कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जताततै मौलाउँदै कालोबजारी

प्रशान्त माली

ललितपुर — इन्धन अभावका कारण ढुवानी भाडा महँगो परेको भन्दै जिल्लामा मौलाउन थालेको कालोबजारी नियन्त्रण गर्नेतर्फ कुनै निकायले ध्यान नदिएको गुनासो स्थानीयवासीले गरेका छन् ।

जताततै मौलाउँदै कालोबजारी

कालोबजारी नियन्त्रण गर्ने वाणिज्य विभागअन्तर्गतको निकायमा बजार संरक्षण अधिकृत पद करिब दुई महिनादेखि रिक्त छ । जिल्ला प्रशासनले समेत प्रभावकारी अनुगमन गर्न नसक्दा कालोबजारी गर्नेलाई थप बल पुगेको स्थानीयवासी बताउँछन् ।

वाणिज्य विभागका निर्देशक हरिनारायण बेल्बासेले बजार संरक्षण अधिकृत पठाउन गृहकार्य भइरहेको बताए । ‘जनशक्ति अभावका कारणले कर्मचारी पठाउन नसकिएको हो,’ उनले भने, ‘बजार संरक्षण अधिकृत भएर जानेलाई सेवा, सुविधा नहुँदा कोही जान चाहँदैन ।’ 
नेवारले मनाउने योमरीपुन्हीलगायत चाडपर्व नजिकिँदा ग्यास, पेट्रोल, खाद्यान्न, लत्ताकपडाको मूल्य अत्यधिक वृद्धि भएको छ । बजारमा अहिले ग्यास प्रतिसिलिन्डर आठदेखि नौ हजार, पेट्रोल प्रतिलिटर साढे चार सयमा खुलेआम बिक्री भइरहेको छ । कालोबजारीका कारण चामलमा प्रतिबोरा दुई सय रुपैयाँ र कपडामा दुई सय प्रतिशतसम्म मूल्यवृद्धि भएको उपभोक्ताको गुनासो छ ।

लगनखेल, कुमारीपाटी, जावलाखेल, पुल्चोक, मंगलबजार लगायत मुख्य व्यापारिक केन्द्रमा कालोबजारी भइरहेको छ । दैनिक जीवनमा बढी खपत हुने आलु, प्याज, लसुन, अदुवा, चामल, दाल, तेलको मूल्य आकासिएको छ । नाकाबन्दीअघि बजारमा एक सय ५० रुपैयाँमा पाइने रहरको दाल अहिले तीन सय पुगेको छ । 

खाद्य तेल एक सय ४५ बाट तीन सय रुपैयाँ लिने गरिएको छ । चनामा प्रतिकिलो ५० भन्दा बढी, चामलमा एक सय ५० देखि दुई सय, तेलमा शतप्रतिशत र गोलभेडामा पाँच गुणासम्म मूल्यवृद्धि भएको छ । काँचो सुन प्रतितोला बजार मूल्यभन्दा तीन सय रुपैयाँ र चाँदीमा १० देखि १५ प्रतिशतसम्म बढी मूल्य लिने गरेको पाइएको छ ।

कालोबजारसम्बन्धी ऐनअनुसार सरकार वा उत्पादक, सञ्चालक वा मुख्य वितरकले निर्धारण गरेको मूल्यभन्दा बढी लिई कसैले कुनै वस्तु बिक्री गरे सो फिर्ता गराई वा वस्तु जफत गरी निजलाई १० वर्षसम्म कैद सजाय र जरिवानासमेत हुन सक्छ । 
यस्तै सरकारले तोकेको कुनै मालवस्तुको व्यापार गर्ने व्यक्तिले प्रचलनअनुसार सामान्यत: सयकडा २० भन्दा बढी मुनाफा लिएको अवस्था वा अभावको लाभ उठाएर उक्त वस्तुको अनुचित नाफा लिई बिक्री गरे निजलाई पाँच वर्ष कैद वा जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ । 

प्रमुख जिल्ला अधिकारी ऋषिराज शर्माले तत्काल प्रभावकारी अनुगमन थालिने बताए । ‘अनुगमनका लागि हामी सबै व्यवस्था मिलाउँदै छौं,’ उनले भने, ‘अब हरेक दिन अनुगमन गर्ने छौं ।’

प्रकाशित : पुस १५, २०७२ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?