२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

माछापालन र कृषितिर लागे ज्याक मा

एजेन्सी

काठमाडौँ — प्रविधि उद्योग सञ्चालनमा ख्यातीप्राप्त चिनियाँ धनाढ्य ज्याक मा हिजोआज कृषिसम्बन्धी परियोजनाहरूमा संलग्न छन् । ई-कमर्स जायन्ट अलिबाबाका सहसंस्थापक उनी पछिल्ला केही वर्षयता कृषि-प्रविधिसम्बन्धी अध्ययनमा जुटेका छन् । अहिले सेवा निवृत्त जीवन बाँचिरहँदा उनले एग्रो-टेक स्टार्टअपमा लगानी गरेको पाइएको छ ।

माछापालन र कृषितिर लागे ज्याक मा

हाङझोउ शहरमा सञ्चालित ‘१.८ मिटर्स मरिन टेक्नोलजी (जिजियाङ) को’ नामक नवप्रवर्तन व्यवसायमा ज्याक माको होल्डिङ कम्पनी ‘हाङझोउ दाजिङताउ नं २२ आर्टस एन्ड कल्चर को’ ले ८० प्रतिशत लगानी गरेको द साउथ चाइना मर्निङ पोस्टले जनाएको छ । सन् २०२० मा चीनका राज्य नियन्त्रित बैंकहरूलाई ‘कवाडी पसलेको मानसिकता भएका’ र चिनियाँ अधिकारीहरूले डिजिटल अर्थतन्त्रको व्यवस्थापन गर्न नजानेको जस्ता कडा अभिव्यक्ति दिएपछि उनी रहस्यमय तवरले गायब भएका थिए ।

सरकारको आलोचना गरेर सार्वजनिक जीवनबाट हराउँदादेखि नै उनले कृषि-प्रविधिमा अध्ययन थालेको बताइन्छ । तीन वर्षपछि हाल देखापरेका उनी एग्रो-टेक व्यवसायबारे बुझ्न पनि विभिन्न देश डुलिरहेका छन् । सन् २०२१ मा प्रविधि र कृषिको समायोजनले वातावरणमा पार्नसक्ने प्रभावको अध्ययनका लागि उनी स्पेन गएका थिए । यही विषयमा थप शिक्षित हुने ध्येयले उनी त्यसपछि नेदरल्यान्ड्स, जापान र थाइल्यान्ड गएको समाचार संस्थाहरूले जनाएका छन् । जापानमा उनले माछा र टुना पालनबारे अध्ययन गरेको र थाइल्यान्डमा स्रिम्प फार्मिङबारे बुझेका थिए । पछिल्लो समय उनी नेपाल, पाकिस्तान लगायत दक्षिण एसियाली देशहरूको पनि भ्रमणमा निस्किएका थिए ।

ज्याक माले लगानी गरेको एग्रो-टेक स्टार्टअपले मत्स्यपालन, जलाचरसम्बन्धी उत्पादन, आहार र प्रशोधनलगायत क्षेत्रमा काम गर्छ । कम्पनीको दर्ता पुँजी १ करोड ५० लाख अमेरिकी डलर रहेको बताइन्छ । यही वर्षको मे महिनादेखि टोकियो विश्वविद्यालयमा अध्यापन सुरु गरेका माले त्यहाँ दिगो कृषि र खाद्य उत्पादनबारे अनुसन्धानसमेत गर्ने विश्वविद्यालयले जनाएको छ ।

प्रकाशित : श्रावण १९, २०८० १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?