२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

पेरिसमा पनि मनाइयो फागु

ददि सापकोटा

पेरिस — फ्रान्सको राजधानी पेरिसमा फागु उत्सव हर्षोल्लासका साथ मनाइएको छ । फागु पूर्णिमा मनाउने कार्यक्रम गर्दै आएको नेपाली सांस्कृतिक गृहद्वारा आइतबार आयोजित कार्यक्रममा एक–अर्कालाई विभिन्न प्रकारका रंग र अबिर दलेर फागु उत्सव मनाइएका हुन् ।

पेरिसमा पनि मनाइयो फागु

फागु उत्सव नेपालीहरू मात्रै नभएर नेपाल र नेपालीलाई माया गर्ने फ्रान्सेलीहरूले समेत खुसियालीका साथ मनाए । उनीहरू नेपालीहरूसँगै रङ दलेर रमाएका थिए । फ्रान्सका विभिन्न स्थानबाट आएका नेपाली तथा नेपालप्रेमी फ्रान्सेलीहरू नेपाली गीत र संगीतमा रमाएका थिए ।

फागुको कार्यक्रममा नेपाली खानाको व्यवस्थासमेत गरिएकाले फ्रान्सेलीहरूले त्यसलाई नेपाली संस्कृति नियाल्ने मौकाका रूपमा लिए । गृहले फ्रान्समा सन् २००३ देखि फागु पूर्णिमा मनाउँदै आएको छ ।

फागु पूर्णिमाका लागि सरकारी बिदा दिने चलन फ्रान्समा नभएकाले फागु हलभित्र मनाउने गरिन्छ । कार्यक्रमको सुरूवात गर्दै गृहका अध्यक्ष सुरज श्रेष्ठले नेपाली संस्कृतिलाई विदेशमा पनि जीवन्त राख्न हरेक वर्ष फागु पर्व मनाउँदै आएको बताए । फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले नेपालमा तराईदेखि हिमालसम्म मनाइने यो पर्व प्रवासमा पनि फैलिँदै गएको बताए ।

प्रकाशित : चैत्र १२, २०८० ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?