बीआरआई हाम्रा लागि उपयोगी हुन सक्छ : प्रधानमन्त्री- कुराकानी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बीआरआई हाम्रा लागि उपयोगी हुन सक्छ : प्रधानमन्त्री

मित्रताको सिँढी थप्न र साझा जित खोज्न आएको हुँ
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालका निम्ति चीनजस्तो छिमेकी जोसँग मन छ र सामर्थ्य पनि छ । सहयोगी भावना छ, तत्परता छ र सहयोग र सहकार्य गर्ने क्षमता पनि छ । यस्तो छिमेकीले यस प्रकारले अझ खुलापनका साथ अगाडि बढ्ने नीति लिनु र उपलब्धिहरूमा साझेदारी गर्ने मनसाय राख्नु र तदनुसारका व्यवहार अपनाउनु नेपालका लागि धेरै खुसीको कुरा हो ।

प्रधानमन्त्रीका रूपमा दोस्रो पटक चीन भ्रमणमा आउनुभएको छ । यसको उद्देश्य र अपेक्षाबारे प्रकाश पारिदिनुहुन्छ कि ?

प्रधानमन्त्रीका रूपमा म दोस्रो पटक चीन भ्रमणमा आएको छु । अहिले फरक प्रसंगमा भएको यो भ्रमणले दुई देशबीचको सम्बन्धलाई सुदृढ बनाउने र अझै गहिराइमा पुर्‍याउने छ । दुई वर्षअगाडिको मेरो भ्रमणले दुई देशबीचको सम्बन्धमा कोसेढुंगाको काम गरेको थियो । पूर्वाधार विकास र पारवहनका क्षेत्रमा चीनसँग भएका सम्झौताले जुन योगदान गरेका थिए, त्यसकै जगमा आज दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुर्‍याउने काम भएको छ ।

....................................

  • चीनले अख्तियार गरेको नियन्त्रित र अनुकूल समाजको उदार नीतिबाट हामी सिक्न सक्छौँ, यी सबै अनुभव र गरिबी निवारणमा चीनले गरेको अद्वितीय सफलताको अनुभव हाम्रा लागि महत्त्वपूर्ण हुनेछ
  • मेरो पहिलो भ्रमणले द्विपक्षीय सम्बन्धमा कोसेढुंगाको काम गरेको थियो, त्यतिबेला भएको पूर्वाधार विकास र पारवहन सम्झौताकै जगमा सम्बन्धले नयाँ उचाइ लिएको छ
    ....................................

दुईपक्षीय लाभका लागि मैत्रीसम्बन्धलाई अझ माथि पुर्‍याउन, अझ सुदृढ भरोसा, एकअर्काप्रतिको अपेक्षा र सद्भाव बोकेर मित्रताका सिँडी थप्न म चीन भ्रमणमा आएको छु । नेपाल र चीनबीच बहुआयामिक यातायात सञ्जाल विकास गरी दुई देशबीचको पर्यटन व्यापार तथा वाणिज्य र जनस्तरको सम्बन्ध विकास गर्न, हवाई र रेल सम्पर्क विकास गरी चीनको गतिशील अर्थतन्त्रमार्फत नेपाललाई बाहय विश्वसँग जोडेर प्रगतिशील, गतिमान र समुन्नत राष्ट्र बनाउने मेरो सपना रहेको छ । कृषिको आधुनिकीकरण गर्न, उद्योगलाई समयानुकूल आवश्यकताअनुसार अगाडि बढाउने र दक्ष जनशक्ति उत्पादन तथा कृषि प्रवद्र्धन गर्ने कुरामा नेपाल सरकारले ध्यान दिँदै आएको छ । यस्ता विषयमा चीनसँग असाधारण सफलता र अनुभव छ, नेपालको विकासमा सहयोग पुर्‍याउने भावना पनि छ । तत्परता तथा सामर्थ्य पनि छ ।


यस सन्दर्भमा महामहिम चिनियाँ राष्ट्रपति सी चिनफिङले अगाडि सार्नुभएको बीआरआई एउटा गतिलो पहल हो । बीआरआई सबैका लागि उपयोगी हुन सक्नेछ । नयाँ युगमा नेपाल-चीन सम्बन्धलाई मजबुत बनाएर साझा जित खोज्न म चीन भ्रमणमा आएको छु ।

सन् १९७८ मा सुधार तथा खुलापन नीति अँगालेपछि चिनियाँ समाजमा ठूलो परिवर्तन आएको छ, चीनको सुधार र खुलापन नीतिबारे तपाईंको के धारणा छ ?

नयाँ चीन बनेपछि विकासका अनेक प्रयास चीनले गरेको छ । सन् १९७८ मा खुला नीति अपनाएपछिका चार दशकमा चीनले चौतर्फी उपलब्धि, प्रगति र आर्थिक उन्नति हासिल गरेको छ । विज्ञान-प्रविधि, सञ्चार, यातायातलगायत क्षेत्रमा गरेको विकास र मानवीय संसाधनमा गरेको प्रगति, शिक्षा र स्वास्थ्य क्षेत्रको प्रगति अथवा सम्पूर्ण रूपमा गरेका विकासलाई हेर्ने हो भने तिनले आफैँ बताएका छन्, खुला नीतिको प्रभाव कस्तो रहयो भन्ने ।


वास्तवमा केही दशकयता विशाल जनसंख्या र ठूलो भूगोललाई समृद्धिको बाटोमा यति छोटो समयमा अगाडि बढाउनु सजिलो थिएन । खुला नीति र यसको कार्यान्वयन गर्न सक्षम नेतृत्वले जुन कौशल देखाएको छ, त्यसले चिनियाँ नीति ठीक छ भन्ने पुष्टि गरेको छ ।

खुलापन र सुधारबाट चीनमा आएको परिवर्तनले नेपाल-चीन आर्थिक व्यापारिक आदानप्रदानमा के महत्त्व राख्छ ?

बोआओ फोरममा महामहिम चिनियाँ राष्ट्रपति सी चिनफिङले अझ खुलापनका साथ चीन अगाडि बढ्ने उद्घोष गर्नुभएको थियो । अर्थात् चीनले आफ्नो भूमिकालाई अझ प्रभावकारी ढंगले अगाडि बढाउँछ । चीनमा मात्र होइन, त्यसभन्दा बाहिरका सहयोग र सहकार्यका क्षेत्र पनि विस्तार हुन्छन् भन्ने यसबाट प्रतिबिम्बित भएको छ । चीनको असर अवश्य नै जबरजस्त पर्नेछ । मैले विश्वास लिएको छु, सकारात्मक असर नै पर्नेछ । यस मामलामा नेपाल जो आफ्ना राजनीतिक अधिकार प्राप्तिका माग र आन्दोलनलाई सफलतापूर्वक टुंग्याएर स्थायित्वमा प्रवेश गरेको छ । स्पष्ट नीतिसाथ सुशासन र विकासका मार्ग अगाडि बढेका छन् ।


त्यसमा बेल्ट एन्ड रोड इनिसिएटिभ अथवा अरू खुलापनका नीति, सहयोग र सहकार्यमा अवश्य नै सराहनीय छन् । र, त्यसमा पनि नेपालका लागि सकारात्मक र आसलाग्दा छन् ।

तपाईंको नेतृत्वमा बहुमतको स्थिर सरकार बनेपछि चिनियाँ लगानीलाई कुन रूपले अगाडि बढाउँदै हुनुहुन्छ ?

हामी सबैलाई थाहा छ, नेपाल केही अगाडिसम्म निरंकुश सामन्ती नियन्त्रणकारी व्यवस्थाभित्र रहिआएको थियो । विश्वमा तीन प्रकारका राजनीतिक प्रणालीमा वैचारिक र व्यावहारिक संघर्षहरू हुने गरेका छन् । यी तीन प्रकारका राजनीतिक प्रणालीमा एउटा सम्पूर्ण रूपमा नियन्त्रणकारी प्रणाली हो भने अर्को आफूलाई अनियन्त्रित गर्ने नियन्त्रणहीन प्रणाली ।


त्यसैगरी तेस्रोचाहिँ देश र जनता तथा मानव जातिको कल्याणका लागि समुचित ढंगले नियन्त्रण र सन्तुलन गरी आवश्यक उदारतासहितको व्यावहारिक नीतिका साथ अगाडि बढ्नुपर्छ भन्ने प्रणाली । अथवा देश र जनताप्रति उत्तरदायी हुनुपर्छ र उनीहरूको हितप्रति केन्द्रित हुनुपर्छ भन्ने प्रणाली । यी प्रणालीमध्ये सबैलाई नियन्त्रण गर्ने प्रणाली पनि होइन र सबै खुला हुनुपर्छ । सम्पूर्ण रूपमा मुनाफावादी प्रणाली पनि होइन । जो सही हुनुपर्छ, त्यही हुनुपर्छ भनेर चीनले भनेजस्तै नेपालले सही नीति अगाडि बढाएको छ । यो सही नीति अहिले आएर कोसेढुंगाका रूपमा स्थापना भएको छ । प्रणालीगत हिसाबले, कार्यदिशाका हिसाबले, शैलीका हिसाबले, व्यवहारका हिसाबले र राजनीतिक स्थायित्व र शान्तिपूर्ण वातावरणका हिसाबले म के भन्न चाहन्छु भने नेपालमा अब राजनीतिक स्थिरता छ । दृढ इच्छाशक्ति भएको सरकार छ । त्यो इच्छाशक्तिलाई कार्यान्वयन गर्न बहुमतको सरकार छ ।


स्थानीय तहमा पनि अत्यधिक बहुमतको सरकार छ । पपुलर जनमतका हिसाबले पनि अत्यधिक बहुमत साथ छ । यी सबै अनुकूलताले अब नेपाल आर्थिक समृद्धिको युगमा प्रवेश गरेको छ । आर्थिक समृद्धिको युगमा प्रवेश गर्दा स्वाभाविक रूपमा प्रयासहरू पर्याप्त हुँदैनन् । यस्तो अवस्थामा छिमेकी र मित्रहरूका सहयोग र सहकार्यलाई समुचित ध्यान दिनु र साथमा काम गर्न र त्यसलाई प्रोत्साहित गर्न वाञ्छनीय हुन्छ । नेपालमा चिनियाँ लगानी बढिरहेको छ । चिनियाँ लगानीप्रति नेपालको सकारात्मक दृष्टिकोण छ । नेपाल चीनसँग मिलेर आफ्ना विकासका आवश्यकता र दुनियाँको अर्थतन्त्रलाई नै सबल र न्यायोचित बनाउने दिशामा क्रियाशील छ ।

चीनले सन् २०२० सम्म सम्पूर्ण रूपमा गरिबी निवारण गर्ने घोषणा गरेको छ । गरिबी निवारणमा चीनको सफलताबाट नेपालले के अनुभव लिन सक्छ ?

नेपाल प्राकृतिक हिसाबले अत्यन्त सुन्दर र स्रोतका हिसाबले सम्पन्न मुलुक हो । विद्वान् पुर्खाका सन्तान हुन् नेपाली । मिहिनेती र इमानदार भनेर दुनियाँमा मानिएका जनता बस्ने देश हो नेपाल । अहिले पनि नेपालका ६० प्रतिशतभन्दा बढी नागरिक शारीरिक श्रम गर्न सक्षम र सक्रिय छन् । त्यस्तो अवस्थामा सरकारका नीति र अपेक्षा तदनुसारकै छन् । विकासका दृष्टिकोण, भ्रष्टाचार नियन्त्रण, सुशासन, कानुनी राज्य सबै कुरामा हामी स्पष्ट छौँ । तमाम कुरामा चीनको अनुभवबाट हामी सिक्न सक्छौँ ।


अनुशासित र दृढ संकल्पका साथ एकताबद्ध भएर अगाडि बढ्यौँ भने निश्चय नै विकासको बाटोमा तीव्र गतिले अगाडि जानेछौँ । उत्पादन र उत्पादकत्व वृद्धिमा, रोजगारी बढाउने कुरामा, आत्मनिर्भरता बढाउने, आयात घटाउने र निर्यात बढाउने कुरामा हामीले ध्यान दिएका छौँ । चीनले उदार नीति अख्तियार गरेको छ र अनियन्त्रित होइन, नियन्त्रित र अनुकूल समाजको उदार नीतिबाट हामी सिक्न सक्छौँ । यी सबै अनुभव लिँदा अवश्य पनि गरिबी निवारणमा चीनले गरेको अद्वितीय सफलताको अनुभव हाम्रा लागि महत्त्वपूर्ण हुने नै छ ।


(चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीसँग बेइजिङस्थित नेपाली दूतावासमा चीन भ्रमणमा केन्द्रित रहेर कान्तिपुर दैनिकका लागि चेतनाथ आचार्यले गरेको कुराकानी) :


प्रकाशित : असार ६, २०७५ २२:०४
प्रतिक्रिया
पठाउनुहोस्

अस्थायी शिक्षकको परीक्षा तोकियो

सुदीप कैनी

काठमाडौँ — शिक्षक सेवा आयोगले खुला प्रतिस्पर्धाभन्दा पहिला अस्थायी शिक्षकबीच आन्तरिक प्रतिस्पर्धाका लागि परीक्षा लिने भएको छ । ४ पटकसम्म स्थगित अस्थायी शिक्षकको परीक्षा असार २९ र ३० गते लिइने आयोगले जनाएको छ ।

आयोगले यसअघि नै खुलातर्फ विज्ञापन खुलाएर परीक्षा मिति असोज ११, १२ र १३ तोकिसकेको छ ।

आयोगका प्रवक्ता दामोदर आचार्यका अनुसार असार २९ गते माध्यमिक, निम्नमाध्यमिक र असार ३० गते प्राथमिक तहको परीक्षा हुनेछ । यसअघि अस्थायी शिक्षक र विद्यार्थी संगठनको आन्दोलनका कारण गत चैत २३ का लागि तोकिएको परीक्षा स्थगित गरिएको थियो । खुला र आन्तरिक प्रतिस्पर्धा सँगसँगै गर्ने भनेर सूचना प्रकाशित गरिएकामा निर्धारित परीक्षा रोकिएको थियो ।
खुला र आन्तरिक सँगसँगै परीक्षा लिने भन्दै यसअघि स्थगित अस्थायी शिक्षकको आन्तरिक प्रतिस्पर्धाका लागि असार २९ र ३० मा परीक्षा हुने भएको छ
आयोगले असारमा अस्थायी शिक्षकको परीक्षा सकेर असोजमा खुलातर्फको परीक्षा लिन लागिएको जनाएको छ । ‘परीक्षा तयारी पहिले नै धेरै पूरा भइसकेको थियो,’ आचार्यले भने, ‘पहिले आन्तरिक प्रतिस्पर्धाको परीक्षा गरेर खुला प्रतिस्पर्धा गर्ने निर्णय भएको हो ।’ आन्तरिक प्रतिस्पर्धाका लागि यसअघि तीनवटै तहका २२ हजार ७६ पदमा विज्ञापन गरिएको थियो । ती पदका लागि २३ हजार ३ सय अस्थायी शिक्षकले आवेदन दिएका छन् । २०७२ अघिसम्म अस्थायी सेवामा प्रवेश गरेका शिक्षकको दरखास्त लिइएको हो । पहिल्यै तोकिएका केन्द्रहरूमा परीक्षा सञ्चालन हुने आयोगले जनाएको छ । प्रावि, निमावि र मावि तहमा ३/३ प्रकारका गरी ९ वटा विज्ञापन भएको थियो । फरक/फरक प्रकृतिका विज्ञापन भएकाले कुनैमा कडा र कुनैमा सामान्य प्रतिस्पर्धा हुने आयोगका अधिकारीले जनाए ।

आन्तरिक प्रतिस्पर्धामा फेल हुने शिक्षकलाई आकर्षक सुविधा (गोल्डन ह्यान्डसेक) दिएर बिदाइ गर्ने सरकारको तयारी छ । अस्थायी शिक्षकहरू सामान्य प्रक्रिया पूरा गरेर सबै स्थायी हुनुपर्ने माग राखेर अनशन बसेका थिए । शिक्षा संकायमा अध्ययनरत विद्यार्थी भने खुला प्रतिस्पर्धाबाट मात्रै शिक्षक नियुक्त गरिनुपर्ने अनशन बसेका थिए । दोहोरो अनशनपछि परीक्षा स्थगित भएको थियो । आयोगले खुलातर्फ १२ हजार ७ सय ३९ पदमा विज्ञापन गरिसकेको छ ।

खुलातर्फ मावि, निमावि र प्रावि तहको परीक्षा क्रमश: आगामी असोज ११, १२ र १३ गते तोकिएको छ । प्रावि तहका लागि असार ३० र निमावि, माविको असार ३१ सम्म दरखास्त दिन सक्ने म्याद छ । दुवै पक्षका माग सम्बोधन गर्ने किसिमले परीक्षा गर्न लागिएकाले सहज तरिकाले सम्पन्न हुने आयोगका प्रशासकीय प्रमुख डा. तुलसीप्रसाद थपलियाले बताए ।

प्रकाशित : असार ६, २०७५ २१:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×