प्रभु बैंकका सीईओ अशोक शेरचनविरुद्धको रिट खारेज

कान्तिपुर संवाददाता

काठमाडौँ — बैंकमा पुनः नियुक्ति बदरको माग गर्दै प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनविरुद्ध परेको रिट खारेज भएको छ । उच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र प्रकाश खरेलको इजलासले शेरचनलाई सीईओमा गरिएको नियुक्ति कानुनसम्मत रहेको ठहर गरी बुधबार रिट निवेदन खारेजीको फैसला गरेको हो । यद्यपि रिटको पूर्ण फैसला आइसकेको छैन ।

प्रभु बैंकका सीईओ अशोक शेरचनविरुद्धको रिट खारेज

शेरचनको नियुक्ति ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’ को प्रावधानविपरीत रहेको भन्दै अधिवक्ता अनिता थापा केसीले ०७९ माघमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेकी थिइन् । रिटमा नेपाल राष्ट्र बैंक, कम्पनी रजिस्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सिडिएस एन्ड क्लियरिङ र प्रभु बैंकका सञ्चालकलगायत १६ व्यक्ति तथा संस्थालाई विपक्षी बनाइएको थियो ।

प्रभु बैंकले र सेन्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरेपछि बैंक सञ्चालक समितिले शेरचनलाई नै प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनमा बैंकको प्रमुख कार्यकारी अधिकृत एउटै बैंकमा दुई कार्यकालभन्दा बढी नियुक्त हुन नपाउने व्यवस्था छ । उक्त ऐन ०७३ देखि कार्यान्वयनमा आएको हो ।

ऐन कार्यान्वयनमा आएपछि ०७९ माघमा भएको शेरचनको नियुक्ति दोस्रो कार्यकाल हो । यही आधारमा शेरचनको नियुक्ति कानुनसम्मत रहेको भन्दै रिट खारेज भएको हो ।

यद्यपि बैंक तथा वित्तीय संस्था मर्जर वा एक्विजिसनमा जाँदा सम्बन्धित पदमा पुनः नियुक्ति दिन/लिन कुनै बाधा नपुग्ने गरी राष्ट्र बैंकले सुविधा दिएको छ ।

प्रभुले सेन्चुरी प्राप्तिपछि 'प्रभु बैंक लिमिटेड’ को नाममा ०७९ पुस २६ देखि एकीकृत कारोबार सुरु गरेको थियो । यो फैसलासँगै मर्जर वा एक्विजिसनमा गएका अरु बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुलाई पनि लाभ पुगेको छ ।

प्रकाशित : कार्तिक १५, २०८० १८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?