कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

खडेरीले रोक्यो रोपाइँ

स्थानीय भन्छन्– ‘पर्याप्त आकाशे पानी नपर्दासम्म रोपाइँ गर्न सकिन्न’

मुगु — लामो खडेरीले खोलामा पानीको सतह झन् घट्दै जाँदा स्थानीयलाई रोपाइँ गर्न मुस्किल भइरहेको छ । सोरु गाउँपालिकाको तलिलिब्रु, माथिलिब्रु, भादगाउँ, खातीकुयानी, स्यालधारालगायत बस्तीमा यति बेला धान रोपाइँको चटारो छ । गत असोजपछि खासै वर्षा नहुँदा खडेरीले खोलानालाको पानी सुक्दै गएको छ ।

खडेरीले रोक्यो रोपाइँ

पानी नपरेर हिउँदमा जलेका वनपाखा उराठलाग्दा देखिने गरेका छन् । स्थानीयले लिब्रुखोलाको पानी भागबन्डा गरेर धान रोप्ने प्रयास गरिरहेका छन् । ‘खडेरीले पाखो जमिनमा अन्नबाली लगाउने अवस्था छैन । खोलामा भएको थोरै पानीले धान रोप्न सुरु गरेका छौं,’ लिब्रु भादगाउँका अर्जुन बुढाले भने, ‘खोलाको पानी पनि सुक्न थालिसक्यो, वर्षा भएन भने रोपेको धान खेतमै सुक्ने अवस्था छ ।’

फोतु गाउँका २५ परिवारले भने अझै रोपाइँ सुरु गर्न सकेका छैनन् । यसपालि फोतुखोलाको पानी झनै सुकेको र अन्य कुनै स्रोत नहुँदा धान रोप्न नपाएको स्थानीय बताउँछन् । पर्याप्त आकाशे पानी नपर्दासम्म रोपाइँ गर्न नसकिने फोतुका अकबहादुर बुढाले सुनाए । ‘हिउँदमा हिउँ पनि आएन अहिलेसम्म वर्षा नहुँदा खडेरीले वनपाखा, खेतबारी जलिसके पानीका मुहान सुकिसके,’ उनले भने । नेरखोलाको पानी भाग लगाएर सोरु गाउँपालिका–५ नेरमा भने धमाधम रोपाइँ भइरहेको छ । गाउँका २ सय ५० परिवारले सहजै रोपाइँ गरिरहेको नेरका लछुमान बुढाले बताए ।

सोरुका सीप, पुरुमुरु, जिमा, कालै, तारापानी, गिलाहा, कच्चे, धैनकोट बस्तीमा रोपाइँको चटारो भइरहेको बुढाले सुनाए । खोलाको पानी भागबन्डा गरी स्थानीयले धान रोप्न थालेका हुन् । खडेरीले पानी सुक्दा दैनिक दुई/चार खेतमात्र रोप्नुपर्ने अवस्था आएको गिलाहा नुवाकोटका वीरबहादुर बमले जनाए । ०७९ असोज महिनाको भीषण वर्षासँगै आएको बाढीले पुरिएको ज्युलो पन्छाउँदै सोरुको कच्चे बासिन्दाले दैनिक तीन/चार परिवार गरी धान रोप्न थालेका छन् । बेर्नाको बीउ बढेर रोप्ने बेला खोलाको पानी सुक्दै गएपछि धैनकोट, जिमा र पुरुमुरु गाउँका किसानलाई धान रोप्न गाह्रो भएको छ । यो वर्ष धान, पाखोबारीमा कोदो, कागनो बाली लगाउन पनि कठिन भइरहेको जिमाका कर्णप्रसाद भट्टको भनाइ छ ।

खेतबारी सुक्खा भएपछि भिई गाउँका २ सय ७७ परिवार असार लाग्दासमेत अन्नबाली लगाउन नपाउँदा निराश छन् । ‘गाउँमा पिउने पानी छैन कसरी बाली लगाउने ?’ भीईका खडकराज बुढाले भने, ‘बारी सुकेर जोत्न नसकिने भएको छ । वर्षा नहुँदासम्म बालीनाली लगाउन सकिने स्थिति छैन ।’ पिउने पानीका लागि रातभर जाग्राम बस्नुपर्ने अवस्था आएको भिईका दलवीर कार्कीले बताए । छायानाथ रारा नगरपालिकाको कार्कीबाडा, चैन, तलितुम गाउँका स्थानीयले दैनिकजसो एक–दुई खेत रोप्न थालेका छन् । खोलाको पानी सुक्दै गएपछि रोपाइँ छोडेर पाखो धान लगाउने सुरमा छन् । यो वर्ष खडेरी देखिएको र किसानलाई कोदो, धान, कागुनो लगाउन गाह्रो भएको सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले जनाए ।

प्रकाशित : असार ३, २०८१ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?