कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२४

नयाँ वर्षमा ओलाङचुङगोला

आनन्द गौतम

ताप्लेजुङ — कुनै भवितव्य नभए फुङलिङ नगरपालिका-२ मेवाखोला हिल रिर्सोटका सञ्चालक सुरेश लिम्बु चैत ३० गते फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोलामा पुग्ने योजनामा छन् । साविकको वर्षलाई बिदाई गर्दै नयाँँ वर्ष २०८१ साललाई त्यही ओलाङचुङगोलाको भुमिबाट स्वागत गर्नेछन् ।

नयाँ वर्षमा ओलाङचुङगोला

पुरानो वर्षको बिदाई र नयाँ वर्षको स्वागतका लागि ओलाङचुङगोला पुग्ने उनको टिममा हुलाक लाइनका चन्द्र बुढाथोकी, जल तथा मौषम बिज्ञान बिभाग फिल्ड कार्यालय ताप्लेजुङका प्रमुख डेभिड ढकाल, हुलाक कार्यालयका प्रमुख नवराज गिरी लगायतको समुह छ ।

ओलाङचुङगोला जानकै लागि फुङलिङ नगरपालिकाका निवर्तमान नगर प्रमुख छत्रपति प्याकुरेलले पनि झोला मिलाइसकेका छन् । विगतको झल्को दिनेगरी ट्रेकिङ स्टीक टेक्दै, कालो चस्मा लगाएर तस्विर खिचाउने योजना छ उनको । कम्तिमा एक दर्जन साथीको साथमा जान उनले आफ्ना दौंतरीहरुको समुह बनाउँदै छन् ।

शिक्षण पेशामा रहँदा एक दशकबढी यही ठाउँमा बसेका उनले दिकिछ्योलिङ गुम्वाको छेउमा उभिएर साथीभाईलाई फोन गर्दै ल.. है..नयाँवर्षको शुभकामना भन्ने योजना बनाएका छन् । गुम्वा यहाँका वासिन्दाको आस्थाको धरोहर हो ।

आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दिपेन पोमु लगायतका जनप्रतिनिधिपनि नयाँँ वर्षको पहिलो घामको किरण ओलाङचुङगोलामै चुम्ने तयारीमा छन् । पहिलो पटक नयाँ गन्तब्यमा पुगेर नयाँ वर्ष मनाउने सोच बनाएका उनले आफ्नो सर्कलका साथीभाईलाई जाऔँ.. है.. गोला भनिरहेका छन् ।

चन्द्र, छत्र, दिपेन जस्ता थुप्रै ब्यत्तिहरुले नयाँ वर्षको गन्तब्य ओलाङचुङगोला बनाउनुको खास कारण त्यहाँ यातायातका साधन पुग्नु हो । सडक मर्मत गरिरहेको एसबीए एलाइट कम्पनीले चैत मसान्तसम्म ओलाङचुङगोलाको बस्तीमा साना सवारी साधनहरु (जीप, ट्याक्सी) पुग्ने जनाएको छ । बढीमा एक घण्टा पैदल यात्रा गरे पुग्ने ठाउँमा अहिलेनै पुगिसकेकाले योजना बनाउनेहरुले गाडीका कारण जान नसक्ने अवस्थापनि नरहेको फक्ताङलुङ गाउँपालिका-७ का वडाध्यक्ष छेतेन शेर्पा लामा बताउँछन् ।

धेरैले सुनेको तर कमैमात्रै मानिस पुगेको ओलाङचुङगोला ३१ सय मिटर उचाइमा छ । शेर्पा समुदाय मात्रैको बसोवास रहेको यहाँ ५६ घर धुरी छन् । अधिकांश घरधुरी ढुंगा र माटोले बनेका र काठको छानो भएका छन् । हरेकजसो घरको भित्र फराकिलो भएकाले एक घरले २० जनासम्म पाहुना राख्न सक्छन् । दुईवटा त गेष्ट हाउसनै छन् । पाँच सय/हजार जनालाई ब्यवस्थापन गर्न कठिन नहुने दावी वडाध्यक्ष लामाको छ । सदरमुकाम फुङलिङबाट ६३ किलोमिटर दुरीमा रहेको यहाँ विहान यात्रा सुरु गरे बेलुका बेलैमा सहजै पुगिन्छ ।'

सडकले नजिकिएको यो बस्तीबाट २२ किलोमिटरमा नेपाल र चीनको सिमाना टिप्ताला भज्याङ नाका छ । त्यहाँसम्म पुग्न एक दिन लाग्छ । तर ५३ सय मिटर उचाईमा रहेकाले एकदिन मौवाटारमा बास बसेर जान उपयुत्त हुने सुझाव स्थानीयको छ । ओलाङचुङगोलाबाट सिंजेमा ताल, साम्जो तालपनि नजिकैको दुरीमा छन् अर्थात् बस्तीबाट गएको रात ताल छेउको गोठमा बसेर भोलिपल्ट बस्तीमा फर्किन सकिन्छ ।

टिपताला भञ्ज्याङपनि बस्तीबाट दुईदिनको गन्तब्य हो । सिमाना टिप्ताला भञ्ज्याङसम्म गाडी पुग्न भने बैशाखभरजसो लाग्ने एसबीए एलाइट कम्पनीका प्रबन्धक राजीव लामिछाने बताउँछन ।

सिमावर्ती क्षेत्रमा चौरीको वथान, बन भेटाको जत्था, हिमाली सौन्दर्यता र तमोर नदीको उद्धगमस्थल देख्न पाइन्छ । सदरमुकाम फुङलिङवाटै तमोर नदीको किनारै किनार जाने भएकाले मुहानसम्म पुग्दाको सौन्दर्यता रमणीय छ । सन्दुक रुइट, ताम्ला उक्याव, तेञ्जीङ शेर्पा लगायतका नामचलेका ब्यत्ति जन्माएको पुरानो बस्ती भएकालेपनि ओलाङचुङगोला आफैंमा पर्यटकको रोजाइएको रुपमा रहेको छ ।

चार सय वर्ष पुरानो दिकीछ्योलिङ गुम्वामा दर्शन गर्ने चाहना जो कोहीले राख्ने गरेको ओलाङचुङगोलाका ब्यवसायी टाँसी शेर्पा बताउँछन । होमस्टेमा बस्न र लोकल खानेकुरा पाइने यहाँ पुग्दा र फर्कदा एकजनाको १० हजार हाराहारीमा खर्च हुने अनुमान स्थानीयको छ ।

‘सादा खाना तीन सय रुपैंयाले पाइन्छ, अहिलेसम्म चियाको मुल्य राखेका छैनौं,’ वडाध्यक्ष छेतेनले भने, 'तोङवा सुकुटीहरु बजारकै जस्तो १५०, २०० रुपैयाँ प्लेटले पाइन्छ ।’ बस्नको लागि एउटा कोठाको पाँचसय रुपैयाँदेखि एक हजारसम्म रहेको उनले बताए ।

प्रकाशित : चैत्र २१, २०८० १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?