कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

निजी क्षेत्रको विद्युत् खरिदबारे छलफल हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले आवश्यक पर्दा मात्रै निजी क्षेत्रको बिजुली किनेको गुनासो बढेको भन्दै ऊर्जा मन्त्रालयले यसको सम्बोधनका लागि छलफल गर्ने भएको छ ।

निजी क्षेत्रको विद्युत् खरिदबारे छलफल हुने

दोर्दी करिडोरमा प्रसारण लाइनको समस्याका कारण सञ्चालित आयोजना पूर्ण क्षमता चल्न नसकेको, निजी क्षेत्रलाई विद्युत् उत्पादनमा लगानीका लागि सरकारले उत्प्रेरित गर्न नसकेको जस्ता प्रश्न उठेपछि यसको सम्बोधनका लागि छलफल गर्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले जनाए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत पदाधिकारीसँग शुक्रबार ऊर्जा मन्त्रालयमा भएको छलफलमा बस्नेतले सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै सबै समस्याको निरूपण हुने बताए । उनले आन्तरिक रूपमा पनि नदी करिडोरलाई केन्द्रमा राखेर ४ सय केभी क्षमताका ६ वटा प्रसारण लाइन निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको र त्यसले केही समयभित्रै सार्थकता पाउने जानकारी दिए । निजी क्षेत्रलाई पनि प्रसारण लाइन निर्माण तथा विद्युत् व्यापारमा सहभागी गराउने उद्देश्यका साथ सरकारले नीतिगत प्रबन्ध गर्न लागेको बस्नेतको भनाइ छ ।

महासंघका अध्यक्ष ढकालले प्राधिकरणले आवश्यक पर्दा मात्रै बिजुली किन्ने गरेकाले सबै उत्पादित बिजुली बिक्री गर्न नपाउँदा लगानीकर्ता समस्यामा परेको बताए । दोर्दी करिडोरमा प्रसारण लाइनको समस्याका कारण सञ्चालित आयोजना पूर्ण क्षमता चल्न नसकेको उनको भनाइ छ । अध्यक्ष ढकालले निजी क्षेत्रलाई लगानीका लागि सरकारले उत्प्रेरित गर्न ऊर्जामन्त्रीलाई आग्रह गरे । यस्तै, उद्योगी व्यवसायीले भोल्टेजको समस्या भोगेको तथा पटकपटक बत्ती काटिँदा औद्योगिक क्षमता घटेको र उपकरणमा समस्या देखिएको भन्दै तत्काल समाधान गर्न अध्यक्ष ढकालले आग्रह गरे । अध्यक्ष ढकालले मन्त्री बस्नेतलाई ऊर्जा उद्यमीले व्यहोर्नुपरेको समस्या समेटिएको ज्ञापनपत्र समेत बुझाएका थिए ।

प्रकाशित : श्रावण २७, २०८० ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?