कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२२

मोदीले सुरु गरे तेस्रो कार्यकाल

७२ सदस्यीय मन्त्रिपरिषद्, ३० मन्त्री र ४१ राज्यमन्त्री, मन्त्रीहरूमा धेरैजसो पुरानै अनुहार
राजेश मिश्र

नयाँदिल्ली — भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि शपथ लिएका छन् । राष्ट्रपति कार्यालयमा आइतबार विशेष समारोहबीच मोदीले प्रधानमन्त्री पदको शपथ लिएका हुन् । राष्ट्रपति द्रौपदी मुर्मूले मोदीसहित उनका मन्त्रिमण्डलका सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराइन् । 

मोदीले सुरु गरे तेस्रो कार्यकाल

भारतमा चुनाव जितेर लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री हुनेमा मोदी दोस्रो नेता बनेका छन् । यसअघि उक्त कीर्तिमान भारतका प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूको नाममा मात्रै थियो । यसअघि २०१४ र २०१९ को लोकसभा चुनाव जितेर मोदी लगातार १० वर्षदेखि प्रधानमन्त्री थिए । उनको दल भारतीय जनता पार्टी (भाजपा) ले अघिल्लो दुई वटा चुनावमा एक्लैले प्रस्ट बहुमत ल्याएको थियो ।


यस पटकको चुनावमा भने भाजपाले बहुमतभन्दा ३२ सिट कम पायो । तर, भाजपाले नेतृत्व गरेको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) ले बहुमत सिट ल्याएकाले मोदी प्रधानमन्त्री बन्न सफल भएका हुन् ।

भारतको ५ सय ४३ सदस्यीय लोकसभामा बहुमतका लागि २ सय ७२ सिट आवश्यक पर्छ । भाजपा नेतृत्वको एनडीएले २ सय ९३ सिट ल्याएको छ । एनडीएमा आबद्ध आन्ध्रप्रदेशको क्षेत्रीय दल तेलगु देशम पार्टी (टीडीपी) को १६ र बिहारको क्षेत्रीय दल जनता दल युनाइटेड (जदयु) को १२ सिटको समर्थन मोदीलाई प्रधानमन्त्री बनाउन निर्णायक भएको हो । निर्वाचनको परिणामपछि देखिएका आशंकालाई चिर्दै टीडीपीका नेता चन्द्रबाबु नायडू र जदयुका नेता नितिश कुमारले मोदीलाई समर्थन गरेका छन् ।

आइतबार गठित मोदी मन्त्रिपरिषद्मा राजनाथ सिंह, अमित शाह, जेपी नड्डा, शिवराज सिंह चौहान, निर्मला सीतारमण, एस जयशंकर, पीयूष गोयल प्रमुख अनुहार छन् । भाजपा अध्यक्ष नड्डा र मध्यप्रदेशका पूर्वमुख्यमन्त्री चौहान मोदीको तेस्रो क्याबिनेटका नयाँ सदस्य हुन् । हिमाचल प्रदेशका नड्डा राज्यसभा सदस्य छन् ।

मोदीको विश्वासपात्रका रूपमा चिनिने चौहानले भाजपालाई लोकसभा चुनावमा मध्यप्रदेशमा शतप्रतिशत नतिजा दिलाएका थिए । भाजपाले प्रदेशको २५ सिटमै ‘क्लिन स्विप’ गरेको छ । केही महिना अगाडि भएको प्रदेश चुनावमा पनि चौहानकै नेतृत्वमा भाजपाले त्यहाँ जित हासिल गरेको थियो । प्रदेश राजनीतिमा सफल मानिएका चौहानलाई मोदीले ३० सदस्य मन्त्रिपरिषद्मा स्थान दिएका छन् ।

धर्मेन्द्र प्रधान, जितनराम माझी, राजीव रञ्जन सिंह (ललन), सर्बानन्द सोनोवाल, डा. वीरेन्द्र कुमार, राममनोहर नायडू, प्रह्लाद जोशी, जुएल उराव, गिरिराज सिंहले मन्त्री पद पाएका छन् । त्यस्तै, अश्विनी वैष्णव, ज्योतिरादित्य सिंधिया, भूपेन्द्र यादव, गजेन्द्रसिंह शेखावत, अन्नपूर्णा देवी, किरेन रिजिजू, हरदीप सिंह पूरी, मनसुख मांडविया, जी किसन रेड्डी, चिराग पासवान र सीआर पाटिल मन्त्री बनेका छन् । त्यसबाहेक ५ जनालाई स्वतन्त्र प्रभार मन्त्री र ३६ जनालाई राज्यमन्त्रीको जिम्मेवारी दिएको छ । कुल ७२ जनाले शपथ लिएका छन् । साँझ सवा ७ बजेबाट प्रारम्भ भएको शपथग्रहण समारोह राति १० बजेसम्म चलेको थियो । अघिल्लो कार्यकालमा रहेका प्रमुख मन्त्रीहरूलाई मोदीले दोहोर्‍याएका छन् । उनीहरूको मन्त्रालय तोकिएको छैन । तर, अर्थमन्त्री निर्मला सीतारमणबाहेक धेरैजसोको मन्त्रालय दोहोरिने सम्भावना छ । अर्थमा पीयूष गोयल आउने बताइएको छ ।

मोदीले आफ्नो तेस्रो शपथग्रहण कार्यक्रममा पनि विदेशी राष्ट्र/सरकार प्रमुखहरूलाई बोलाउने परम्परालाई निरन्तरता दिएका छन् । शपथ समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति रणिल विक्रमसिंघे, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, मरिससका प्रधानमन्त्री प्रविन्दकुमार जगन्नाथ र सेसेल्सका उपराष्ट्रपति अहमद अफिफ सहभागी थिए ।

यसअघि २०१४ मा सार्क देशका तथा २०१९ बिमस्टेक राष्ट्रका प्रमुखहरू आमन्त्रित थिए । नेपालबाट मोदीको पहिलो शपथग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र दोस्रो शपथ समारोहमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका थिए । आइतबारको शपथग्रहण कार्यक्रममा ७ देशका प्रमुखहरूबाहेक शाहरूख खान, अक्षय कुमार, रजनीकान्तलगायत भारतका चर्चित फिल्म स्टारहरू पनि उपस्थित थिए । साथै मुकेश अम्बानी र गौतम अडानीजस्ता उद्योगपतिहरू पनि सहभागी थिए ।

दाहालले दिए बधाई

प्रधानमन्त्री पुष्पकमल दाहालले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् । आइतबार शपथ समारोहपछि राष्ट्रपति भवनमै मोदीसँगको संक्षिप्त शिष्टाचार भेटमा दाहालले बधाई दिएका हुन् । दिल्लीस्थित नेपाली दूतावासका नियोग उपप्रमुख सुरेन्द्र थापाले शुभकामनासँगै द्विपक्षीय हितका विषयमा कुराकानी भएको बताए । भेटमा प्रधानमन्त्री दाहालले समकक्षी मोदीलाई अनुकूल समय पारेर नेपाल भ्रमणको निम्तोसमेत दिएको दिल्लीस्थित दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपति द्रौपदी मुर्मूले आयोजना गरेको रात्रिभोजमा प्रधानमन्त्री नेतृत्वको नेपाली टोली सहभागी भएको थियो ।

कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, भारतका लागि नेपाली राजदूत शंकर शर्मालगायत नेपाली अधिकारीहरू शपथग्रहण समारोह र रात्रिभोजमा सहभागी भए । प्रधानमन्त्री दाहालको सोमबार राष्ट्रपति मुर्मूसँग भेटघाटको कार्यक्रम छ । त्यसबाहेक विदेशमन्त्रीको जिम्मेवारी पाउने नयाँ मन्त्रीले दाहाललाई उनी बसेको होटल ताज प्यालेसमा भेट्ने तय भएको छ । यसअघिकै विदेशमन्त्री एस जयशंकरले मन्त्रीको शपथ लिएका छन् । उनले नै विदेशमन्त्रीको जिम्मेवारी पाउने सम्भावना छ । दाहाल सोमबार स्वदेश फर्किनेछन् ।

प्रकाशित : जेष्ठ २८, २०८१ ०५:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×