कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४३

पानी प्रशोधन केन्द्र निर्माण अलपत्र पार्ने चिनियाँ कम्पनीको ठेक्का रद्द

‘कोभिडका बेला ठेकेदार चीन गएपछि काममा आउन ढिला भयो, फर्केपछि पनि योजनाअनुरूप काम भएन, जसकारण ठेक्का नै खारेज गर्नुपर्‍यो’

काठमाडौँ — काठमाडौं उपत्यकाको फोहोर पानी व्यवस्थापनका लागि सरकारले थालेको फोहोर पानी प्रशोधन केन्द्र (उपचार पोखरी) निर्माण अलपत्र पार्ने चिनियाँ कम्पनीको ठेक्का रद्द गरिएको छ । सन् २०१३ मा नेपाल सरकार, एसियाली विकास बैंक र ओपेक कोषको आर्थिक स्रोत परिचालनमा सुरु भएको फोहोर पानी व्यवस्थापन आयोजना निर्माण कोभिडको कारण देखाउँदै निर्माण कम्पनीले काम रोकेको थियो ।

पानी प्रशोधन केन्द्र निर्माण अलपत्र पार्ने चिनियाँ कम्पनीको ठेक्का रद्द

आयोजनाअन्तर्गत पहिलो चरणमा धोबीघाटस्थित प्रतिदिन ३ करोड ७० लाख लिटर, बालकुमारीस्थित कोड्कुमा १ करोड ७५ लाख लिटर, सल्लाघारीमा १ करोड २२ लाख लिटर क्षमताको पानी प्रशोधन गर्ने गरी केन्द्र निर्माणाधीन छ । करिब ४ अर्ब रुपैयाँ लागतमा ‘साफबम’ नामक चिनियाँ निर्माण कम्पनीले सन् २०१७, मे ७ मा निर्माण थालेको हो । तीन वटा प्रशोधन केन्द्र निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनीले साढे २ वर्षमा सक्ने गरी ठेक्का सम्झौता भएको हो ।

कोभिड महामारीको कारण देखाउँदै काम छाडेर चीन फर्केका ठेकेदारले हालसम्म २७ प्रतिशत मात्र काम गरेको मेलम्ची खानेपानी उपआयोजना–२ आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) का आयोजना उपनिर्देशक चन्द्रकुमार पाँ श्रेष्ठ बताउँछन् । उक्त कम्पनीले केन्द्र निर्माणका लागि गाडेको फलामको फर्मासमेत निकालेर लगेको छ ।

‘कोभिड महामारीमा ठेकेदार घर फर्के, काममा फर्किन ढिला गर्‍यो,’ श्रेष्ठले भने, ‘फर्केपछि पनि योजनाअनुरूप काम गर्न सकेनन्, जसकारण ठेक्का नै खारेज गर्नुपर्‍यो । ढल प्रशोधन केन्द्रको कामलाई निरन्तरता दिन नयाँ ठेक्का प्रक्रिया थाल्दै छौं ।’ नयाँ कम्पनीले निर्माणाधीन कामलाई नै निरन्तरता दिने उनले जनाए । नयाँ ठेक्का प्रक्रियासँगै निर्देशनालयले स्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा थप बजेट मागेको बताएको छ ।

आयोजनाअन्तर्गत हनुमन्ते, मनोहरा र खस्याङखुसुङ नदीका दुवै किनारमा बस्तीबाट निकास हुने ढल संकलनका लागि करिब ४५ किमि ढलको पाइप बिछ्याउने काम भइरहेको छ । हनुमन्ते र मनोहरा खोला किनारामा ढल संकलनका लागि पाइप बिछ्याउने कामसमेत अवरुद्ध छ । ‘हनुमन्ते खोलामा जग्गा विवाद र मनोहरा खोला किनारको सुकुम्बासी बस्ती क्षेत्रमा पाइप बिछ्याउने काम रोकिएको छ,’ श्रेष्ठले भने ।

धोबीघाटका दुई प्रशोधन केन्द्रमध्ये एउटा सम्पन्न हुने अवस्थामा रहेको निर्देशनालयको भनाइ छ । ‘सीओसी’ नामक चिनियाँ कम्पनीले निर्माण थालेको केन्द्रको काम आगामी जुलाईभित्र सक्ने लक्ष्य छ । यसमा ९० प्रतिशत काम सकिइसकेको श्रेष्ठले बताए । गोकर्ण र हनुमानघाटमा थप प्रशोधन केन्द्र निर्माण प्रक्रिया सुरु भएको छ । गोकर्णमा दिनको ३० लाख र हनुमानघाट महेश्वरीमा १० लाख लिटर पानी प्रशोधन हुने गरी डिजाइन सुरु भएको निर्देशनालयले जनाएको छ । ‘डिजाइनको काम सकिइसकेको छ, अप्रिलभित्र स्ट्रक्चरको काम सुरु गर्ने लक्ष्य छ,’ उनले भने ।

‘टिम्स’ नामक चिनियाँ निर्माण कम्पनी र नेपाली कम्पनी बीसीपीएलको साझेदारीमा करिब ८० करोड रुपैयाँ लागतमा प्रशोधन केन्द्र निर्माण हुँदै छ । उपत्यका भएर बग्ने नदीहरूलाई ढलरहित बनाउने अभियानमा प्रशोधन केन्द्र निर्माण गर्न लागिएको हो । केन्द्र बनेपछि ढल सिधै खोला वा नदीमा नमिसाइने श्रेष्ठ बताउँछन् । प्रशोधन केन्द्रकै लागि खोला र नदीको दुवैतिर ढल संकलनका पाइप बिछ्याउने काम भइरहेको उनको भनाइ छ ।

सबै ढल प्रशोधन केन्द्रसम्म पुग्ने गरी एकीकृत ढल प्रणालीमा जोड्ने योजना छ । ढललाई प्रशोधन केन्द्रसम्म पुर्‍याएर विभिन्न चरणमा प्रशोधन गरिनेछ । त्यस क्रममा बायो ग्याससमेत निकालिनेछ । उक्त ग्यास प्रयोग गरेर बिजुली निकाल्ने योजना छ । निर्देशनालयले हनुमन्ते, मनोहरा र खस्याङखुसुङ खोला किनारमा इन्टसेप्टर जोड्ने काम गरिरहेको जनाएको छ ।

आयोजनाको प्रथम चरणमा गुह्येश्वरीको फोहोर पानी प्रशोधन दुई वर्षअघि नै सकिएको छ । तर अन्य प्रशोधन केन्द्रको निर्माण ढिलाइले गुह्येश्वरीमा प्रतिदिन ३ करोड २४ लाख लिटर फोहोर पानी प्रशोधन भए पनि प्रभावकारी छैन । ‘गुह्येश्वरीको पानी मात्र सफा भएर हुँदैन, सबै सहायक नदीबाट बग्ने पानी सफा हुनुपर्छ,’ श्रेष्ठले भने । गुह्येश्वरी केन्द्रमा वाग्मती नदीको उपल्लो तटीय गोठाटार, जोरपाटी र बौद्ध क्षेत्रबाट पाइपमार्फत ल्याइएको फोहोर पानीलाई केन्द्रमा स्थानान्तरण गरी प्रशोधन गरिन्छ ।

गुह्येश्वरी र पशुपति क्षेत्रको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्वलाई ध्यानमा राखी प्रशोधित पानीको गुणस्तर उच्च राख्न कोसिस गरे पनि अन्य प्रशोधन केन्द्रहरूको निर्माण ढिलाइले प्रभावकारी हुन नसकेको निर्देशनालयले बताएको छ । निर्देशनालयले प्रशोधन केन्द्रबाट निष्कासन हुने पानीको गुणस्तरका सूचक मापन गरी तोकिएको गुणस्तर कायम गरेर मात्र प्रशोधित पानी वाग्मती नदीमा मिसाउने गरेको जनाएको छ ।

प्रशोधित पानी वाग्मतीमा प्रवाहित हुँदा तल्लोतटीय क्षेत्रको नदीजन्य वातावरणमा सुधार आउने अपेक्षा गरे पनि प्रभावकारी भएको छैन । प्रशोधन केन्द्रमा जडित दुर्गन्ध न्यूनीकरण इकाईले फोहोर पानी प्रशोधनका बेला उत्पन्न हुने गन्ध नाश गर्छ । ‘भाटेज वावेग लिमिटेड इन्डिया’ नामक भारतीय निर्माण कम्पनीले प्रशोधन केन्द्रको निर्माण गरेको हो । करिब २ अर्ब ५५ करोड रुपैयाँ लागतमा बनाएको प्रशोधन केन्द्र उक्त निर्माण कम्पनीले १० वर्षसम्म सञ्चालन तथा मर्मत सम्भार गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ ।

फोहोर व्यवस्थापनमा सरकारले मात्र पहल गरेर नहुने जानकार बताउँछन् । ‘अझै पनि मंगल, खोला, नदीमा प्लास्टिक जन्य/ठोस वस्तु फ्याँकिरहेको छ,’ श्रेष्ठले भने, ‘मानवीय व्यवहारमै परिवर्तन आउनुपर्छ, चेतनाको स्तर वृद्धि गर्न जरुरी छ । घर बनाउँछौं, ढल खोलामा जोड्छौं । त्यो गलत हो ।’ प्रत्येक स्थानीय तहले फोहोर तथा ढल व्यवस्थापनमा कडाइका साथ योजनाअनुरूप काम गर्नुपर्ने उनको सुझाव छ ।

उपत्यका भएर बग्ने नदी सफाइका लागि निर्माणाधीन प्रशोधन केन्द्र पर्याप्त नभएको श्रेष्ठ बताउँछन् । विष्णुमती, धोबीघाट, टुकुचालगायत क्षेत्रमा थप प्रशोधन केन्द्र निर्माणका लागि अध्ययन भइरहेको निर्देशनालयले जनाएको छ । हाल उपत्यकाका नदीबाट फोहोर/बस्तीबाट निस्किएको ठोस पदार्थ (प्लास्टिकजन्य) फोहोरलगायत ढल बगिरहेको छ । उपचार पोखरी निर्माण भएपछि मात्र सफा पानी बग्ने निर्देशनालयको भनाइ छ ।

प्रकाशित : वैशाख १७, २०८० ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?