कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८४६

३ वर्षमा आधा सकिएको नागढुंगा सुरुङ १४ महिनामा पूरा होला ?

कोभिडको कारण देखाउँदै आयोजनाको म्याद एक वर्ष थप
विमल खतिवडा

काठमाडौँ — नागढुंगा–सिस्ने खोला सुरुङमार्गको सुरु ठेक्का सम्झौताअनुसार काम नसकिएपछि एक वर्ष म्याद थपिएको छ । ठेक्का सम्झौता सकिनै लाग्दा काम नसकिने देखिएपछि ०८१ वैशाख १२ सम्म म्याद थपिएको हो । निर्माण थालेको तीन वर्षमा भौतिक प्रगति ५०.१५ प्रतिशत मात्र पुगेको छ । सुरु ठेक्का सम्झौताअनुसारको म्याद ०८० वैशाखसम्म मात्र थियो ।

३ वर्षमा आधा सकिएको नागढुंगा सुरुङ १४ महिनामा पूरा होला ?

आयोजनाले द्रुत गतिमा काम भइरहेको दाबी गर्दै आए पनि काठमाडौंतर्फ मुआब्जा वितरण गर्न नसक्दा कामले गति लिन नसकेको हो । तोकिएको समयमा काम नसकिने भएरै म्याद थपिएको नागढुंगा–सिस्ने खोला सुरुङ आयोजनाका उपआयोजना निर्देशक माधवप्रसाद अधिकारीले बताए । ‘अहिलेसम्म प्रगति ५० प्रतिशत छ, बाँकी समयभित्र काम सक्ने अवस्था थिएन,’ उनले भने, ‘सरकारले समयमै काम नसकिएका आयोजनाको म्याद एक वर्ष थप्ने निर्णय गरेअनुसार नै यसको पनि थपिएको हो ।’ सुरु ठेक्का सम्झौताअनुसार यसको काम ४२ महिनाभित्र सक्नुपर्ने हो । तर समय सकिन दुई महिना बाँकी छ ।

काठमाडौंको बलम्बु क्षेत्रमा पर्ने घरका लागि २ करोड ३० लाख र जग्गाको मुआब्जा २३ करोड ५० लाख रुपैयाँ वितरण गर्न बाँकी छ । यसका लागि अर्थ मन्त्रालयसँग रकम निकासा माग गरिएको अधिकारीले बताए । ‘घरको क्षतिपूर्ति र मुआब्जा दिन रकम माग गरिएको छ,’ उनले भने, ‘अहिलेसम्म पैसा नआउँदा कामलाई निरन्तर रूपमा अघि बढाउन केही समस्या भएको छ ।’ अहिले दुई सिफ्टमा सुरुङ खन्ने काम जारी रहेको उनले जनाए ।

आयोजनाका अनुसार मुख्य सुरुङको दूरी २.६८८ किमि छ । यसमध्ये १८६९ मिटर खनिसकिएको छ । आपत्कालीन सुरुङ २१२७ मिटर खनिएको छ । समग्र सुरुङ खन्ने काम ७६.३० प्रतिशत सकिएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार अहिलेसम्म ३ वटा अन्डर पास, ४ वटा बक्स कल्भर्ट, एउटा ओभरपास र ३ वटा पुल निर्माण गरिएको छ । एउटा फ्लाइओभर निर्माण गर्नुपर्नेछ । त्यसको काम अघि बढे पनि मुआब्जाको समस्या कायमै रहेको आयोजनाले जनायो ।

‘ठेक्का लिने कम्पनीले असारभित्र सुरुङको ब्रेक थ्रु गर्छौं भनेको छ,’ अधिकारीले भने, ‘त्यहीअनुसार सुरुङ खन्ने काम भइरहेको छ ।’ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७६ कात्तिकमा सुरुङमार्गको शिलान्यास गरेका हुन् । यसको निर्माण जिम्मा जापानी कम्पनी हाज्मा एन्डोले लिएको छ । धादिङ र काठमाडौं दुवैतिर सुरुङ खन्ने काम जारी छ । ‘असारसम्म सुरुङ खन्ने काम सकिनेछ,’ अधिकारीले भने, ‘सुरुङबाटै सवारीसाधन सञ्चालन भने ०८१ साल वैशाखपछि मात्र हुनेछ ।’ अहिलेसम्म निर्माणमा १२ अर्ब २३ करोड ७७ लाख रुपैयाँ अर्थात् ५४.३९ प्रतिशत खर्च भइसकेको छ ।

थपिएको समयभित्रै निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए । ‘कोभिडका कारण आयोजनाको म्याद एक वर्ष म्याद थपिएको हो,’ उनले भने, ‘साढे दुई महिनादेखि मुआब्जाका लागि रकम निकासा नभएर समस्या भएको हो । बजेट चाँडो निकासा गरिदिन आग्रह गरेका छौं । अर्थ मन्त्रालय सकारात्मक छ । छिट्टै रकम निकासा भए काम अघि बढ्नेछ ।’

सुरुङ निर्माणमा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग छ । ठेक्का भने साढे २२ अर्ब रुपैयाँको हो । यसमा ६ अर्ब रुपैयाँ नेपाल सरकारको छ । चालु आर्थिक वर्षमा सुरुङ खनिसक्ने भन्दै ५ अर्ब २० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । सरकारले यसलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने भने पनि बजेट निकासा नहुनु, मुआब्जाको समस्या नटुंगिनुले भने समस्या भएको सडक विभाग स्रोतले जनायो ।

प्रकाशित : फाल्गुन ३०, २०७९ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?