कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

दूध किसानलाई बजार न मूल्य

सन्तानलाई विदेश जानबाट रोकेर कृषिमा लगाए पनि दूध बजारीकरण सहज नहुँदा किसान चिन्तित 

बागलुङ — जैमिनी नगरपालिका–८ छिस्तीका रघुनाथ पौडेलको गोठमा १० वटा दुहुना गाईभैंसी छन् । दैनिक ४० लिटर दूध उनले ५० किमि परको सदरमुकाम बागलुङ बजार पठाउँछन् । बजारमा १ सय २० रुपैयाँमा बिक्री हुने दूध उनले ८० रुपैयाँमा पठाउनुपर्छ ।

दूध किसानलाई बजार न मूल्य

पिकअप जिपमा राखेर पठाएको गाडी भाडा पनि उनैले तिर्छन् । यसरी तिर्दा उनलाई प्रतिलिटर बढीमा ७० देखि ७५ रुपैयाँ हात पर्छ । उनको गोठमा थप ९ वटा पाडापाडी पनि छन् । तिनको स्याहारमा घरका ४ जना निरन्तर खटिन्छन् ।

पौडेलले १० रोपनी जमिन भाडामा लिएर घाँस लगाएका छन् । निरन्तर खटिएर घाँस काट्ने, गोबर सोहोर्नेलगायतको कामबाट मात्र उनको व्यवसाय चलेको छ । भैंसी किन्न उनले पहल गर्दा गत वर्ष अनुदानका रूपमा भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र बागलुङबाट ५० हजार रुपैयाँ पाए । तर भैरहवा पुगेर एउटा भैंसी ल्याउँदा १ लाख ५० हजार खर्च भयो । ५० प्रतिशत अनुदान भने पनि उनले भनेजस्तो पाएनन् । तर पनि कृषि पेसामा भने रमाइरहेका छन् ।

छोरा रञ्जनलाई विदेश जानबाट रोकेर उनले कृषिमा लगाएका थिए । तर ग्रामीण क्षेत्रका किसानको दूध बजारीकरणमा साथ नपाउँदा दुःख पाएको उनको गुनासो छ । ‘बजारकै छेउमा भैंसी पालेकालाई त राम्रो छ तर गाउँमा बसेर केही गर्छु भन्नेलाई सास्ती मात्रै भयो,’ पौडेलले भने, ‘हामीलाई अनुदान होइन, उत्पादनलाई बजार पुर्‍याउने व्यवस्था हुनुपर्छ ।’ समयमा दूध बजारमा नपुग्दा नोक्सानी हुने दुःख भोगेको उनको गुनासो छ ।

बागलुङ नगरपालिका–१२ टाकुरीका किसान कृष्णप्रसाद लामिछानेले पनि यो सास्ती भोगेका छन् । दैनिक ४० लिटर दूध उत्पादन गरे पनि उनको दूध पोखरा पठाउनुपर्ने बाध्यता छ । सदरमुकाममा उनीहरूको दूध किनिदिने कोही भएन । पोखरास्थित सुजल डेरीले दुई दिनको एक पटक पुगेर टाकुरीस्थित कालीगण्डकी दुग्ध उत्पादक कृषि सहकारीको भवनबाट दूध उठाउने गर्छ । एक दिनभर डेरीमा दूध राख्ने काम चुनौतीको छ । फाट्ने डर हुन्छ । उनीहरूसँग पर्याप्त चिलिङ भ्याट छैन । त्यसैले दूध पटक पटक बिग्रेर हैरान भएको उनले जनाए ।

पोखरा पठाउनुपर्ने हुँदा किसानले उचित मूल्य पाएका छैनन् । स्थानीय मुक्तिराम आचार्यले प्रतिलिटर ६५ रुपैयाँ मात्रै लिएर दूध बेच्न बाध्य भएको गुनासो गरे । ‘हामीले किनेर खानुपरे १ सय २० पर्छ, तर ६५ रुपैयाँमा पठाउन बाध्य छौं ।’ त्यो पनि तीन महिना बाँकी राखेर मात्र डेरीले दूधको मूल्य भुक्तानी दिने गरेको छ । ‘हामीले फागुन पछिको भुक्तानी पनि पाएका छैनौं,’ उनले भने, ‘हामीले उचित मूल्य पनि पाएनौं, समयमा भुक्तानी पनि पाएनौं ।’ उत्पादन बजार पठाउन घटाएर दूध बेच्न बाध्य भएको उनले बताए ।

कालीगण्डकी सहकारीमार्फत किसानले दैनिक ८ सय लिटरसम्म दूध उत्पादन गर्छन् । दुई दिनमा १ हजार लिटर मात्रै पोखरा पठाउने गरेका छन् । बाँकी दूध फुटकर बेच्छन् । भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्रले किसानलाई उत्पादनमा आधारित अनुदान दिएको छ । तर दैनिक ५ सय लिटर मात्रै दूध पोखरा पठाएको बिलका आधारमा प्रतिलिटर दुई रुपैयाँ ५० पैसा अनुदान पाउने गरेका हुन् । बिक्रीको भ्याटबिलका आधारमा मात्रै अनुदान दिने कार्यविधिका कारण फुटकर ३ सय लिटर बेचेको अनुदान दिन नसकेको अस्पतालका ऋषिराम सापकोटाले जनाए ।

सबै दूध नियमित बेच्दा यातायातको सहुलियत पाउने आस गरेका किसानले फुटकरको प्रोत्साहन नपाएकाले नोक्सानी बेहोर्न बाध्य भएको गुनासो गरे । त्यसका लागि उचित व्यवस्थापन गरिदिन उनीहरूले केन्द्र र नगरपालिकामा पनि आग्रह गरेका छन् ।

प्रकाशित : असार ३, २०८१ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?