भरतपुरको औद्योगिक प्रदर्शनीमा मस्यौरादेखि मेसिनसम्म 

रमेशकुमार पौडेल

चितवन — भरतपुरमा शुक्रबारदेखि सातौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु भएको छ । स्थानीय उत्पादन मस्यौरा, माछाको सुकुटी, मह, केराका परिकार, फापरको पिठोदेखि अन्तर्राष्ट्रिय ब्रान्डका मेसिन तथा पार्टपूर्जा प्रदर्शनीमा राखिएका छन् ।

भरतपुरको औद्योगिक प्रदर्शनीमा मस्यौरादेखि मेसिनसम्म 

उद्योगमन्त्री रमेश रिजालले उद्घाटन गरेको प्रदर्शनी अइतबारसम्म चल्ने छ । चितवन उद्योग संघले प्रदर्शनी आयोजना गरेको हो । प्रदर्शनीमा देश विदेशका १५० वटा स्टलहरु रहेका छन् । ‘उद्योगहरुलाई चाहिने मेसिन र पार्टपूर्जाका स्टलहरु प्रदर्शनीमा छन् । भारत लगायत अन्य मुलुकका कम्पनीहरुको स्टल पनि छन्’ आयोजक संस्था चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले भने, ‘नेपाली उद्योगका उत्पादनहरु पनि राखिएका छन् । विशेषत: साना तथा मझौला र घरेलु उद्योगका उत्पादनहरु प्रदर्शनीमा समावेश गरेका छौं ।’ उनका अनुसार प्रर्दशनीमा प्रवेश निःशुल्क छ । प्रदर्शनी अवधिमा दुईवटा गोष्ठी पनि हुने छन् ।


‘वर्तमान औद्योगिक परिदृष्य, नेपालमा औद्योगिक विकासको सम्भावना र अवसर’ तथा ‘मेक इन नेपाल, स्वदेशी अभियान’का विषयमा गोष्ठी हुने संघका वरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद न्यौपानेले जानकारी दिए । सैद्धान्तिक तथा नीतिगत विषयमा चर्चा गर्नेदेखि उद्योगका लागि चाहिने मेसिन, औजार र प्रविधिसम्म प्रदर्शनीमा उपलब्ध हुने भएका कारण अवलोकनकर्ताहरु लाभान्वित हुने न्यौपानेले बताए ।



प्रकाशित : वैशाख २२, २०८० १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?