कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

देशभर ५० प्रतिशत व्यापारिक सटर बन्द

दुई–तीन ठाउँमा व्यवसाय गर्नेहरूसमेत आर्थिक संकटमा, कोही व्यवसायबाटै पलायन, कोही विदेश जाने तयारीमा
सीमा तामाङ

काठमाडौँ — दोलखाकी मोनिका तामाङ जोरपाटीमा पार्लर चलाउँथिन् । १० वर्षदेखि जोरपाटी र बौद्धमा सटर फेरेर पार्लर चलाइरहेकी मोनिकाले दुई महिनाअघि पार्लर बेचिन् । ‘व्यापार नै नभएपछि ऋण लिएर किन चलाउनु भनेर पार्लर नै बेचें,’ उनले भनिन्, ‘आफ्नै व्यवसाय गर्ने भन्दै जहाँ सस्तो भाडा भयो, उतै सारें, तर पनि सकिनँ ।’ पार्लर बेचेर उनी अहिले विदेश जाने तयारीमा छिन् । ‘आफ्नै काम गरें, अरूकोमा पनि गरें, तर विदेश जानुको विकल्प रहेन,’ उनले भनिन्, ‘अहिले क्रोएसियाको भिसा कुर्दै छु ।’

देशभर ५० प्रतिशत व्यापारिक सटर बन्द

सात वर्षदेखि शंखमूलमा रेडिमेड पसल चलाइरहेकी उषा केसी पसल बेच्ने तरखरमा छिन् । कोरोना महामारीमा पनि भाडा तिर्न पुग्ने व्यापार भए पनि अहिले ठप्प नै भएको उनी सुनाउँछिन् । ‘सटर भाडा मासिक १५ हजार तिर्नै ऋण खोज्नुपर्ने अवस्था आयो, त्यसमाथि घरबेटी महँगी बढ्यो भन्दै भाडा बढाउने भन्छन्,’ उनले भनिन्, ‘ऋण खोजेर भाडा तिरेर बस्नुबाहेक विकल्प देखिनँ । त्यसैले ग्राहक खोज्दै छु ।’ अब स्वदेशमा आफ्नै व्यवसाय गर्दासमेत टिक्न नसकेकाले विदेश जाने तयारी गरिरहेको उनले सुनाइन् ।

अन्य बेला हुँदो हो त, भक्तपुरमा गाईजात्रा सकिनासाथ चाडपर्वको व्यापार सुरु हुन्थ्यो । तर यसपालि घटस्थापना आउन दुई साता मात्रै बाँकी हुँदासमेत बजारमा चहलपहल नभएको भक्तपुर रेडिमेड व्यापार संघका अध्यक्ष राजेन्द्रकुमार प्रज्ञापति बताउँछन् ।

‘व्यापार भएन भन्दै पसल छाड्नेको संख्या उस्तै छ, पसल खोले पनि व्यापार छैन भन्ने उस्तै छन्,’ उनले भने, ‘कति व्यापारीले भाडा नै नतिरेर घरबेटीलाई चाबी बुझाएर गएका छन् । कतिले सामान सकाउन घाटामा पनि बेचिरहेका छन् ।’ अहिले पनि २० देखि २५ वटा सटर ग्राहक पाउनासाथ बेच्ने तयारीमा रहेको उनको भनाइ छ । सरकारले भन्सार छुट दिएर र ऋण प्रवाह गरेर भए पनि व्यापार गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।

पछिल्लो समय धेरै व्यवसायी सुस्त आर्थिक गतिविधिको चपेटामा छन् । ०७२ को भूकम्प र अघोषित भारतीय नाकाबन्दीबाट ‘रिकभर’ भएका उनीहरू ०७६ चैतदेखि कोभिड, रुस–युक्रेन युद्ध, अन्तर्राष्ट्रिय बजारमा देखिएको महँगी र महँगो बैंक ब्याजदरका कारण समस्यामा छन् । मुलुक आयातमै निर्भर हुँदा धेरैजसो वस्तु महँगिएका छन्, जसले गर्दा व्यापार–व्यवसाय सुस्त छ । आर्थिक गतिविधि सुस्त छ । त्यसैले सटर भाडा तिर्न सक्ने अवस्थामा नरहेको उनीहरू गुनासो गर्छन् । फलस्वरूप व्यवसायी सटर बन्द गरेर विदेश पलायन हुन थालेको व्यवसायी बताउँछन् ।

मुलुकभर झन्डै ५० प्रतिशत व्यावसायिक सटर खाली रहेको नेपाल राष्ट्रिय व्यवसायी महासंघले जनाएको छ । यस्तो क्रम दिनदिनै बढ्दो क्रममा रहेको महासंघका निवर्तमान अध्यक्ष नरेश कटुवालको भनाइ छ । ‘वैशाखमा तथ्यांक संकलन गर्दा देशभर करिब ३५ प्रतिशत सटर बन्द भइसकेका थिए, अहिले विकराल बन्दै गएको छ,’ उनले भने, ‘दसैं–तिहारपछि झनै बढ्छ । रोकिएला भन्न सकिन्न ।’


रोजगार गुम्दै जानु, सहकारीबाट प्रवाह हुने साना ऋण रोकिनु, बैंकहरूले लगानी नपत्याउनुलगायत विविध कारणले व्यवसायी पलायन हुने क्रम बढिरहेको उनी बताउँछन् । ‘महासंघअन्तर्गत ३३/३४ वटा संगठन छन्, तिनमा करिब २० हजार सदस्य छन्,’ उनले भने, ‘यी सबै व्यवसायी मन्दीमा छन्, जसले गर्दा बाध्य भएर सटर खाली गरिरहेका छन् । कोभिडकै कारण व्यवसायी समस्यामा परे । तर राज्य संरक्षणतर्फ गएन ।’

बर्सेनि भन्सार दर बढाएर सरकारको ज्यादतीसमेत बढ्दै गएको कटुवालको भनाइ छ । नेपाल राष्ट्र बैंकले पनि नियमनकारी भूमिका निर्वाह नगर्दा व्यवसायी संकटमा परेको कटुवालको तर्क छ । ‘बैंकले मनोमानी ब्याजदर बढाउँदा हस्तक्षेप भएन । सटर भाडा पनि मनोमानी असुली भइरहेको छ, वैज्ञानिक भाडा दर लागू गरिएको छैन । प्रत्येक वर्ष १० प्रतिशतले भाडा दर बढाइन्छ,’ उनले भने, ‘यही कारण नयाँ व्यवसायी आउन सकेका छैनन् । पुराना व्यवसायी पनि हतोत्साहित छन् । त्यसैले भएका व्यवसायी पलाएन हुने क्रम बढेको हो ।’

काठमाडौं मलमा १८० सटरमध्ये ३१ वटा बन्द भइसकेको काठमाडौं मल व्यापार संघका अध्यक्ष शिव ढकालले बताए । ‘३१ वटा सटर बन्द भइसके । दसैं–तिहारपछि ५० प्रतिशत व्यापारी सटर बन्द गर्ने तयारीमा छन्,’ उनले भने, ‘व्यापार ठप्प छ । भाडा तिर्न पनि ऋण खोज्नुपर्ने अवस्था छ ।’ उपत्यकादेखि बाहिरका ठूला सहरमा एक घर छाडेर सटर बन्द भएको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्की बताउँछन् । ‘व्यापार एकदम धराशायी हुँदै गएको छ, बैंकको ब्याजले व्यवसायी डुबिरहेका छन्,’ उनले भने, ‘कोरोना महामारीदेखि ओरालो लागेको व्यवसायलाई बैंकको १६ प्रतिशत ब्याजदर, सटरको चर्को भाडा दर र भन्सार दरले झनै धराशायी बनाएको छ ।’

व्यापार व्यवसाय धराशायी हुँदा चाडपर्वलक्षित आयातसमेत घटेको उनको बुझाइ छ । ‘गत वर्षको तुलनामा २० देखि २५ प्रतिशत वस्तुको आयात नै घट्यो,’ उनले भने, ‘एक/डेढ वर्षदेखि सटर बन्द हुने क्रम बढ्दो छ ।’ बैंकलाई ६ महिना समय दिन आग्रह गर्दासमेत ३५ दिने सूचना निकालेर सम्पत्ति लिलाम गरिरहेको कार्कीले सुनाए । ‘एक करोडको सम्पत्ति ९/१० लाखमा लिलाम गरिरहेछन्, यस्तो अवस्थामा कसरी व्यापार व्यवसायमा लगानी गर्न सकिन्छ,’ उनले भने, ‘सहकारीहरूले गर्ने सानो लगानी पनि ठप्प छ ।’


बत्तीसपुतली–गौशाला व्यापार व्यवसायी संघले पनि पछिल्लो समय १० जना व्यवसायीले सटर खाली गरेको जनाएको छ । पसल खाली गर्नेमा नयाँ–पुराना सबै व्यवसायी रहेको संघका अध्यक्ष शेखरचन्द्र राईको भनाइ छ ।

‘आर्थिक कारोबार त्यति छैन । घरधनीले भने भाडा बढाएको बढायै छन्,’ उनले भने, ‘संघअन्तर्गत ३ सय सदस्य छन् । १० जनाले छाडिसके । अरू पनि तयारीमा छन् । दसैं–तिहारमा व्यापार बढ्नेभन्दा सटर बन्द गर्नेको ओइरो लाग्छ ।’ सहकारीले दिने स–सानो ऋण बन्द हुँदा पनि बजारमा आर्थिक चहलपहल सुस्ताएको राईको धारणा छ ।


प्रकाशित : कार्तिक ९, २०८० १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?