भूकम्पपीडितलाई कामसँगै दाम- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

भूकम्पपीडितलाई कामसँगै दाम

हरिहरसिंह राठौर

स्यार्दुल (धादिङ) — भूकम्पपछि राहतको पर्खाइमा बस्दै आएका चेपाङ बस्तीका बासिन्दा यतिखेर गाउँको विकासमा सहभागी भएका छन् ।

उनीहरू भूकम्पले क्षतिग्रस्त स्थानीय ग्रामीण सडक, गोरेटो बाटोघाटो, खानेपानी, सिँचाइका साना योजनामा काम पाएपछि दंग छन् ।

काम गरेबापत नगद पाइने भएपछि धादिङका गजुरी, बेनीघाट र धुसा गाविसका स्थानीय बासिन्दा विकासमा सहभागी हुन हौसिएका हुन् । कामका लागि खाद्यान्न कार्यक्रम सुरु गरी विपद् व्यवस्थापन समितिले धादिङमा काम गरेर नगद लैजाने आपतकालीन खाद्य सुरक्षा तथा जीविकोपार्जन कार्यक्रम सञ्चालन गरेको हो ।

‘जिल्लास्थित विपद् व्यवस्थापन समितिले भूकम्पपीडित बस्तीहरूमा विकाससँगै जनताको हातमा नगद पर्ने कार्यक्रम नमुनाका रूपमा अघि सारेको हो,’ समितिका सचिवसमेत रहेका स्थानीय विकास अधिकारी भगवान् अर्यालले भने, ‘उपभोक्ता समितिहरूमार्फत योजना जिम्मा दिएर ठूला स्काभेटरलगायत उपकरण प्रयोग गरी विकास गर्नुभन्दा जनताकै प्रत्यक्ष सहभागितामा सानातिना विकास योजना निर्माण गर्नु राम्रो ठानेका छौं ।’

भूकम्पले क्षतिग्रस्त पीडितहरूले प्रयोग गर्ने स्थानीय विकास आयोजनाहरू निर्माण, मर्मत गर्ने काममा सबै पीडितलाई प्रत्यक्ष सहभागी गराउने कार्यक्रम छ । पीडितले २९ दिन काम गरेर करिब १५ हजार नगद पाउँछन् । यस कार्यक्रमबाट ३ गाविसमा २ करोडका दरले ६ करोड नगद रकम भूकम्पपीडितले पाउने छन् । स्थानीय योजना मर्मत गर्ने सबै औजारहरू पनि उपलब्ध गराइएको छ ।

कार्यक्रम लागू भएका ३ गाविसका एक घरबाट एक युवा, वृद्ध, महिलाहरूको सहभागिता हुने बताउँदै सामाजिक परिचालक सीता घलेले ३ गाविसका १५ समूहहरूमार्फत पृथ्वी राजमार्गसँग जोडिने ग्रामीण सडक, गोरेटो बाटो, साना सिँचाइ र खानेपानी मर्मतकार्य सञ्चालन भइरहेको बताइन् ।

घलेका अनुसार स्थानीय विकास निर्माण मर्मत गर्न सहभागी भएका ३ गाविसका ५ हजार घरधुरीमध्ये सुत्ेकरी अशक्त, वृद्धहरूले काम नगरे पनि नगद पाउने व्यवस्था मिलाइएको छ । कार्यक्रम लागू भएका ३ गाविसमा ६ सय जना सुत्केरी छन् । कार्यक्रमपश्चात युवाहरूलाई लघुउद्यम गर्न पनि प्रोत्साहन गर्न लगानी गरिने छ ।

देशभर विख्यात धुसा स्यार्दुलको नगदे बाली सुन्तलाका बगैंचाहरू ५ वर्षअघि रोगले सुकेर सखाप भएपछि स्थानीय किसान नगदे बालीका रूपमा बेमौसमी तरकारी खेतीमा लागेका छन् ।

‘विगत ५ वर्षदेखि बेमौसमी तरकारी खेतीमा लागेर बर्सेनि ३/४ लाख नगद कमाइ गर्ने धुसाका किसान ग्रामीण सडक मर्मत सुधार भएपछि कृषिजन्य उत्पादन राजमार्गमा ढुवानी गर्न सहज हुने छ,’ धुसा ८ का युवा सञ्जय सिलवालले बताए ।

प्रकाशित : पुस १६, २०७२ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्

पीडालुसँग चामल

विमल खतिवडा

कोराक (चितवन) — कोराक ६ स्थित नौलपुरका कामधन चेपाङले यो बर्ष ३ क्विन्टल पिँडालु फलाए । बिक्रिका लागि बजार जानु परेन । गाउँमै चामलसँग पिँडालु साटे । तीन क्विन्टल पिँडालुबाट उनले २ क्विन्टल १० केजी चामल पाए ।

‘पहिला मकै कोदो फलाउँदा खान पुग्दैन थियो,’ उनले भने, ‘अहिले समस्या छैन, पिँडालु लगाउन थालेपछि अनिकाल टरेको छ ।’ पहिला असोजबाट अनिकालले सताउने गर्थ्यो । १० जनाको परिवार पाल्न उनलाई समस्या थियो ।

‘पिँडालु फलाएपछि गाउँमै चामल आइपुग्छ,’ उनले भने, ‘त्यही भएर पिँडालु अहिले अनिकाल टार्ने माध्यम बनेको छ ।’ यसरी व्यावसायिक रूपमा पिँडालु लगाउन थालेको ३ वर्षभन्दा बढी भएको उनले बताए । उनले मात्र पिँडालु लगाएका छैनन् ।

कोराकको ४, ५ र ६ र त्यस्तै सिद्धिको ३, ४ र ५ वडामा लगाइएको पिँडालु एकै ठाउँमा जम्मा गरेर गाउँलेलाई चामल उपलब्ध गराउने गरिएको छ ।

गाउँलेले फलाएको पिँडालु जम्मा गरेर बजारमा लगी बिक्री गर्ने गरिएको पिँडालु संकलनकर्ता अर्जुन चेपाङले बताए । ‘पैसा दिँदा किलोको २५ रुपैयाँ पर्छ,’ उनले भने,‘ पैसा लिनेभन्दा चामल लिने धेरै छन् ।’

उनका अनुसार ५० किलो पिँडालुको ३५ किलो चामल दिने गरिएको छ । पहिला गाउँलेले डोकोमा बोकेर जिल्लाको पर्सा, बीरेन्द्रनगर, खुरखुरे बजार लगेर बिक्री गर्ने गर्थे ।

अहिले गाउँमै मोटरबाटो पुगेपछि काठमाडौं, पोखरा लग्ने गरिएको छ । पुस पहिलो साताबाट यसको बिक्री सुरु गरिन्छ । अहिले गाउँलेलाई चामलसँग पिँडालु साट्न भ्याइनभ्याई छ । माघे संक्रान्तिमा यसको माग बढी हुने भएकाले गाउँलेको पिँडालु जम्मा गरेर माग भएको बजारमा पुर्‍याउने गरिन्छ ।

प्रकाशित : पुस १६, २०७२ ०९:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×