाबन्दीको समयमा भारतले गरेको अहसयोगमा केन्द्रित थियो । करिब एक घण्टासम्म उनले एकोहोरो प्रहसन प्रस्तुत गरिरहे ।

दर्शकदीर्घामा हाँसो गुन्जिरह्यो । मोदीको जस्तै भेष । उस्तै बोली । कार्यक्रमको अन्तिम समयसम्म केही दर्शकले उनलाई चिनेनन् । 

नक्कली मोदीको रूपमा स्टेजमा पुगेका मनोजले पनि अन्तिम समयसम्म पनि आफ्नो परिचय दिएनन् । परिचय नै नदिई मञ्चबाट बिदा भए । अघिल्लो दिन लोदोहोरी गायक बद्री पंगेनीले भावुक बनाएका दर्शकलाई मनोजले बुधबार हँसाएका हुन् । त्यस्तै, गायक मिलन लामाको ‘घरमा पराल बारीमा बन्सो...’ गीतमा पनि ननाच्ने दर्शक कोही भएनन् ।

सांस्कृतिक कार्यक्रमका संयोजक दीपक अधिकारीअनुसार महोत्सव अवधिभर गायक नेत्रजी पन्त, उमा गिरी, जुना डिसी, शान्तिश्री परियार, भुवन प्यासी, शैलेन्द्र सिंखडाले नचाउने र हँसाउनेछन् भने रत्ननगर एकेडेमीका कलाकारले नृत्यमार्फत दर्शकलाई थप मनोरञ्जन दिनेछन् ।

प्रकाशित : पुस १४, २०७३ ०९:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×