प्रतिस्पर्धामा छाड्दा घट्ला ऋणको ब्याज ?

बैंकहरूले यही असार ३१ सम्म साउनका लागि आ–आफ्नै किसिमले ब्याजदर निर्धारण गर्ने, विकास बैंक र फाइनान्स कम्पनी भने अन्योलमा
वित्तीय प्रणालीमा तरलता पर्याप्त रहेकाले धेरै बैंकले ब्याजदर बढाउने अवस्था छैन– सुनील केसी, अध्यक्ष, नेपाल बैंकर्स संघ
यज्ञ बञ्जाडे

काठमाडौँ — नयाँ आर्थिक वर्षको सुरुवातसँगै वाणिज्य बैंकहरूलाई स्वतन्त्र रूपमा निक्षेपको ब्याजदर निर्धारण गर्न बाटो खुलेको छ । बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले ब्याजदरमा यसअघि गरेको ‘भद्र सहमति’ तोडेपछि वाणिज्य बैंकहरू ब्याजदर निर्धारणमा स्वतन्त्र भएका हुन् ।

प्रतिस्पर्धामा छाड्दा घट्ला ऋणको ब्याज ?

पछिल्लो पटक संघले ०७८ पुसदेखि निरन्तर ब्याजदरमा ‘भद्र सहमति’ गर्दै आएको थियो । वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको भन्दै बिहीबार बसेको बैंकर्स संघको बैठकले यसअघिको ‘भद्र सहमति’ तोड्ने निर्णय गरेको हो । बैंकहरूले सिन्डिकेट गरेकाले ब्याजदर घट्न नसकेको आरोप लागिरहेका बेला संघले यस्तो निर्णय गरेको हो । यो निर्णयपछि अब बैंकहरूले यही असार ३१ सम्म साउनका लागि आ–आफ्नो ढंगले ब्याजदर निर्धारण गर्नेछन् ।

बजारमा पर्याप्त तरलता रहेको र ब्याजदर घट्दो क्रममा रहेकाले अर्थतन्त्रमा लगानी विस्तार गर्न निजी क्षेत्रलाई प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले ब्याजदरमाथिको ‘भद्र सहमति’ तोडिएको संघका अध्यक्ष सुनील केसीले बताए । ‘अब बैंकहरूले आफ्नो स्वविवेकले ब्याजदर निर्धारणको निर्णय गर्नेछन्,’ उनले भने, ‘वित्तीय प्रणालीमा तरलता पर्याप्त रहेकाले धेरै बैंकले ब्याजदर बढाउने अवस्था छैन, यद्यपि केहीले बढाउन सक्छन् ।’ पछिल्ला महिनामा अर्थतन्त्रका बाह्य सूचकांक सुधार आएको र वित्तीय प्रणालीमा पनि तरलताको अवस्था सहज रहेकाले नयाँ आर्थिक वर्षको सुरुवातसँगै लगानी विस्तारले गति लिओस् भन्ने उद्देश्यले ब्याजदर स्वतन्त्र छोडिएको उनको भनाइ छ ।

संघले ‘भद्र सहमति’ तोडे पनि विकास बैंक र फाइनान्स कम्पनी अन्योलमा छन् । असारका लागि ब्याजदर के गर्ने भन्ने सम्बन्धमा डेभलपमेन्ट बैंकर्स एसोसिएसन र वित्त कम्पनी संघले शुक्रबार छुट्टाछुट्ट्रै बैठक डाकेका छन् । यद्यपि वाणिज्य बैंकको संघले ‘भद्र सहमति’ तोडेपछि आफूहरूले निरन्तरता दिने कि नदिने भन्ने दबाब उनीहरूलाई छ ।

ब्याजदरमाथिको नियन्त्रण हटेपछि कर्जाको ब्याजदर घट्छ वा बढ्छ भन्ने चौतर्फी चासो छ । बजारमा तरलताको अवस्था र राष्ट्र बैंकको नीतिगत व्यवस्थाले गर्दा आउँदा महिनामा कर्जाको ब्याजदर घट्ने सम्भावना रहेको बैंकर्स संघका अध्यक्ष केसीले बताए । अहिले वित्तीय प्रणालीमा करिब ५ खर्ब रुपैयाँ बराबर लगानीयोग्य रकम छ । यही असार मसान्तसम्म वाणिज्य बैंकहरूले कर्जा र निक्षेपको ब्याज अन्तर (स्प्रेड) ४ प्रतिशतभित्रै कायम गर्नुपर्नेछ । निक्षेपको ब्याजदर घटिरहेकाले बैंकहरूको आधार दर घट्दो क्रममा छ । उल्लिखित कारणले आउँदा महिनामा कर्जाको ब्याजदर घट्ने सम्भावना बलियो रहेको केसीको भनाइ छ । गत वर्ष महँगो ब्याजदरमा संकलन गरेको मुद्दती निक्षेपको परिपक्वको अवधि अहिले सकिँदै छ । त्यसपछि उक्त निक्षेपको ब्याजदर घट्ने भएकाले बैंकको आधार दर घट्छ, त्यो पनि ऋणको ब्याजदर घट्नुको अर्को कारण भएको अर्का एक बैंकरले बताए ।

ब्याजदर निर्धारणमा स्वतन्त्र भए पनि धेरै बैंकले आउँदो साउनमा निक्षेपको ब्याजदर बढाउने सम्भावना नरहेको एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतको दाबी छ । ‘करिब १० वाणिज्य बैंकको पुँजी पर्याप्तता अनुपात साढे ८ देखि साढे ९ प्रतिशतसम्म छ । धेरै ऋण विस्तार गर्न ती बैंकले पुँजी बढाउनुपर्छ । नयाँ आर्थिक वर्षदेखि राष्ट्र बैंकले क्यापिटल साइक्लिङ बफर लागू गरेको अवस्थामा ती बैंकले कर्जा प्रवाह नै गर्न सक्दैनन् । यसकारण ती बैंकले महँगोमा निक्षेप संकलन गरेर फाइदा छैन । अब उनीहरूले निक्षेपको ब्याज घटाउन सक्छन्,’ ती अधिकारीले भने, ‘सरकारी बैंकको कर्जा निक्षेप (सीडी) अनुपात ७५/७८ प्रतिशत छ, उनीहरूलाई पनि निक्षेप चाहिएको छैन । यसकारण अवस्था राम्रो रहेका र अवस्था ठीक नभए पनि आक्रामक व्यवसाय गरिरहेका २/४ वटा बैंकले मात्र निक्षेपको ब्याज बढाउन सक्छन् ।’

समग्रमा असारमा निक्षेपको ब्याजदर नबढ्ने भएकाले बैंकहरूको आधार दर घट्ने र त्यसको असरले ऋणको ब्याजदर घट्ने सम्भावना रहेको बैंकरहरू बताउँछन् ।

राष्ट्र बैंकको पछिल्लो निर्देशनअनुसार अहिले आधार दरमा आएको परिवर्तनअनुसार बैंकहरूले हरेक महिना कर्जाको ब्याजदर पनि परिवर्तन गर्न पाउँछन् । यसअनुसार यही असारमा न्यून (०.१२ प्रतिशत बिन्दु) ले मात्र ऋणको ब्याजदर घटेको छ । आउँदो साउनमा पनि असारकै हाराहारीमा कर्जाको ब्याजदर घट्ने र भदौ, असोज धेरै करिब १ प्रतिशत बिन्दुले ब्याजदर घट्ने सम्भावना रहेको जानकारहरूको भनाइ छ ।

बैंकहरूले गत माघदेखि निक्षेपमा ब्याजदर घटाएपछि आधार दर क्रमिक रूपमा ओरालो लागेको छ । पुस मसान्तसम्म बैंकहरूले व्यक्तिगत मुद्दतीमा अधिकतम १२.१३३ तथा संस्थागतमा १०.१३३ प्रतिशतसम्म ब्याज दिँदै आएकामा माघमा घटाएर व्यक्तिगत मुद्दतीमा ११ र संस्थागत मुद्दतीमा ९ प्रतिशत कायम गरेका थिए । वैशाखदेखि भने वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दतीमा ९.९९ तथा संस्थागत मुद्दतीमा ७.९९ प्रतिशत कायम गरेका हुन् । यही असारसम्म पनि यी दर कायम थियो । अब भने बैंकहरूले साउनका लागि स्वतन्त्र रूपमा ब्याजदर तोक्नेछन् ।

राष्ट्र बैंकका अनुसार गत जेठमा वाणिज्य बैंकहरूको औसत आधार दर १०.१८ प्रतिशत छ । ०७९ जेठमा यस्तो दर ९.३९ प्रतिशत थियो । गत जेठमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ७.९९ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १२.५३ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्ता दर क्रमशः ७.३४ प्रतिशत र ११.५४ प्रतिशत थिए ।

प्रकाशित : असार २९, २०८० ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?