१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५२

एनआरएनएमा चुनावी सरगर्मी

कृष्ण आचार्य

काठमाडौं — गैरआवासीय नेपाली संघ (एनआरएनए) मा चुनावी सरगर्मी बढेको छ। अध्यक्षका लागि तीन जना प्रतिस्पर्धीले मनोनयन दर्ता गराएका छन्। निर्वाचन समितिका अनुसार वर्तमान अध्यक्ष शेष घले, रतन कुमार झा र टेकबहादुर (टीबी) कार्की चुनावी प्रतिस्पर्धामा छन्।

एनआरएनएमा चुनावी सरगर्मी

दुई उपाध्यक्ष पदका लागि ६ जनाको उम्मेदवारी परेको छ। भवन भट्ट, कुमारप्रसाद पन्त, खगेन्द्र क्षेत्री, लक्ष्यबहादुर गुरुङ, नरेन्द्रबहादुर भाट र शमशेरसिंह थापाले उपाध्यक्ष पदका लागि उम्मेदवारी परेको निर्वाचन आयुक्त शिवप्रसाद रिजालले बताए।

महासचिवमा बद्री केसी, पुष्प तिमिल्सिना, पुष्प थापा र रञ्जु थापाको उम्मेदवारी दर्ता भएको छ। सचिवमा अर्जुनकुमार श्रेष्ठ, धरमबहादुर केसी, गणेश केसी र सुरेन्द्रप्रसाद श्रेष्ठको उम्मेदवारी परेको हो। कोषध्यक्षमा भैरवप्रसाद ढकाल, चिरञ्जीवी थापा, हिक्मतबहादुर थापा, राजेन्द्र सिवाकोटी र यमकुमार गुरुङबीच प्रतिस्पर्धा हुने भएको छ।

२२ वटा पदमा निर्वाचन हुन लागेको हो। सबै पदका लागि ५९ जनाको उम्मेदवारी परेको छ। अधिकांश उमेदवारले पुननिर्माण, नेपालमा प्रत्यक्ष वैदेशिक लगानी र आर्थिक विकास चुनावी एजेन्डा बनाएका छन्। भोट माग्नेहरूले भूकम्प पछिको पुनर्निर्माणमा आफ्नो योगदान रहने छ भन्ने छुटाउने गरेका छैनन्। निर्वाचन समितिका अनुसार २२ मध्ये ४ वटा पदमा भने निर्विरोध भएको छ। एक जनाको मात्रै उम्मेदवारी परेको हुनाले निर्विरोध भएको हो। निर्वाचन समितिका अनुसार युरोप संयोजक कुल आचार्य, अफ्रिका संयोजक सुनील कार्की, युवा उपसंयोजक लोकराज शर्मा र महिला संयोजक सपिल राजभण्डारी निर्विरोध निर्वाचित भएका हुन्।
 
समितिले बिहीबार बिहान ९ बजे सम्मका लागि उम्मेदवारी दर्ताको अवधि तोकेको थियो। अफ्रिकाको उपसंयोजकमा भने कसैको पनि उम्मेदवारी परेको छैन। ‘बाँकी पदमा बिहीबार बिहान ९ बजेबाट विद्युतीय मतदान हुने भएको छ,’ आयुक्त रिजालले भने, ‘उमेदवारी फिर्ताको समय माग गरेकाले थप गरिदिएका छौ । अहिले(९ बजेर ४५) कसैको पनि उमेदवारी फिर्ता भएको छैन ।’ निर्विरोध र उम्मेदवारी नपरेको ५ पदबाहेक बिहीबार १७ वटा पदका लागि निर्वाचन हुने भएको हो। 

एनआरएनए स्रोतका अनुसार अध्यक्ष पदका लागि बुधबार राति अबेरसम्म सहमतिको प्रयास भइरहेको छ। निर्वाचन समितिका अनुसार एसिया संयोजकका लागि गंगाराज राई, किरणविक्रम थापा र सोमचाई क्षेत्रीको उम्मेदवारी परेको छ। एसिया उपसंयोजकमा भवानीशंकर तिवारी, कृष्णप्रसाद पाण्डे र रोविन्द्रप्रसाद श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्। अमेरिकाको संयोजकमा रामचन्द्र खरेल र सोनाम लामाबीच प्रतिस्पर्धा हुने छ। अमेरिका उपसंयोजकमा आङछिरी शेर्पा, विनोद केसी र शिवकुमार राईको उम्मेदवारी परेको छ। मध्यपूर्व संयोजकका लागि डम्बरबहादुर क्षेत्री र झम्कप्रसाद सापकोटाबीच प्रतिस्पर्धा हुने भएको छ। 

मध्यपूर्व उपसंयोजक धर्मराज गिरी, कल्याणकुमार श्रेष्ठ र उमेश अधिकारीको उम्मेदवारी परेको छ। त्यस्तै युरोप संयोजकमा दावागाल्जे शेर्पा, हेमन्त सेढाई, प्रेमबहादुर गुरुङ, शिवकुमार बरुवाल, सुवास पोखरेल, थर्कबहादुर सेनले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनायो। ओसनिया संयोजकका लागि भोमादेवी लिम्बु र महेन्द्रकुमार लम्सालको उम्मेदवारी परेको छ। ओसनिया उपसंयोजक होमनाथ पाण्डे र रमेश जोशीबीच प्रतिस्पर्धा हुने भएको छ। युवा संयोजकका लागि विजय पोखरेल, फणिन्द्र पन्त, कृष्ण गिरी, निर्मल अर्याल र निरञ्जन प्रसाईबीच प्रतिस्पर्धा हुने भएको छ। महिला उपसंयोजकमा भगवती बस्नेत र रजनी प्रधानको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।


दोस्रो पुस्तालाई एनआरएनएमा आकर्षित गर्ने छु
शेष घले 
गैरआवासीय नेपाली संघले हाल जे काम गरिरहेको छ, त्यो नै मेरो एजेन्डा हो। हामीले धेरै काम सुरु गरेका छौं। कतिपय पूरा भए। कतिपय अधुरा छन्। आगामी कार्यकालका लागि संघको दुई दिनको सम्मेलन चल्दै छ। सम्मेलनबाट काम गर्ने निचोड निकाल्ने छौं। त्यसबाट ‘एक्सन प्लान’ बनाएर अघि बढ्ने छु। हाम्रो संस्थामा महिला, युवा र दोस्रो पुस्ताका सहभागी धेरै छैन्। उनीहरूलाई सहभागी गराउनुपर्छ। दीर्घकालीन हिसाबले महिला र युवालाई यो संस्थामा आबद्धता गराउने कार्यक्रम ल्याउने छु। मैले गएको दुई वर्षमा केही सुधारका काम सुरु गरें। जसलाई जरी राख्ने छु। सँगसँगै अबको १५ वर्षमा नेपाल र हाम्रो संघ कस्तो देख्ने भन्ने विषयमा पनि काम गर्ने छु। त्यसका लागि सबैसँगको सहमति तथा समन्वय आवश्यक छ। नयाँ भिजन संस्थागत रूपमा ल्याउने छु। त्यसैका आधारमा म अघि बढ्ने हो।

 
यो संस्था एक विकास साझेदारका रूपमा यहाँको सरकारले बुझ्नुपर्छ। संयुक्त राष्ट्रसंघ जस्तो संस्था होस्, गरिमा होस्। हामीलाई त्यसैगरी देख्न सकोस् भन्ने मेरो सपना हो। सबै ठाउँमा हामीलाई इज्जत गर्ने वातावरण बनाउने छु। तत्कालको एजेन्डा पुनर्निर्माणमा समय खर्च गर्ने हो। दीर्घकालीन हिसाबले भन्दा मुलुकलाई समृद्धिको दिशातर्फ डेर्‍याउनका लागि प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याउने, रोजगारी सिर्जना गर्ने अभियान आवश्यक छ। यसका लागि मैले काम गर्ने नै छु। 

नेपालको स्रोत र बाह्य लगानी अन्तरसम्बन्धित गराउँछु 
रतन झा 
एनआरएनएको चुनावी एजेन्डा धेरै हुँदैन। नेपालमा भएको स्रोत र बाहिरको लगानीलाई नेपालको सन्दर्भमा कसरी अन्तरसम्बन्धित गराउने भन्ने नै मुख्य एजेन्डा हो। यो सबैको एजेन्डा पनि हो जस्तो लाग्छ। तर, यो पटक नेपालका लागि अलि फरक छ। भूकम्पले धेरै क्षति गरेको छ। भूकम्प पछिको पुनर्निर्माणमा कसरी योगदान पुर्‍याउन सक्छौं भन्ने एउटा एडेन्डा हो। हालसम्म संघले ३५ करोड रुपैयाँ पुनर्निर्माणका लागि उठाइसकिएको छ। यो रकम बढाएर थप पुनर्निर्माणका काम गर्नुपर्ने छ। यो सम्मेलनमा पनि पुनर्निर्माणमै आधारित हुने छ। आगामी दुई वर्ष गैरआवासीय नेपालीहरू यसैमा लाग्ने छन्। साथसाथै संस्थाको सुदृढीकरणलाई पनि अघि बढाउनुपर्ने छ। संस्थागत विकास गर्नुपर्ने छ। 


संस्थागत विकास नेतृत्वमा भर पर्ने कुरा हो। एनआरएनएका ६ वटा क्षेत्र छन्। नेतृत्वमा क्षेत्रीय आधारमा आलोपालो हुनुपर्छ। 

एक व्यक्ति एक पद हुनुपर्छ। १२ वर्ष महासचिव भएर सेवा गरेको मान्छे हुँ। यो संस्थाको सम्भावना र आवश्यकता के हो ? मैले बुझेको छु। सबैभन्दा महत्त्वपूर्ण कुरा म अध्यक्ष भएँ भने नेपालले दुई कुरा पाउँछ। एउटा एनआरएनएको अध्यक्ष। अर्को पुनर्निर्माणका लागि विज्ञ। किनकि मेरो पेसा नै अमेरिकामा ठुलठूलो पूर्वाधार क्षेत्र निर्माण गर्ने हो।


एनआरएनएमा एकल परिपाटीको अन्त्य गर्छु 
टीबी कार्की

मैले २९ बुँदे घोषणापत्र तयार पारेको छु। त्यसमध्ये सबैभन्दा पहिला एनआरएनएलाई संस्थागत बनाउनुपर्ने मुख्य जिम्मेवारी छ। अहिले संस्थागत परिपाटीमा गएको छैन। एकल परिपाटीमा गइरहेको छ। एकल नेतृत्व र एकल निर्णयमा जाँदै छ। यसलाई रोक्न सामूहिक नेतृत्व र निर्णय आवश्यक छ। यो बेठिक भइरहेको छ। एनआरएनहरू जुनसुकै क्षेत्र, वर्ग वा समुदायका हुन्। धनी हुन् वा गरिब। हरेकले मेरो संस्था हो। हरेक गैरआवासीय नेपालीहरूले मलाई यो संस्थाले सहयोग गर्न सक्छ भन्ने अपनत्व गराउन आवश्यक छ। 
यसबाहेक सबै साथीले भूकम्पबाट भत्केको संरचनाको पुनर्निर्माण गर्ने एजेन्डा बनाएका छन्। यो निरन्तर चल्ने कार्यक्रम हो। पुनर्निर्माणमा योगदान त मैले अहिले पनि गरिरहेको छु।

यो सम्पूर्ण गैरआवासीय नेपालीको अभियान हो। यसका लागि मेरो नेतृत्व चाहिन्छ भनेर सोच्ने चुनावी एजेन्डा बनाउनु हुँदैन। पुनर्निर्माण बाहेकका एजेन्डा पनि मसँग छन्। यसबाहेकका काम पनि एनआरएनएले गर्नुपर्ने आवश्यक छ। नेपालमा राजनीतिक अस्थिरता सकियो। अब आर्थिक विकास गर्नुपर्छ। यसका लागि नेपालका राजनीतिक दल सरकारसँग नजिकमा रहेर काम गर्नुपर्ने छ। त्यसका लागि एनआरएनले पहिचान गर्नुपर्छ। अध्यक्ष स्वयंसेवक पद हो। अहिले अध्यक्षलाई राजा मान्ने मान्यताको अन्त्य गर्नुपर्छ।

प्रकाशित : आश्विन २८, २०७२ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?