काठमाडौँ — जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा संसदीय दलका नेता उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र सभामुख देवराज घिमिरेलाई बुझाएका हुन् । पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रतिपक्षमा बस्नेबारे पनि यादवले संसद्लाई जानकारी गराएका छन् ।
यादवले सोमबार सभामुख घिमिरेलाई पत्र पठाएका हुन् । उक्त पत्रमा भनिएको छ, 'सरकारलाई जनता समाजवादी पार्टी, नेपालले समर्थन गरी सरकारमा समेत सहभागी रहेकोमा अब उपरान्त सरकारलाई दिइएको समर्थन फिर्ता लिई सरकारबाट समेत बाहिरिएकोले संसद्मा प्रतिपक्षमा नै बसी आफ्नो रचनात्मक भूमिका निर्वाह गर्ने बेहोरा जानकारीको लागि अनुरोध छ ।'
संविधानको धारा ७६ (२) बमोजिम बनेको सरकारबाट जसपा, नेपालले समर्थन फिर्ता लिएको हो । यादव नेतृत्वको पार्टीबाट अलग्गिएर ७ सांसदले अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी गठन गरेका छन् ।
