कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतीय सिमेन्टमा निर्भरता घट्यो

शंकर आचार्य

पर्सा — स्वदेशी सिमेन्टको गुणस्तर र विश्वसनीयता बढ्दै गएपछि भारतीय माथिको निर्भरता घटदै गएको छ । स्वदेशी सिमेन्टले बजार लिएपछि आयात उल्लेखनीय रूपमा घटेको हो ।

भारतीय सिमेन्टमा निर्भरता घट्यो

२ वर्ष अघिसम्म पनि स्वदेशी बजारमा भारतीय सिमेन्टको वर्चश्व देखिन्थ्यो । यसै अनुपातमा भारतबाट आयात घट्दै गए केही वर्षभित्रै मुलुक सिमेन्टमा आत्मनिर्भर बन्ने व्यवसायी बताउँछन् ।

वीरगन्ज भन्सार कार्यालयको तथ्यांकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष तयारी (खैरो) सिमेन्टको आयात झन्डै ४ गुणा घटेको छ । अघिल्लो आर्थिक वर्षमा ५९ करोड ६ लाख ६८ हजार रुपैयाँ बराबरको ६ करोड ९२ लाख ६१ हजार किलो तयारी सिमेन्ट आयात भएको थियो । गत वर्ष १४ करोड ४४ लाख रुपैयाँ बराबरको १ करोड ५५ लाख ८० हजार किलो मात्र आयात भएको छ ।

बारा–पर्सा औद्योगिक करिडोरस्थित स्टार सिमेन्ट उद्योगका व्यवस्थापक राजेश क्याल भारतीय सिमेन्टको तुलनामा सस्तो र गुणस्तरीयसमेत भएकाले स्वदेशी उपभोक्ताले यहीँको उत्पादन रोज्न थालेको बताउँछन् । करिडोरमा मात्रै नारायणी, जगदम्बा, स्टार, शालिमार, अम्बेसमेत गरी ९ सिमेन्ट उद्योग सञ्चालित रहेको उनले बताए । निकट भविष्यमा करिडोरमा अर्को सिमेन्ट उद्योग थपिने क्रममा रहेको उनले बताए ।

‘सबै उद्योगले आन्तरिक मात्र नभई भारतीय सिमेन्टसँग पनि प्रतिस्पर्धा गर्न आफ्ना उत्पादनलाई गुणस्तरीय बनाउने र सस्तो मूल्यमा बिक्री गरिरहेका छन्,’ उनले भने, ‘स्वदेशमा सिमेन्टको कच्चा पदार्थ क्लिंकरसमेत उत्पादन हुनु, उद्योगहरूले प्रतिस्पर्धा गर्न नयाँ मेसिन थपिएकाले विश्वसनीयता र माग बढ्दै गएको छ ।’ अहिलेसम्म यस क्षेत्रका प्राय: सबै उद्योगको दैनिक उत्पादन क्षमता २ देखि १ हजार टनसम्म रहेको उनले बताए । माग र बजार विस्तार हुँदै गएकाले उत्पादन क्षमता बढाउने प्रयास गरिरहेको बताए ।

नारायणी सिमेन्ट उद्योग प्रालिका महाप्रबन्धक उमेशचन्द्र ठाकुर स्वदेशमा क्लिंकरको सर्वसुलभ उपलब्धता बढ्दै जानु र उपभोक्ताले पनि स्वदेशी उत्पादनलाई नै प्राथमिकता दिन थालेपछि भारतबाट तयारी सिमेन्टको आयात प्रतिस्थापन हुँदै गएको बताउँछन् । नेपालमा सिमेन्टको माग र बजारमा सुधारमा आउँदै गएकाले थप एक दर्जन सिमेन्ट उद्योग स्थापनाको क्रममा रहेको उनले बताए । तीमध्ये ४/५ उद्योग पाइपलाइनमा रहेको समेत ठाकुर बताउँछन् ।

‘स्वदेशी मात्र नभई विदेशी लगानीका पनि ठूला उद्योगहरू स्थापनाको क्रममा छन्,’ उनले भने, ‘तीमध्ये चिनियाँ र अफ्रिकी लगानीकर्ताको लगानीमा ठूला सिमेन्ट उद्योग स्थापना हुँदै छन्, त्यसपछि भारतीय सिमेन्टको आयात झनै घटेर सिमेन्टमा नेपाल आत्मनिर्भर बन्ने छ ।’


 

 

 

 

प्रकाशित : आश्विन १२, २०७२ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?