कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बृहत्तर लुम्बिनी क्षेत्र : अन्तर्राष्ट्रिय बौद्ध सम्पदा सहर

लुम्बिनी, देवदह, रामग्रामका साथै सैनामैनालगायत क्षेत्र जोडेर बुद्धिस्ट सर्किटको परिकल्पना गरेका छौं । बृहत्तर लुम्बिनी क्षेत्रलाई विशेष अन्तर्राष्ट्रिय बौद्ध सम्पदा सहरका रूपमा हेरिनुपर्छ भनेर एउटा खाका बनाएका छौं ।
भिक्षु मेत्तेय

हाम्रो प्रदेशको पहिचान र भविष्य लुम्बिनीसँग जोडिएको जस्तो मलाई लाग्छ । विश्व इतिहासमा लुम्बिनी पत्ता लागेको आज १२७ वर्ष पुगेको छ । अशोक स्तम्भमा लेखिएका हरफहरू फेला पारेर डा. फुहरर र खड्ग शमशेरले लुम्बिनी पत्ता लगाएका थिए । भविष्य बुझ्नका लागि इतिहास पल्टाएर हेर्नुपर्छ भन्ने गरिन्छ । यही बुझ्ने क्रममा हामीले सन् १८९६ देखि अहिलेसम्मको घटनाक्रम हेर्दा यसमा सम्भावना, चुनौती वा अड्चनहरू केलायौं । यसले आउँदो दिशाबोध दिन्छ भन्ने हामीलाई लागेको छ ।

बृहत्तर लुम्बिनी क्षेत्र : अन्तर्राष्ट्रिय बौद्ध सम्पदा सहर

लुम्बिनी पत्ता लागेको ५५/५६ वर्षपछि संयुक्त्त राष्ट्रसंघका महासचिव उथान्तले लुम्बिनी भ्रमणका क्रममा विश्व संकट कम गर्न संवाद पनि एउटा माध्यम हुनसक्ने बताउनु भएको थियो । उहाँको कार्यकालमा क्युबन मिसाइल क्राइसिस, इन्डोनेसिया-मलेसिया द्वन्द्वलगायत थुप्रै समस्या चारैतिर विद्यमान थिए । उथान्त स्वयं बौद्धमार्गी हुनुहुन्थ्यो र संसारकै उच्च कूटनीतिज्ञको पदमा पुग्ने निकै कम एसियाली मूलका मानिसमध्ये हुनुहुन्थ्यो । भगवान बुद्धको जन्म समयमा राज्यहरू स्रोतसाधनलाई लिएर युद्ध गर्न तम्तयार हुँदा भगवान बुद्ध स्वयं उपस्थित भएर वार्तालाप गराउनु भएको थियो । संवादद्वारा नै त्यो द्वन्द रोकिएको थियो । उथान्त पनि संवाद स्थापित गराउने नेता हुनुहुन्थ्यो ।

उथान्त लुम्बिनी आउँदा यो ठाउँबाट प्रेररित भई तत्कालीन राजासँगको कुराकानीमा उहाँले लुम्बिनी भनेको केबल धार्मिक ठाउँ मात्रै होइन यो संसारभरिका र विशेषगरी एसियाका सबै राष्ट्रका धार्मिक वा सेक्युलर सबै नेताहरूलाई एक संवादका लागि एक ठाउँमा ल्याउने थलो हुनसक्छ भनेर बताउनु भएको थियो । लुम्बिनीले एसियामै संवाद गर्ने थलोका रूपमा काम गर्न सक्ने भएकाले यसलाई अन्तराष्ट्रिय पिस सिटी (अन्तराष्ट्रिय शान्ति केन्द्र) का रूपमा विकास गरिनुपर्छ भनेर उहाँले राष्ट्रसंघको महासभामै प्रस्ताव राख्नु भएको थियो । त्यो बेला करिब १६ वटा राष्ट्रहरूको संलग्नतामा 'इन्टरनेशनल कमिटी फर द डेभेलप्मेन्ट अफ लुम्बिनी' गठन भएको थियो । अमेरिकाका लागि नेपालका राजदूत त्यस कमिटीको सचिव हुनुहुन्थ्यो र त्यसको वार्षिक बैठक गरी विभिन्न देशबाट चन्दा संकलन लगायत गतिविधिहरू अगाडि बढाइएको थियो ।

उहाँकै संयोजन र नेपाल सरकारको विशेष चासो र फलोअपमा हार्वर्ड विश्वविद्यालयका आर्किटेक्ट प्रमुख प्रोफेसर केन्जो टाँगेलाई लुम्बिनी गुरुयोजना बनाउन भनियो । त्यो गुरुयोजना लागू पनि भयो । गुरुयोजना बनाएपछिको ४५ वर्षको बीचमा धेरै आरोह-अवरोहरू आए । गुरुयोजना स्वीकृत हुँदा यसको अनुमानित कुल लागत करिब ५५ मिलियन अर्थात आजको मूल्यमा २२ अर्ब रुपैयाँ थियो । दुई वर्षअघिसम्मको तथ्यांक हेर्दा लुम्बिनी क्षेत्रको विकास निर्माणमा जम्मा २.८ बिलियन (२ अर्ब ८० करोड रुपैंयाँ) मात्रै खर्च भएको पायौं । कुल बजेटको ४३ वर्षमा जम्मा १२ प्रतिशत मात्रै लगानी भएको छ । लुम्बिनी विकास किन भएन भनेर पटक-पटक कुरा उठ्ने गर्छ तर पैसा लगानी नगरिकन लुम्बिनीको विकास हुन सक्दैन, विकासको नारा मात्रै हुन्छ ।

लुम्बिनीको विकासमा आवश्य लगानी नहुनुका विविध कारण थिए होलान् । नेपालको आन्तरिक अस्थिरता, राजनीतिक उतारचढाव विभिन्न संघर्षको पनि यसमा छाप पर्‍यो होला । नेपाल सरकारले यो गुरुयोजना यथाशक्य चाँडो सम्पन्न गर्नुपर्छ भन्ने लक्ष्य राखेपछि हामीले अन्तराष्ट्रिय परामर्शदाताहरू राखेर गुरुयोजनाको डीपीआर पुन: समीक्षा गर्‍यौं ।

४५ वर्षअघिको खाकालाई अहिलेको दरले मूल्यांकन गर्दा करिब ७ अर्ब ३७ करोड रुपैयाँ लाग्ने देखियो । त्यो ६ हजार पानाको डीपीआर तत्कालीन र वर्तमान अर्थमन्त्री जो यही भेगका हुनुहुन्छ, उहाँकहाँ गयो । उहाँले खुशीसाथ लगानीको बाटो खुल्छ भनेपछि गुरुयोजना अगाडि बढाउने काम भयो । अर्थमन्त्रालयले स्रोतको सुनिश्चिचता गरिदिएपछि हामीले हालसम्म १ अर्ब २० करोड रुपैयाँ खर्च गरिसकेका छौं । केही कारणवश यो वर्षका ठेक्काहरू रोकिएका थिए, मन्त्रालयले स्रोत व्यवस्थापन गर्न सकेन । हामीले यसबारे सोधीखोजी गरिरहेका छौं । एक वर्ष काम नहुँदा मूल्यवृद्धि भएर लागत थपिने रहेछ । ७ अर्बमा सकिने गुरुयोजना अब ८ अर्बभन्दा माथि जाने भएको छ ।

अहिलेको समयमा गुरुयोजनाको बाँकी काम सम्पन्न गर्नलाई करिब ३० महिना लाग्ने देखिन्छ । अब हामी ट्रान्जिसन प्वाइन्टमा पुग्दैछौं, लुम्बिनी गुरुयोजनाको काम सकिन लागेको छ भने गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण भइसकेको छ । लुम्बिनीको सामर्थ्य नाप्ने अब साँच्चै बेला आएको छ । भविष्यका रणनीति बनाउँदा हामीले लुम्बिनीबाट के लिन सक्छौं भनेर सोच्नुपर्ने हुन्छ । त्यसका लागि हामीले अहिले लुम्बिनी मात्र नभएर बृहत्तर लुम्बिनी क्षेत्र- भगवान बुद्धको जन्मथलो, उहाँले २९ वर्ष बिताउनु भएको कपिलवस्तु, बाबु र मामाबीचको द्वन्द्व निवारणका लागि उहाँ जानु भएको मावली देवदह र जीवनको अन्तिमा यात्रा सकिएपछि उहाँको अस्तुधातु ल्याएर राखिएको रामग्रामका साथै सैनामैनालगायत क्षेत्र जोडेर बुद्धिस्ट सर्किटको परिकल्पना गरेका छौं । बृहत्तर लुम्बिनी क्षेत्रलाई विशेष अन्तर्राष्ट्रिय बौद्ध सम्पदा सहरका रूपमा हेरिनुपर्छ भनेर एउटा खाका बनाएका छौं ।

अहिले संसारभरि करिब आधा अर्ब जनसंख्या बौद्धमार्गी छन् । कम्तीमा ५ सय मिलियन मानिस आफूलाई बौद्धमार्गी भन्छन् । विडम्बना, यो आधा अर्बको जनसंख्याको 0.00५ प्रतिशत मात्रै मानिस पनि बौद्ध तीर्थमा घुम्न आएका छैनन् जब कि भगवान आफैंले 'शरीर परित्याग गरेपछि लुम्बिनी जानू' भनेर आफ्नो जीवनको उपदेशमा भन्नुभएको छ । अहिले हामीले हेरिरहेको तथ्यांकमा लुम्बिनी आउने तीर्थयात्रीको संख्यामा बढोत्तरीचाहिँ भएको छ । ४५ वर्षअघि केन्जो टाँगेले गुरुयोजना कोर्दा २ देखि साढे २ लाख आगन्तुकको परिकल्पना गर्नु भएको थियो । तर अहिले १८ लाख/१९ लाख कट्दै छन् ।

भगवानलाई ज्ञान प्राप्ति भएको यहीँनजिकैको बोधगयाको पनि हामीले तथ्यांक हेर्‍यौं । लुम्बिनीको अनुपातमा त्यहाँ पाँच गुणा बढी पर्यटक बढ्दै छन् । त्यस कारण बौद्ध सर्किटको राम्रो व्यवस्था आवश्यक छ । विदेशबाट लुम्बिनी आउनेहरू यो चारधामकै यात्रा गर्ने सोचका साथ आएका हुन्छन् । लुम्बिनीसँग कुशीनगर जोडिएको छ, बोधगया जोडिएको छ, भगवानले उपदेश दिनुभएको ठाउँ शारनाथ जोडिएको छ र अन्तिममा आएर उहाँको परिनिर्माण भएको कुशीनगर त्यो पुन: जोडिएको छ । चाहे यताबाट यात्रु आउन् वा उताबाट, लुम्बिनी नआई यात्रा पूरा हुँदैन । तर बुद्धिस्ट सर्किटमा यात्रा गर्दा धेरै तनाव छन् । यातायात सुविधा सहज छैन ।

तथ्यांक हेर्दा लुम्बिनीको सामर्थ्य बलियो भेटिन्छ । ग्लोबल टुरिजम कम्पेटिटिभ इन्डेक्समा हेर्दा नेपालको स्थिति अलिकति सुध्रिँदै १०९ बाट १०८ मा पुगेका छौं । तर नेपालभित्र रहेका सांस्कृतिक सम्पदा र पर्यटकीय सुविधाहरूको तथ्यांकमा हामी विश्वको ५० औं स्थानमा उक्लिएका छौं । हामीसँगै देखाउने ठाउँ धेरै छन् तर सुविधा कम छन् । भारत त्यत्रो सुविधासम्पन्न हुँदा जम्मा ४०औं स्थानमा छ । तसर्थ आउँदा दिनमा लुम्बिनी मात्रै होइन बृहत्तर लुम्बिनीको विकास गरिनुपर्छ भन्ने लाग्छ ।

विद्यमान समयमा बृहत्तर लुम्बिनी क्षेत्रलाई एउटा परियोजनाको रूपमा हेर्नुपर्ने विशिष्ट कारण चाहिँ के हो भने हामीले विश्व बैंकसँग मिलेर करिब ३ वर्ष लगाएर यो क्षेत्रको अध्ययन गर्दा के देखिएको छ भने कपिलवस्तुदेखि रामग्रामसम्मको यति सानो क्षेत्रभित्रै २४० वटा सानाठूला आयोजना निर्माण भइरहेका छन् । यी आयोजनाहरू एकअर्कासँग जोडिएका छैनन् । कोही सम्पदाप्रति संवेदशनशील छैनन् कोही औद्योगीकरणका आयोजना छन्, यिनलाई समायोजन गर्न सकेनौं भने भोलिका दिनमा द्वन्द्व सिर्जना हुन्छ र त्यसले पर्यटन र सम्पदालाई उल्टो असर गर्न सक्छ । हामीले ४५ वर्षअगाडि सोचेको लुम्बिनीलाई कार्यान्वयनमा ल्याएका छौं भने अबचाहिँ बृहत्तर लुम्बिनीका बारेमा सोच्नुपर्छ ।

गौतम बुद्ध विमानस्थललाई गेटवे टु द बुद्धिस्ट सर्किटका रूपमा प्रयोग गर्नुपर्छ । यहाँबाट आयो भने चारधाम सरर घुमेर फर्किन सकिन्छ भनेर प्रचार गर्नुपर्छ । हामीसँग १६ वटा राष्ट्रको जुन सद्भाव जोडिएको अन्तर्राष्ट्रिय लुम्बिनी सहयोग समितिलाई अब पैसा माग्नलाई मात्रै नभएर लुम्बिनीको प्रचारप्रसार र प्रवर्द्धनका लागि पनि पुन: सक्रिय बनाउन आवश्यक छ । हाम्रो प्रदेशको नामकरण लुम्बिनीसँग हुनु भनेको नीति निर्माताहरूले यसको महत्त्व र गरिमालाई सम्मान गरेको भनेर बुझ्न सकिन्छ । यो नेपालभित्रको एउटा प्रदेश मात्र नभएर विश्वका बौद्ध राष्ट्रहरूमाझ यसले नयाँ पहिचान कायम गर्छ भन्ने लाग्छ ।

अन्तिममा म के भन्न चाहन्छु- यो प्रदेशकै भविष्य लुम्बिनीसँग जोडिएको हुनाले लुम्बिनीको भविष्य कपिलवस्तुसँग जोडिएको छ । कपिलवस्तु बुद्ध जन्मिएको मात्रै होइन २९ वर्षसम्म उनको लालनपालन गर्ने सहर हो । गौतम बुद्धभन्दा पहिला दुईवटा बुद्ध उत्पादन गर्ने क्षेत्र हो । कपिलवस्तुलाई प्रदेश एक आध्यात्मिक वा सांस्कृतिक राजधानीका रूपमा पहिचान गर्दा त्यसले दिगो परिवर्तन ल्याउँछ ।

(लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले कान्तिपुर मिडिया ग्रुपद्वारा माघ २१ गते भैरहवामा आयोजित 'कान्तिपुर: लुम्बिनीको सामर्थ्य'मा दिएको मन्तव्यको सम्पादित अंश)

प्रकाशित : माघ २६, २०७९ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?