चोरी सिकारी मुद्दाका फरार अभियोगी पक्राउ
बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जमा चोरी सिकार गरेको अभियोग लागेका फरार एक जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
सुर्खेत बराहाताल गाउँपालिका—२ सिस्नेरीका ३६ वर्षीय रविलाल मन्दिरलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जनाए ।
गत माघ १६ गते निकुञ्जको गस्ती टोलीले भरुवा बन्दुक ३ थान, १७ थान गोली र बारुद २ सय ग्रामसहित गणेश तिवारी र चक्रबहादुर विष्टलाई तत्कालै नियन्त्रणमा लिएको थियो । अदालतले तिवारी र विष्टसँग जनही २ लाख रुपैयाँ धरौटी माग गरेकोमा बुझाउन नसक्दा पुर्पक्षका लागि कारागार पठाएको प्रहरीले जनाएको छ ।
सोही मुद्दामा फरार रहेका मन्दिरलाई प्रहरीले पक्राउ गरी आवश्यक कारबाहीका लागि अदालत पठाएको छ ।
प्रतिक्रिया