कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

टेलर स्विफ्टबारे पढ्न हार्भर्डमा विद्यार्थीको ओइरो

एजेन्सी

काठमाडौँ — संयुक्त राज्य अमेरिकाका विभिन्न विख्यात विश्वविद्यालयहरूले गायिका एवं सङराइटर टेलर स्विफ्ट र उनका कामबारे शैक्षिक पाठ्यक्रम बनाइ अध्यापन थाल्ने घोषणा गरेका छन् । गत डिसेम्बरमा हार्भर्डले आउँदो स्प्रिङ सेमेस्टरदेखि कक्षा सुरु गर्ने जनाएयता त्यस विषयमा भर्ना हुने विद्यार्थीको ओइरो लागेको छ, कतिसम्म भने विश्वविद्यालयले थप शिक्षकहरू खोज्नु पर्ने अवस्था आएको छ ।

टेलर स्विफ्टबारे पढ्न हार्भर्डमा विद्यार्थीको ओइरो

हार्भर्डकी अंग्रेजी प्राध्यापक स्टेफनी बर्टले ‘टेलर स्विफ्ट एन्ड हर वर्ल्ड’ विषयका लागि हालसम्म झण्डै तीन सय विद्यार्थीलीले आवेदन दिइसकेको जानकारी दिएकी छन् । विद्यार्थी संख्या अझै बढ्ने पक्का भएको भन्दै प्राध्यापक बर्टले थप शिक्षक आवश्यक परेको उल्लेख गरेकी छन् । बुधबार एक्स (ट्वीटर) मा पोस्ट लेख्दै उनले टेलर स्विफ्टसम्बन्धी विषय साह्रै चर्चित भएकाले अतिरिक्त शिक्षक चाहिएको जनाएकी थिइन् । ‘टेलर स्विफ्टबारे हार्भर्डको कोर्स यति चर्चित भएको छ कि हामीलाई थप शिक्षक चाहिने अवस्था आएको छ,’ उनले लेखेकी छन्, ‘यदी तपाईं बस्टन/प्रोभिडेन्स मेट्रो आसपास बस्नु हुन्छ र शिक्षणका लागि आवश्यक योग्यता र अनुभव छ भने मलाई सम्पर्क गर्नु होला ।’

सन् २०२४ को स्प्रिङ सेमेस्टरदेखि सोमबार र बुधबार गरी हप्ताको दुई दिन टेलर स्विफ्टसम्बन्धी कक्षा सञ्चालन हुने हार्भर्ड विश्वविद्यालयले जनाएको छ । त्यहाँको पाठ्यक्रम विवरणअनुसार विद्यार्थीहरूले स्विफ्टका चर्चित गीत (हिट्स)सँगै उनले रेकर्ड गरे पनि सार्वजनिक नभएका गीत (आउटटेक्स), सार्वजनिक भएका गीतकै वैकल्पिक भर्सन, उनले पुन: रेकर्ड गरेका गीत (रि-रेकर्डिङ)हरूबारे पढ्न पाउनेछन् । उनीहरूले ‘सङराइटिङ’ लाई कविताभन्दा अलग आफैंमा छुट्टै एक विधाका रूपमा अध्ययन गर्नुपर्नेछ ।

स्विफ्टसम्बन्धी कोर्स अंग्रेजी संकायअन्तर्गत राखिएको भए पनि स्विफ्टले अर्थतन्त्रमा पारेको प्रभाव अर्थात ‘स्विफ्टोनोमिक्स’ बारे पनि पढाइ हुने प्राध्यापक बर्टले जानकारी दिएकी छन् । हार्भर्डसँगै स्टानफोर्ड विश्वविद्यालय, युनिभर्सिटि अफ क्यालिफोर्निया, बर्कली, युनिभर्सिटि अफ फ्लोरिडा लगायतले पनि टेलर स्विफ्टबारे कक्षा सञ्चालन गर्ने घोषणा गरिसकेका छन् । फ्लोरिडा विश्वविद्यालयमा ‘स्टोरिटेलिङ इन द म्युजिक अफ टेलर स्विफ्ट’, क्यालिफोर्नियामा ‘आर्टिस्ट्रि एन्ड आन्टप्रेरनर्सिप: टेलर्स भर्सन’ शीर्षकमा शैक्षिक कार्यक्रम सुरु हुँदै छन् ।

प्रकाशित : पुस २०, २०८० १५:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?