१५.४४°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८७

पितृसत्ताका पीडा

पितृसत्ताले पुरुषलाई भावनात्मक रूपमा पङ्गु बनाइदिन्छ । उसका भित्री इच्छालाई स्वतन्त्र रूपमा प्रयोग गर्न सक्‍ने अधिकारमा नियन्त्रण गर्छ ।
रेणु अधिकारी

पितृसत्ता भन्नेबित्तिकै पुरुषको शासन चल्ने सत्ता बुझिन्छ । अहिलेसम्म पितृसत्ता नै महिलामाथि हुने हिंसाका लागि जिम्मेवार छ भनेर बुझ्ने पनि गरिएको छ । देशभर महिलामाथि भएका हिंसाका कुरा गर्दा करिब ८५ प्रतिशत महिला पुरुषबाटै पीडित छन् । गहिरो गरी हेर्ने हो भने यो पितृसत्ता समग्रमा समानताविरोधी, सामाजिक न्यायमा आधारित संरचनाद्वेषी भन्‍यो भने अत्युक्ति हुँदैन ।

पितृसत्ताका पीडा

यस्तो खाले सत्ताबाट महिला मात्रै पीडित हुँदैनन् । सबै लिंगका व्यक्ति तथा राज्य नै पीडित हुन्छन्‌ । हाम्रोजस्तो मानवअधिकारमुखी संविधान भएको देशमा यस्‍तो खाले सत्ता रहुन्‍जेलसम्म कुनै पनि सरकारले संविधानमा निर्देशित समानतामा आधारित समाजवादउन्मुख समाज तथा अर्थव्यवस्‍था निर्माण गर्न सक्दैन ।

अमेरिकन अश्वेत महिलावादी लेखिका बेल हुक्सको शब्दमा पितृसत्ता अहिलेको विश्वमा पुरुषको शरीर र आत्मालाई प्रहार गर्ने, उनीहरूको जीवनलाई नै खतरामा पार्ने खतरनाक सामाजिक रोग हो । तर पनि पुरुषहरू यो शब्दको प्रयोग गर्दैनन् । यसले आफूलाई कस्तो प्रभाव पारेको छ भन्ने विश्लेषण गर्न चाहँदैनन्‌, बरु यो शब्दलाई नै आफूहरूमाथि महिलाद्वारा प्रहार गरिने शब्दका रूपमा लिने गर्छन्‌ । यसको प्रत्यक्ष उदाहरणका रूपमा अहिले हाम्रो देशमा रहेका केही पुरुषको मानसिकता र व्यवहारलाई लिन सकिन्छ । हाम्रो समाजमा धेरै त्यस्ता पुरुष देखिन थालेका छन्, जसमा असुरक्षा बढ्‍दो छ । विशेषतः बाहिर काम गर्ने, पढेलेखेका, आफ्नो अधिकारको वकालत गर्न सक्ने महिलासँग जोडिएका पुरुषहरूको यस्तो अवस्‍था छ । उनीहरू यस्तो कमजोरीबाट छुटकारा पाउन समाजमा स्थापित सामन्ती पुँजीवादी पितृसत्तात्मक संरचनाले दिएको अधिकार प्रयोग गर्दै महिलालाई नियन्त्रण गर्न खोज्छन् । यसका कारण उनीहरूको घरमा हिंसा र कलहले स्थान पाएको छ । घरमा बच्चाहरू छन् भने उनीहरू प्रभावित भएका छन् । समग्रमा परिवार नै प्रभावित भइरहेको छ । सबभन्दा बढी त पुरुषको छवि, स्वास्थ्य र गुणस्तरीय जीवन सबै प्रभावित छ ।

मैले केही दिनअघि भेटेका तीन जना महिलाका पीडा यहाँ राख्न चाहन्छु । एउटी महिलाका श्रीमान् सुरक्षा निकायमा काम गर्छन्‌ । खासै ठूलो पदमा छैनन्‌ । उनकी श्रीमती सरकारी जागिर खान्छिन्‌ । पढाइ पनि राम्रो छ । समाजमा राम्रो इज्जत छ । उनी सामाजिक क्षेत्रमा काम गर्ने भएकाले सरकारी सेवामै भए तापनि फिल्ड गइरहनुपर्छ । धेरैसँग हिमचिम छ । श्रीमान्‌ भने ब्यारेकमा बस्छन्‌ । उनीहरूको भेट कहिलेकाहीं छुट्टीमा मात्रै हुन्छ । अहिले श्रीमान्‌ उनलाई पटक–पटक फोन गर्ने, बिहान यति बजे घरबाट निस्कनु, यति बजे फर्कनु भनी टाढैबाट भए पनि नियन्त्रण गर्न खोज्छन्‌ । जागिर छोड भन्न सक्दैनन् किनभने उनकी श्रीमतीले २ बच्चा पालिरहेकी छन् । अब त हुँदाहुँदा उनी श्रीमतीलाई ‘तँ समयमा घर नआएमा यो रूखमा झु‍न्डिएर मर्छु’ भनी भीडीओ कल गरेर ब्ल्याकमेल गर्न थालिसके । श्रीमती पनि मानसिक रूपले पीडित छिन् । जीवन अगाडि कसरी बढाउने भनी चिन्तित छिन् । यहाँ श्रीमती भित्रको पीडा र छटपटी देखिन्छ, साथै ती श्रीमान् भित्रको पीडा, छटपटी अनि उनको मानसिक स्वास्थ्यमा पनि असर परेको छ । यसको कारण एउटै छ, त्यो हो पितृसत्तात्मक समाजले व्याख्‍या गरे अनुसारकी श्रीमती नहुनु । यसमा थप विदेशमा भएका परिवारका सदस्यबाट समेत उनलाई बेलाबेला ‘यदि तेरी श्रीमती यसरी नै हिँडिरही भने तैंले दुःख पाउलास्‌ है’ भनी तर्साइदिन्छन् । ‘श्रीमतीलाई पनि नियन्त्रण गर्न नसक्ने’ भनी खिसी गर्छन्‌ ।

दोस्रो महिलाका श्रीमान्‌ विदेशमा छन् । उनका श्रीमान्‌ एक पटक दस वर्षपछि घर फर्के । त्यहीबेला उनी गर्भवती भइन्‌ । श्रीमान्‌ पुनः विदेश फर्किए । अहिले बच्चा पाँच वर्षको भइसक्यो तर उनका श्रीमान्‌ आएका छैनन्‌ । श्रीमती स्नातकोत्तर हुन् । कुनै गैरसरकारी संस्थामा काम गर्छिन्‌ । श्रीमान् कम्तीमा दिनको ३–४ पटक भीडीओ कल गरेर उनी कहाँ छिन्, के गर्दैछिन् भनी नियन्त्रण गर्न चाहन्छन्‌ । उनीहरूबीच विश्वासको कुनै आधार देखिँदैन । श्रीमती मानसिक रूपले प्रताडित छिन् । आफ्नो पहिचान बनाउन चाहन्छिन्‌ तर श्रीमान्को यो व्यवहारले के गर्ने भन्ने अन्योलमा छिन् । यसको प्रत्यक्ष प्रभाव उनीहरूको जीवनमा र बच्चामा समेत देखिन्छ ।

तेस्रो महिला कुनै सञ्‍चार संस्थाको निर्देशक पदमा छिन् । धेरैसँग उठबस गर्नुपर्छ । रातिसम्म काम गर्नुपर्छ । बच्चाहरू ठूला भइसकेका छन्‌ । तर पनि श्रीमान्‌ कहिले ‘सिन्दुर नलगाएर किन हिँडेकी ?’ मोबाइलको कललग हेरेर ‘यो को हो ? योसँग किन लामो कुरा गरेको ?’ जस्ता कुरा गरेर मानसिक यातना दिन्छन्‌ । यी महिलालाई पनि जीवन अब कसरी अगाडि बढाउने भन्ने चिन्ता छ ।

मैले उल्लेख गरेका तीन जना महिलाका जीवनकथा प्रतिनिधिमूलक मात्रै हुन् । अहिले धेरै महिला यस्ता कथाव्यथाबाट आक्रान्त छन् । यसो हेर्दा यी सबै महिला हिंसापीडित हुन्‌ । पीडक श्रीमान्‌ नै देखिन्छन्‌ । तर यथार्थमा भन्नुपर्दा यी महिलाका साथै यी तीनै पुरुष पनि पीडित छन्‌ । मानसिक समस्याले ग्रस्त छन्‌ । यिनीहरूभित्र लघुताभास छ, जुन अहिलेको पितृसत्तात्मक संरचनाले सिर्जना गरेको हो ।

पितृसत्तात्मक संरचनाभित्र पुरुष महिलाभन्दा माथि देखिनुपर्छ । बढी कमाउने, बढी पढेको वा बढी जान्ने हुनुपर्छ भन्ने मान्यता छ । यदि त्यस्तो भएन भने पुरुष भित्रदेखि नै कुँडिन्छ । ऊ आफू अस्तित्वहीन भएको अनुभुत गर्न थाल्छ । त्यो स्थितिले उसभित्र विभिन्न मानसिक समस्या जन्मन्छ र रोगी, विक्षिप्त हुन पुग्छ ।

पितृसत्ता एक संरचना हो । यसले पुरुषलाई भावनात्मक रूपमा पङ्गु बनाइदिन्छ । पितृसत्ताले पुरुषको भित्री इच्छालाई स्वतन्त्र रूपमा प्रयोग गर्न सक्‍ने अधिकारमा नियन्त्रण गर्छ । परिणामतः सबै वर्ग, जात, वर्णका पुरुषलाई पितृसत्ताविरुद्ध सङ्घर्ष गर्न निकै कठिन हुन जान्छ । त्यसैले ऊ सानैदेखि पितृसत्ताले सिकाएका ज्ञान सिक्दै हुर्कन्‍छ, त्यसैलाई आत्मसात् गर्छ । यसले उसको सोच, व्यवहार सबैलाई प्रभावित गर्छ । यो स्थितिमा परिवर्तन ल्याउन पितृसत्ताको मनोविज्ञान बुझ्न जरुरी हुन्छ । पितृसत्तात्मक मनोविज्ञानले हरेक व्यक्तिभित्र महिलापन र पुरुषत्वको भावनात्मक विकास गरेको छ । यसले पुरुषत्वलाई माथि र महिलापनलाई तल्लो दर्जा दिन्छ । यो हरेक व्यक्तिको मानसिकतामा गहिरो गरी बसेको हुन्‍छ । त्यसैले सशक्तीकरणको प्रक्रियासँगै बराबरीको वकालत गर्ने स्थिति पितृसत्तालाई मान्य हुँदैन । अनि उसले समाजमा रहेका विभिन्न हानिकारक मूल्य मान्यता, व्यवस्‍था र सोचलाई आत्मसात् गर्दै आफ्नो वर्चस्व कायम गर्न थाल्छ । पितृसत्ताबाट सबै प्रभावित छन् भन्ने बुझ्दै हाम्रो मनमस्तिष्‍कभित्र रहेको सोच र त्यसका कारण व्यवहारमा देखिने, जीवनमा लागू भइरहेको स्थिति दुवैलाई चुनौती दिनु आवश्‍यक छ । अहिले पुरुषभित्र देखिएको पीडाको अन्त्य गर्न, संकटलाई व्यवस्‍थापन र सही निदान गर्न जरुरी छ । पितृसत्ता नै समस्या हो भनी बुझ्न अनि त्यसको अन्त्य गर्नतर्फ अग्रसर हुनु जरुरी छ ।

प्रख्यात पारिवारिक चिकित्सक टेरेन्स रियल भन्नुहुन्छ– म पूर्ण छु भनी आत्मसात् गर्ने प्रक्रिया महिलाका लागिभन्दा पुरुषका लागि अझै कठिन छ । यसले अहिलेसम्म स्थापित संस्कृतिलाई नै चुनौती दिन्छ । यदि पुरुषले सही पुरुषको स्थान लिन चाहने हो, असल पुरुषत्व व्यवहारमा ल्याउने हो भने उनीहरूले आफ्नो हृदय खोल्न सक्नुपर्छ । भित्री हृदयको आवाज सुन्न सक्नुपर्छ । आफ्नो भावनालाई चिन्‍न सक्नुपर्छ । यो नै स्वस्थ र गुणस्तरीय जीवनको आधार हो भनी बुझ्नुपर्छ । त्यसका लागि हामी सबैले यो पितृसत्तात्मक पुरुषत्वको विकल्प खोज्नुपर्छ । अन्यथा हामी सबैको जीवन प्रेमबिनाको कठिन, जटिल, यातना र अपमानले भरिएको हुनेछ ।

प्रकाशित : चैत्र १९, २०८० ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?