ठेकेदार संसद्‌मा, सडक अलपत्र- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

ठेकेदार संसद्‌मा, सडक अलपत्र

केही ठाउँमा पर्खाल उठाएको , ग्राभेल तथा बेस बनाएको र सडकमा गिट्टी थुपारेर राख्नेबाहेक अरु काम भएन
आश गुरुङ

लमजुङ — रामेछापबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कांग्रेस सभापति पूर्णबहादुर तामाङ संसद्मा छन् । उनले निर्माण गरिरहेको सडक भने लमजुङमा अलपत्र अवस्थामा छ । क्व्होलासोंथार गाउँपालिका–१ बागलुङपानीदेखि वडा ३ घलेगाउँसम्मको सडक कालोपत्रको ठेक्का लिएका उनले ९ महिनायता काम नै गरेका छैनन् ।

केही ठाउँमा पर्खाल उठाएको, ग्राभेल तथा बेस बनाएको र सडकमा गिट्टी थुपारेर राख्नेबाहेक अरू काम नभएको स्थानीय बताउँछन् । तामाङको कम्पनी कान्छाराम–नाना जेभीले १० किमि सडक कालोपत्रका लागि ०७८ असोज ३० सम्म सक्ने गरी ०७६ असोज ३० मा सम्झौता गरेको थियो । भ्याटसहित ३४ करोड ७७ लाख रुपैयाँमा कालोपत्र गर्ने भनी सम्झौता गरेकामा सम्झौता सकिएकै १५ महिना कटिसकेको छ । कम्पनीले भने सडक कालोपत्र नगरी यत्तिकै छाडेको छ । ‘सडक बनाउँदैनन्, धूलो मात्रै उडाइएको छ । हिँड्न–बस्नै मुस्किल भयो,’ क्व्होलासोंथार–१ रापासिङकी सूर्यकुमारी गुरुङले भनिन् ।

काठमाडौं गएर निर्माण व्यवसायी सांसद तामाङलाई भेटेरै कुरा गरिएको पर्यटन व्यवस्थापन समिति स्मार्ट भिलेज घलेगाउँका अध्यक्ष एवं क्वहोलासोंथार गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रेमबहादुर घले बताउँछन् । ‘हामीले मुख्य मान्छेलाई नै भेटेर आएका हौं । अब सडक बन्ला भन्यो, आउँदै आउँदैन,’ उनले भने, ‘बाटो बनाउन बन्द भएको ९ महिना भयो । बाटो अलपत्र पर्‍यो । अब के गर्ने खोइ ?’

निर्माण व्यवसायी र उनका प्रतिनिधि कहिलेकाहीं मात्रै सम्पर्कमा आउने गरेको गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङको भनाइ छ । निर्माण व्यवसायी सम्पर्कमा आउन नचाहेको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख इन्जिनियर सुमन गिरीले बताए । मंसिर ४ को चुनावअघि सडकको काम भइरहेको र त्यसपछि भने अघि बढ्न नसकेको उनको भनाइ छ ।

‘कतिपटक सम्पर्क गर्‍यौं । पत्राचार गरेका छौं । तैपनि निर्माण व्यवसायी आएका छैनन् । प्रतिनिधि पनि आएका छैनन् । काम हुन सकेको छैन,’ उनले भने ।

बैंक धरौटी जफतका लागि बैंकलाई पत्र लेखिसकिएको गिरीले जनाए । म्याद एक पटक थप भइसकेको अवस्थामा पुनः म्याद थपका लागि व्यवसायीले निवेदन दिएको उनले बताए । निर्माण व्यवसायी प्रतिनिधि तेजबहादुर कार्की केही दिनअघि सम्पर्कमा आए पनि अहिले भने सम्पर्कमा छैनन् । निर्माण व्यवसायीले सडक निर्माण गरेबापतको १ करोड भुक्तानी लान बाँकी छ । कतिपय ठाउँमा वाल उठाएको, बेस बनाएको र ग्राभेल गरेको उनले बताए । ‘धेरै पटक फलो गर्‍यौं । काम भएको छ, तर कति प्रतिशत भन्ने यकिन छैन,’ गिरीले भने, ‘पछिल्लो समय भने काम भएको छैन ।’ बागलुङपानी–घलेगाउँ सडक कालोपत्रको काम भइरहेको छ । बागलुङपानीदेखि घलेगाउँसम्म कालोपत्र हुने सडकको चौडाइ ७ मिटरको हुनेछ । सडक चौडा पार्ने, पक्की नाला बनाउने, टेवा पर्खाल लगाउने कार्यक्रमसमेत छ । तर, कतिपय ठाउँमा पहिरो खसेपछि सडकमै सवारीसाधन गुड्न असुविधा भएको सवारी चालक रमेश गुरुङले बताए ।

प्रकाशित : माघ २०, २०७९ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्

अनुदानको बीउ उम्रेन

कान्तिपुर संवाददाता

सप्तरी — स्थानीय तहले अनुदानमा किसानलाई उपलब्ध गराएको गहुँको बीउ नउम्रिँदा सप्तरीका किसानको मिहिनेत र लगानी खेर गएको छ । बीउ छर्दाको खर्च र मलखाद खरिदमा लगाइएको लगानी खेर गएको भन्दै उनीहरूले क्षतिपूर्तिको माग गरेका छन् । 

सप्तरीको कञ्चनरूप नगरपालिकाले पालिकाभित्रका किसानलाई वितरण गरेको अनुदानको गहुँको बीउ नउम्रेको कृषकहरूले आरोप लगाएका छन् । अनुदानको बीउ राम्रो हुन्छ भन्ने सोचेर नगरपालिकाले दिएको बीउ खेतमा छर्दा गहुँ ५० प्रतिशत पनि नउम्रेको त्यहाँका किसानको भनाइ छ ।

कंचनरूप नगरपालिकाले केही दिनअघि ५० प्रतिशत अनुदानमा कृषकलाई गहुँको बीउ वितरण गरेको थियो । ‘५० प्रतिशत बीउ पनि उम्रेन,’ कञ्चनरूप–८ का किसान मुनेश्वर साहले भने, ‘गहुँ खेतको अवस्था हेर्दा रुन मन लाग्छ । कट्ठामा ८ किलोका दरले बीउ छरे पनि ५० प्रतिशतभन्दा बढी उम्रिएन । गुणस्तरहीन बीउ परेजस्तो छ ।’

गुणस्तरीय बीउको अभाव र रासायनिक मल नपाउँदा तथा सिँचाइ सुविधा नहुँदा खेती गर्नु चुनौतीपूर्ण रहेको किसान साहले बताए । ‘खेत तयार गर्दादेखि नै खर्च सुरु भइसक्छ । अनुदान बीउको उम्रने शक्ति हेर्दा लगानीबमोजिमको प्रतिफल आउन पनि समस्या छ,’ उनले भने, ‘जुन शंका थियो, त्यही भयो ।’ कञ्चनरूप–८ का किसान अजय मण्डलले खेतमा मिहिनेत गरेर छरेको बीउ मज्जाले नउम्रिँदा समस्या भएको बताए । ‘खेत पनि ओगटियो, गहुँ पनि राम्ररी उम्रेन, लगानी उठ्न पनि संकट हुनेजस्तो छ,’ उनले भने ।

सप्तरीको कञ्चनरूप नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई ४० किलो बराबरको ३ सय प्याकेट गहुँको बीउ वितरण गरेको थियो । २ हजार ८ सय ८० रुपैयाँ बोराको बीउ किसानलाई १ हजार ४ सय ४० रुपैयाँमा दिइएको नगरपालिकाले जनाएको छ । कञ्चनरूप नगरपालिकाका कृषि शाखा प्रमुख बेचन सढोक यादवले अनुदानमा वितरण गरिएको गहुँको बीउ नउम्रेको गुनासो कुनै पनि किसानले नगरेको बताए । उनले भने, ‘गहुँको बीउ नउम्रेको गुनासो लिएर कुनै किसान आएका छैनन्, यद्यपि, के भएको रहेछ हामी खोजीनिती गर्छौं ।’ अनुदानको बीउ अधिकांश खेतमा उम्रेको छैन । ‘अनुदानको बीउ छरिएको सबै खेतमा समस्या छ कि कुनै कुनैमा हामी छानबिन गर्छौं,’ उनले भने । कृषि शाखाका प्रमुख यादवका अनुसार नगरपालिकाले कृषि सामग्री कम्पनी लिमिटेड इटहरीबाट गहुँको बीउ खरिद गरी किसानलाई अनुदानमा वितरण गरेको थियो ।

प्रकाशित : माघ २०, २०७९ ०७:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×