कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६५

‘मिडल क्लास केटी’ को आत्मगाथा

मन्दिरमा झुन्डिएको त्यो घन्टीसमान हुँदोरहेछ– ‘मिडल क्लास’, जसलाई सरकारले सधैं बल लगाएर बजाउँछ । तिनको जीवन ‘अहो  ! कति महागो’ भन्दाभन्दै बितिजान्छ ।
मध्यम वर्गीय जीवनशैली फुस्रो, पुरानो दिनचर्यामै सीमित छ– नौ घण्टा काम, छ घण्टा निद्रा र बाँकी समय हजारौं सपना मरेपछि पनि मुहारमा सजाउनैपर्ने कृत्रिम मुस्कान !

जतिखेर म विद्यार्थी थिएँ, सोच्ने गर्थें, ‘औसत मध्यमवर्गमा जन्मेकाले जीवन कति चुनौतीहरूले भरिएको छ ! अझै आरक्षणले झन् खराब बनाइसक्यो ।’ सधैं त्यो सोचबाट माथि उठ्न संघर्ष गरिरहेकी हुन्थें, तर पारिवारिक पृष्ठभूमि अनि व्यक्तिगत समस्यामा अल्झेर त्यही सोच वरिपरि घुमिरहेकी पनि हुन्थें । त्यसैले फतफताउँदै भनिरहेकी हुन्थें– ‘भविष्यमा त पक्कै धनी व्यक्ति बन्नेछु ।’

‘मिडल क्लास केटी’ को आत्मगाथा

यसरी मध्यम वर्गीय परिवारमा जन्मिएकी मलाई धनी बन्ने चाहना भइरहन्थ्यो अनि सोच्थें, धनी जीवन बिताउँदा कस्तो अनुभूति हुँदो हो ! मध्यमवर्गका मानिसले धनीहरूका अघि आफ्नो हैसियत खोज्दै भौंतारिँदा सोच्दो हो– सायद म एक माझा चुँडिएको चंगा हुँ । तपाईंहरूलाई पनि मझैं धनी बन्ने चाहना हुँदो हो ! होइन र ?

हुन पनि हेर्नुस् न, मध्यम वर्गीय जीवनशैली कस्तो फुस्रो, पुरानो दिनचर्यामै सीमित छ– नौ घण्टा काम, छ घण्टा निद्रा, बाँकी समय हजारौं सपना मरेपछि मुहारमा सजाउनैपर्ने त्यो कृत्रिम मुस्कान । कत्ति दिक्कलाग्दो नि !

आम्दानीका आधारमा मध्यमवर्गलाई परिभाषित गर्नु गाह्रो विषय हो, कारण मध्यमवर्गको परिभाषामा पनि बेग्लै ‘क्यालिडोस्कोपिक’ दायरा छ । यो दायरामै कस्सिएर होला, आम मध्यम वर्गीय अभिभावकले बच्चाहरूलाई केवल कन्जुस नीतिहरूमा ‘मिडल क्लास’ जीवन जिउने ‘टिप्स’ दिन सक्छन् । त्यसरी होला, यो वर्गमा ‘मिडल क्लासोसिस’ जस्ता जटिल सोचको निर्माण हुन गएको ।

जोन मेनार्ड केन्सको पुस्तक ‘द जनरल थ्योरी अफ एम्प्लायमेन्ट, इन्ट्रेस्ट एन्ड मनी’ मा यस्तै ‘मिडल–क्लासोसिस’ आधारलाई पढेपछि मध्यमवर्ग र आर्थिक वृद्धिबीचको सम्बन्धमा सरकारले मध्यमवर्गलाई केवल लगानीको खपतका निम्ति आवश्यक मोहराका रूपमा प्रयोग गरेझैं भान हुन्छ ।

जब मैले ‘म्याड्रिड इन्स्टिट्युट फर एड्भान्स्ड स्टडी’का मानवविज्ञानी हाडास विस्को पुस्तक ‘हाउ सोसल मोबिलिटी मिस्लिड्स अस’ पढें, त्यहाँ मध्यमवर्ग विचारधाराहरू ‘मेरिटोक्रेसी’सँग जोडिएको पाएँ । जे होस्, तर एउटा मध्यम वर्गीय व्यक्तिलाई ‘फोर्ब्स’ पत्रिकाले धनी र उद्यमी बन्ने बाटोचाहिँ देखाउँदो रहेछ । तर, मध्यम वर्गीय वित्तसँग रूढिवाद पनि मिसिएपछि उद्यममा पैसा गुमाउने अनुमानमा त्यो बाटोतिर हाम फाल्दै हिँड्नु डर लाग्दोरहेछ । त्यो डरसँगै मलाई आयरिश लेखक जोनाथन स्विफ्टको भनाइ याद आउँछ– ‘बुद्धिमान व्यक्तिको मनमा होइन, दिमागमा पैसा हुनुपर्छ ।’ बडो दुःखले हासिल गरेको औपचारिक शिक्षा पनि अब सम्पत्ति कमाउन काम लाग्ने भएन । त्यसो भए उत्कृष्ट ‘ग्रेड’ के गर्ने ? यो ‘ग्रेड’ काम लाग्ने भए मझैं प्रत्येक स्नातक करोडपति बन्ने थियो होला । होइन र ? त्यसैले प्रत्येक धनी व्यक्तिलाई थाहा छ, पाठ्यपुस्तक कण्ठ गर्ने क्षमतासँग वित्तीय सफलताको सम्बन्ध छैन । यसको सट्टा धनी व्यक्तिहरू शक्तिशालीसँग ‘नेटवर्क’ विस्तारमा विश्वास गर्छन् ।

अहो ! यो सूत्रको आधारमा त म उही लुरे, अति साधारण, मध्यम वर्गीय केटीको गन्तीमै आउने भएँ, जोसित नामचिन व्यक्तिहरूले सम्बन्ध त राख्लान्, तर सामाजिक तौरमा त्यसलाई स्वीकार गर्न डराउँछन् । कारण, म उनीहरूको सामाजिक ‘स्टाटस’मा सुहाउँदो प्रतिनिधि होइन । म एक मध्यम वर्गीय जागिरे हुँ, तर उनीहरूलाई के थाहा, ल्याटिन अमेरिकामा परिपक्व पश्चिमी लोकतन्त्रलाई मध्यम वर्गीय समाजले कस्तो प्रभाव पारेको छ ? मध्यम वर्गीय भएरै मलाई सुस्त अर्थतन्त्रदेखि पेट्रोलसम्मको बढ्दो भाउ थाहा छ । मजस्ता शिक्षित, मध्यम वर्गीय परिवारका व्यक्ति नै हुन्छन्, जो धनीहरूको गन्तीमा आउने सपना लिएर विदेशिन्छन् । र, त्यसरी समाजमा सिर्जना हुन्छ अर्को व्यापक समस्या– ‘ब्रेन ड्रेन’ अर्थात् बौद्धिक पलायनको ।

मेरा बाबा शरद् छेत्रीले ‘ब्रेन ड्रेन’ विषयमा लेखेका रहेछन्– ‘धेरै दिनअघिदेखि नै ‘ब्रेन ड्रेन’ सम्बन्धी केही लेख्ने चाहना थियो, तर त्यस्तो समस्यासित जुध्ने मौका नपरेकाले सायद त्यस पक्षमा हात हाल्ने साहस राखिनँ । मेरो मगजमा– के यो विषय हाम्रो समाजमा उपयुक्त छ त ? भन्ने प्रश्न बाधा बनेर अघिल्तिर पहाडझैं निर्धक्क उभिएको थियो– तर, यस पटक त्यसको छातीमा एउटा पैह्रो देखें ।’

बाबाले भनेझैं ‘ब्रेन ड्रेन’ हाम्रो समाजमा आर्थिक पैह्रोसरह नै बन्न पुगेको छ । ‘ब्रेन ड्रेन’को कथा सुनाउँदै आमा भन्ने गर्थिन्– कलकत्ताबाट दादा अनि उनको हेर्दै ज्ञानी लाग्ने बंगाली साथी निलय यस पटक खडगपुरको सुप्रतिष्ठित संस्थान

‘इन्डियन इन्स्टिट्युट अफ् टेक्नोलजी’ (आईआईटी, खडगपुर) बाट भौतिक विज्ञान विषयमा स्नातकोत्तर तहको समापक परीक्षामा उत्तीर्ण भएर फर्किएका थिए । निलयसित बात गर्दा दादा भन्दै थिए रे– ‘निलय, तैंले त होल्यान्डतिर जाने निर्णय गरिस् क्यारे, होइन ?’

निलयको जवाफ थियो, ‘यूएसएमा पनि मौका पाएको छु, सायद होल्यान्ड नगएर त्यतातिर पो जानुपर्ला कि । यो देशमा हाम्रो योग्यताको कुनै कदर नै छैन । तसर्थ कदर पाउने हो भने विदेश जानु नै पर्छ । जाऔं सँगै ।’

यसमा भौतिक विज्ञान पढेका दादाले भन्दैथ्यो रे– ‘अहँ, म कतै पनि जान्नँ । मलाई पहाड मनपर्छ, म यहीं बस्छु । टिचिङ गर्छु ।’

निलयले भन्यो रे, ‘त्यो तेरो उमेरको जोसमात्रै हो, भावुकतामात्रै । व्यावहारिक बन्ने गर् । आफ्नो पढाइको योग्य काम तेरो यस पहाडमा कहाँ छ र ? तसर्थ विदेशतिर जाने निधो गर् ।’

निलय कलकत्ता फर्केर गएपछि आमाले विवेक दादालाई बुझाएर भनिछन्– ‘सायद, मेरो विचारमा पनि तैंले बाहिरै जानैपर्छ, यहाँ उचित स्कोप नै छैन ।’

परिवारबाट टाढा हुनु भावनात्मक रूपमा गाह्रो कुरा हो । प्रत्येक मध्यम वर्गीय घरमा आमाबाबाको उमेर बढ्दै जाँदा परिवारजनको स्वास्थ्य र कल्याणका चिन्ताहरू बढ्न थाल्छन् । त्यसैले दादालाई पनि विदेश जानु नै थियो । त्यस पहाडे केटासित अरू कुनै उपाय थिएन । ऊ त केवल एउटा सामान्य ‘ब्रेन ड्रेन’ तर्फको सानो चोट भोगिरहेको थियो, त्यसभन्दा ठूलो चोट पहाडे आमालाई थियो, जो केवल पेटका निम्ति तन्नेरी छोरोलाई अरूहरूको युद्धमा सिपाही बनाई पठाउन बाध्य थिइन् । यस्ता धेरै कुरा जान्दाजान्दै पनि मध्यम वर्गीय आमाले स्वयंलाई एउटा जटिल हिसाबमा पाएकी थिइन् होला, जुन हिसाबमा पहाडको छातीमा देखिने पैह्रोको आयतन नाप्ने कुनै सहज नियम थिएन, तसर्थ त्यसलाई रोक्ने उपाय कसरी गर्ने ?

भारतजस्ता विकासोन्मुख देशहरूमा ‘ब्रेन ड्रेन’ जनसंख्याको उच्च प्रतिशतको परिणाम हो । किनभने विश्वस्तरका संस्थाहरूमा भाग लिने दौड बढेको छ । संसार पैसाका लागि पागल छ र हामी मध्यम वर्गीय भारतीय फरक छैनौं । भारतभन्दा विदेशमा पैसा कमाउन सजिलो भएकाले अहिले प्रायः ‘ब्रेन ड्रेन’ समस्या मध्यम वर्गीय परिवारको आम विषय बनिसकेको छ ।

हुन सक्छ, भारतमा अपर्याप्त संस्थाहरू छन्, जुन ‘ग्लोबल एक्सपोजर’, सुविधाहरूको पक्षबाट पढेका ‘ब्रेन’का निमित्त पर्याप्त छैनन् । वा हुन सक्छ देशमा चलिरहेको राजनीतिक अस्थिरताले अवसरको अभाव छ । र, आरक्षणको बलियो चाप छ । तर, मलाई त ‘ब्रेन ड्रेन’को मुख्य कारण यस्तो लाग्छ– हामीमध्ये धेरैको सुस्त ‘मिडल क्लास’ सोच । प्रायः युवा राम्रो जीवनशैलीको खोजमै त विदेशिन्छन् । पढेर बौद्धिक रूपमा ठूलो भए पनि भारतमा बसेर फेरि उही ‘मिडल क्लास मेन्टालिटी’को सामना गर्नु नपरोस् भनेरै त हो, ‘ब्रेन ड्रेन’ देशमा देखापरेको । होइन र ?

त्यसैले मध्यमवर्ग ‘औसत आय’ मात्रै होइन । धेरै क्षेत्रमा यो वास्तवमा ‘औसत आयभन्दा माथि’ को अर्थ हो । यो विशेषगरी गरिब र धनीबीचको ठूलो भिन्नता भएका क्षेत्रहरूको मामला हो । जिम फ्रेडरिकले सन् २००२ मा ‘टाइम’ पत्रिकामा लेखेका थिए, ‘चीनको बढ्दो मध्यमवर्ग देशको भविष्यको चाबी हो ।’ अर्को लेखमा बर्डसल, ग्राहम र पेटिनाटो (सन् २०००) ले बढ्दो विश्वव्यापीकरणको सामना गर्दै मध्यमवर्गको संकुचनमाथि चिन्ता व्यक्त गरेका छन्– ‘बजार अर्थतन्त्र र प्रजातन्त्र दुवैको मेरुदण्ड धेरै विकसित समाजहरूमा मध्यमवर्गका निम्ति संकुचित छ ।’

मध्यमवर्ग भारतीय जनसंख्याको प्रतिशत र निरपेक्ष दुवै हिसाबले सबैभन्दा छिटो बढिरहेको प्रमुख हिस्सा हो । यसले अहिले जनसंख्याको ३१ प्रतिशत प्रतिनिधित्व गर्छ र सन् २०३१ सम्म ३८ प्रतिशत हुने अपेक्षा गरिएको छ ।

मध्यम वर्गीय औकात र आकाश

मध्यमवर्गमा हुर्केका जोकोहीलाई सानैदेखि परिवारको आय र खर्च, आकांक्षा र वास्तविकता, चाहना र आवश्यकतालाई सन्तुलनमा राख्न सिकाइन्छ । ‘छोरीलाई भविष्यमा सोझो व्यक्ति बनाउन’ बाबाले मलाई हृदयचन्द्रसिंह प्रधानको निबन्ध ‘सोझो’ पढाएका थिए । बाबा भन्ने गर्थे– ‘सोझाको उपस्थितिको कारण नै दुष्ट वा दानवहरूले समाजमा राज गर्दैछन् ।’ तर, म १६ वर्षको छँदा जीवनले यस्तो कोल्टे फेर्‍यो, मैले जीवनबाट ‘बाबा’ लाई सधैंका निम्ति गुमाएँ । अबउसो आमासित हुर्किनुपर्दा हामी पूर्ण रूपमा मध्यम वर्गीय जमातमा गनिन थाल्यौं । मध्यम वर्गीय समस्याहरूको चाबुकले मलाई ‘सोझो’ शब्दको असाध्यै गाह्रो भासमा पुर्‍यायो । त्यो भासले थिचिएर समाज अनि परिवारका निम्ति म केवल एक ‘होचो’ मध्यम वर्गीय केटी थिएँ, जसलाई भविष्यमा ऋण नलिईकनै एउटा सुन्दर घर, दामी गाडी अनि सुखी, धनी जीवनको लालसा थियो । र, मलाई लाग्छ, यो लालला हामी प्रत्येक मध्यम वर्गीय व्यक्तिको हुन्छ । जे होस्, मध्यम वर्गीय परिवारका बच्चाहरूलाई प्रायः अभिभावकले ‘कमजोर’ बनाउँछन्– कलिलैदेखि तिनका हृदयमा कलाप्रति मोह जगाइदिएर ।

म पनि ठहरिएँ उस्तै कमजोर मध्यम वर्गीय कलाप्रेमी । मलाई सानैदेखि गितार बजाउन खुब मनपर्थ्यो । ‘बा’ बितेर गएपछि मलाई उनले दिएको उपहार त्यो गितारसित लगाव बढेर गयो । म मेरो ‘ब्ल्याकबर्ड’ गिटार काँधमा बोकेर प्रायः कलेज जान्थें । हुनुपर्छ, स्नातकोत्तर तहको अन्तिम सत्रमा थिएँ । अनि मनमा त्यस वर्षको कलेज फि आफैं भर्ने संकल्प पनि गुथेकी थिएँ । त्यसैले कलेज अवधिपछि बेलुकी म स्थानीय चर्चमा गितार सिकाउन जान थालें । त्यसरी, त्यो वर्ष कलेज फिको जोगाड लगाइरहेकी थिएँ । तर, अचानक एक दिन विपक्षी राजनीतिक दलहरूको मतभेदले कलेज प्रांगणमा भयंकर भागदौड मच्चियो । क्याम्पस चारैतिर हिंसामा जले झैं देखिन्थ्यो । त्यो हिंसामा कसैले मेरो ‘ब्ल्याकबर्ड’ गितारलाई कुल्चिएर भाँचिदियो । अर्को गिटार किन्ने त अबउसो मेरो औकात नै थिएन । त्यतिबेला मेरो औकातले हियाउँदै भनिरहेको थियो, ‘ए लिलिपुट लुरे, तँ ‘मिडल क्लास’ केटी, तैंले मेरो सत्ता स्वीकार्नैपर्छ ।’

हुन त चुपचाप मैले ‘मिडल क्लास’को सत्तालाई स्वीकार गरेकी थिएँ । तर, त्यो कलेजको राजनीतिक आगो थियो, जसमा मेरो सपना जलेको थियो र त्यो आगो सेलाएपछि, त्यसको अस्तुबाट उठेको पिरो धूवाँले मलाई जीवनमा ‘बा’ नहुनुको यथार्थले खुब सतायो । अब थियो, आमाको आँखाबाट ‘ब्ल्याकबर्ड’ गिटारको पार्थिव अंशहरूलाई घरको अँध्यारो कुनातिर लुकाउने कार्य, जसको विचार मात्रैले मलाई व्याकुल बनाइरहेको हो । त्यो घटनापछि म मध्यम वर्गीय विचारधारालाई पूर्ण रूपमा स्वीकार गर्दै ‘दत्तचित्त योगी’ बन्ने बाटोमा हिँडिरहेको थिएँ ।

हो, ‘दत्तचित्त योगी’ । मलाई लाग्छ, हामी प्रत्येक मध्यम वर्गीय मान्छे ‘दत्तचित्त योगी’ नै हौं । प्रत्येक मध्यम वर्गीय व्यक्तिलाई उसको सपनाको हत्या हुँदा भयंकर पीडा हुन्छ ।

चोइटिएको मध्यम वर्गीय सपना

धेरैजसो वित्तीय अवरोधहरूले मध्यम वर्गीय विद्यार्थीको जीवनमा महत्त्वपूर्ण भूमिका खेल्छ । विद्यार्थीको ट्युसन शुल्क, पाठ्यपुस्तक, स्कुल ड्रेस, यातायात र व्यक्तिगत आवश्यकताजस्ता खर्चका लागि एउटा निर्धारित बजेट परिवारले तय गरेको हुन्छ । मैले जीवविज्ञानको स्नातकोत्तर तहको शिक्षापछि भारतको ‘सीएसआईआर जुनियर रिसर्च फेलोसिप’को परीक्षा उत्तीर्ण गरें । अनि कल्याणी विश्वविद्यालय अन्तर्गत एउटा ‘रिसर्च प्रोजेक्ट’मा सामेल हुने मौका पाएँ । त्यहाँ ‘रिसर्च’ छात्रालाई चौबीस हजार प्रतिमहिना दिइने गरिन्थ्यो । त्यहीं छँदा मेरो घनिष्ठता अन्य तीनजना बंगाली साथीहरूसित बढ्यो । बंगाली अभिभावकहरू आफू दुःखको जीवन बिताउँछन्, तर सन्तानलाई किञ्चित गाह्रो हुन दिँदैनन् । त्यसैले दुई साथीका अभिभावकले ‘रिसर्च सेन्टर’सम्म पुग्न उनीहरूलाई स्कुटी किनिदिएका थिए । म पनि तिनै साथीहरूको स्कुटीमा सधैं ‘रिसर्च सेन्टर’सम्म ‘लिफ्ट’ पाउँथे ।

तर, त्यसरी ‘लिफ्ट’ पाउने बानीले मलाई पनि साथीहरूझैं स्कुटीमा उड्ने जोस दियो । तब संकल्प गरें, जसरी पनि यस पटक ‘लोन’मा एउटा स्कुटी किन्छु । त्यसैले हरदिन आमालाई भन्ने गर्थें, ‘आमा, मेरो ‘रिसर्च सेन्टर’ म बसेको ‘होस्टेल’देखि धेरै टाढा छ, त्यहाँ जान मलाई धेरै समय लाग्छ, राति खुट्टा दुखेर फत्रक्क पर्ने गर्छु, म यसचोटि ‘ईएमआई लोन’मा स्कुटी किन्छु नि है ।’

पहिले त आमाले केही भन्नुभएन । तर, एउटै बहाना सधैं दोहोरिइबस्दा, एक दिन आमाले असाध्यै झर्किंदै भन्नुभयो, ‘अँ स्कुटीचाहिँ एकदम किन्नु पर्दैन, त्यो बडो महँगो पर्छ । के हो, भाइको शिक्षा भुलिस् ? त्यसलाई पढाउनु पर्दैन ? पर्खी स्कुटीको समाधान छ नि मसँग । एउटा साइकल किन् हौ बरु ।’ उफ् साइकलमा ‘रिसर्च सेन्टर’ पुग्नु ? मलाई ती स्कुटीमा आउने साथीहरू सम्झेर कुरीकुरी भयो । त्यसैले ‘रिसर्च’ अवधि पूर्ण नहुन्जेल मैले पैदल हिँडेर ‘स्वास्थ्य नै धन हो’ भन्ने हितोपदेशसित समय बिताएकी थिएँ ।

सायद तपाईंहरूमध्ये कैयौंले आफ्नो छात्रावस्थामा यस्तो सानोतिनो सपना चोइटिएको अनुभव पक्कै पनि गर्नुभएको छ होला ? होइन र ?

मध्यम वर्गीय व्यक्तिको स्थिति निकै दयनीय हुन्छ– तैमूर (हिन्दी फिल्मका नायक सैफ अलीको छोरा) जस्तो बचपन वा अनूप जलौटा जस्तो बुढ्यौली जीवनको भाग्य हुँदैन । तर, ती आफ्नै समस्याहरूमा अल्झेर व्यस्त देखिन्छन् ।

‘मिडल क्लास’मा हुनुको पनि आफ्नै फाइदा चाहिँ छ– चाहे ‘बीएमडब्लू’ गाडीको भाउ बढोस् वा नयाँ ‘आईफोन’ लन्च, मध्यम वर्गीयलाई बाल फरक पर्दैन ।

मध्यम वर्गीय जीवन संघर्षमय छ, तर उत्साहले भरिएको । जिउनु पर्दा जीवन गाह्रो लाग्न सक्छ । तर, जीवनको एउटा अर्थपूर्ण लक्ष्य हुन्छ नै ।

मध्यम वर्गीय जीवनको सहजताले व्यक्तिलाई भविष्यमा निःस्वार्थसित अरूको खुसी निमित्त बाँच्ने कला बीजारोपण गर्छ । त्यसैले यहाँ जीवनमा सानोभन्दा सानो उपलब्धिले पनि खुसी र सन्तुष्टि ल्याउँछ । त्यसैले मध्यम वर्गीय जीवनमा जति नै सपना चोइटिए पनि आफ्नोपनको न्यानो प्रेम र साथले परिवारमा खुसी दिन्छ । त्यसैले माथि लेखेझैं जीवन दिक्कलाग्दो मात्रै छैन त्यहाँ खुसी पनि छ ।

परीक्षा अनि मध्यम वर्गीय समस्या

अवकाश पक्कै पनि मध्यम वर्गीय जीवनको सुनौलो अवधि होइन । बाबाको अप्रत्याशित मृत्युपछि आमा नितान्त एक्लोपनमा गुज्रिइन् । अनि परिवारलाई ‘राम्रो भविष्य’ दिने बोझमुन्तिर लगातार घिस्रिरहिन् । उनी त्यो दिन सोफामा पल्टिएर, समाचार च्यानलहरू ‘स्विच’ गर्दै थिइन् । उनलाई घुँडाको दुखाइले सुत्न दिँदैनथ्यो । मध्यमवर्गको दुःख हो– बचत नहुनु । त्यसैले मैले आमासँग आउँदो कलेजको परीक्षाका निम्ति सिलगढी जाने र त्यहाँ होटलमा बस्ने पैसा माग्न सकिनँ । तसर्थ, साथी छायाँ विश्वासको घरमा बसेर परीक्षा दिने निधो गरें ।

छायाँ पनि मझैं मध्यम वर्गीय परिवारकी छोरी थिई । प्रायः ‘मिडल क्लास’की छोरीलाई ‘पर्सनल बेड’ अनि रुम विवाहउप्रान्त मात्रै प्राप्त हुँदो हो । त्यसैले हामीले परीक्षाका निम्ति खुला छप्परमा पढेर रात बिताएका थियौं । छायाँले त्यो दिन भनेकी थिई–

‘तिमीलाई थाहा छ, एउटा सच्चा ‘मिडल क्लास’ व्यक्तिले गिजर बन्द गरेर तबसम्म नुहाउँछ अरे, जबसम्म नलमा चिसो पानी आउँदैन । ‘मिडल क्लास’ व्यक्ति चन्दा दिने बेला अचानक नास्तिक हुन्छ, अनि प्रसाद खाने बेला आस्तिक । वास्तवमा ‘मिडल क्लास’ मन्दिरमा झुन्डिएको घन्टीसमान हुँदो रहेछ, जसलाई कमजोर, अल्पमत–पूर्णमत हरप्रकारको सरकारले बल लगाएर बजाउँछ । मध्यमवर्गले सरकारी सुविधा पाएका हुँदैनन् । त्यसमाथि सरकारी विभागमा जे गराएबापत पनि टेबुलमुनि वा माथिको शुल्क जरिवानाको तौरमा तिराउँछन् ।

मध्यम वर्गीय जनताको ऋण माफी हुँदैन । मध्यमवर्गका लागि निःशुल्क घर छैन, निःशुल्क बिजुली वा पानी छैन । मध्यमवर्गका मानिस लुटिनका लागि मात्रै हुन् । भारतमा मध्यमवर्गका मानिस सबैभन्दा उपेक्षित छन्, कारण हामीकहाँ सरकार वा चुनाव नतिजाहरूको खासै असर पर्दैन ।

‘मिडल क्लास परिवार सटीक बजेटमा चलिरहेको हुन्छ । महिनाको अन्तिममा तलब घरमा नपसे आमा चिन्ताले कन्तुर फुटाइरहेकी हुन्छिन् । जेजस्तो भए पनि मिडल क्लासको आधा जीवन ‘कति महँगो’ भन्ने शब्द रटेरै बितिजाँदो रहेछ । त्यसैले यस्तो जीवनबाट उम्किनैपर्छ ।’

म सोच्छु– तल्लो तहका स्त्रीसँग जीवनमा कुनै स्वतन्त्रता छैन, माथिल्लो वर्गका स्त्रीलाई भने त्यो स्वतन्त्रताको केवल भ्रम छ । सबैले मानेझैं ‘मिडल क्लास’ व्यक्तिमा अरू उच्च वर्गभन्दा जागरुकता ज्यादै हुन्छ, ‘बार्गेनिङ’ रगत–रगतमा बगेको हुन्छ, जुन उच्च वर्गका व्यक्तिसँग हुँदैन ।

छायाँले आफ्नो अति प्रिय कुर्ता देखाउँदै त्यो दिन भनेकी थिई– ‘यो कुर्ती म महिनामा एक वा दुई पटक मात्र लगाउँछु, त्यो पनि कलेज वा बाहिर घुम्न जाँदा । एक वर्षपछि यसलाई म घर बस्दा लगाउने कपडा बनाउँछु । त्यसपछि कत्ति वर्षको प्रयोगपछि यो कपडालाई आमा घरको झ्याल–ढोका सफा गर्न प्रयोग गर्छिन् । यो मेरो कुर्ताको भविष्य टालो बन्नु हो ।’

मध्यम वर्गीय व्यक्ति बसको खचाखच भीडमा ठेलिन्छ, पेलिन्छ, थिचिन्छ, उकुसमुकुस हुन्छ । र, उकुसमुकुस हुनु ऊ बाँच्नु हो । मार्क्स र वेबरले सामाजिक वर्गहरूको प्राथमिक वर्गीकरण आर्थिक मापदण्डमा आधारित हुन्छ भनेका थिए । मार्क्सले तर्क गरे, मध्यमवर्ग एउटा ‘सानो पुँजीपति’ हो, जसको निजी सम्पत्ति छ, तर अरूलाई रोजगार दिन सक्दैन । यसको विपरीत, वेबरको विश्वास थियो– मध्यम वर्गीय व्यक्तिसँग अकुशल श्रमिकहरूभन्दा फरक बजारयोग्य सीपहरू छन् । मार्क्सले मध्यमवर्ग समयसँगै घट्दै जाने बताए पनि वेबरले पुँजीवादी व्यवस्थामा मध्यमवर्ग विस्तार हुने तर्क गरे, जो आजको तारिखमा शतप्रतिशत सत्य लाग्छ ।

१८ औं शताब्दीमा एउटा नयाँ सामाजिक समूहको उदय भएको थियो, जसलाई मध्यमवर्ग भनेर चिनिन्थ्यो । वैदेशिक व्यापार र वस्तु उत्पादनको विस्तारले पछि त्यही मध्यमवर्गबाट नै धनी वर्गको उत्पत्ति हुन गयो । व्यापारी र निर्माताहरूबाहेक, मध्यमवर्गमा वकिल र प्रशासनिक अधिकारीहरू पनि थिए, जो शिक्षित जमातका थिए ।

सन् १९४७ को स्वतन्त्रतापछि ब्रिटिस संस्थाहरू भारतीय नेताहरूले अघि बढाए । र, त्यो भारतीय मध्यमवर्ग थियो, जसले ती संस्थाहरूमा नेतृत्वको भूमिका निभाए । यसर्थ भारतीय समाजमा तीन वर्गहरू देखापर्थ्यो– अदक्ष र दक्ष, श्रमिक–‘क्लर्क’, चपरासी, जो ‘स्पेक्ट्रम’को तल्लो छेउमा थिए । ठूला उद्योगपति र जमिनदारले उच्च वर्गको गठन गरे । र, अन्त्यमा सरकारी अधिकारी, डाक्टर, विश्वविद्यालयका ‘प्रोफेसर’ आदिबाट बनेको मध्यमवर्ग निर्माण भयो । भारतमा अशिक्षित, तर धनी व्यापारीलाई मध्यमवर्ग मानिँदैन । तसर्थ, भारतीय मध्यमवर्गलाई आयभन्दा शिक्षाले बढी परिभाषित गर्न सकिन्छ ।

त्यसैले मध्यमवर्ग हुनु भनेको विवेक, संस्कृति र सिद्धान्तवान् व्यक्ति बन्नु हो । यसैले त मध्यमवर्गलाई कुनै पनि समाजको मेरुदण्ड मानिन्छ । मध्यमवर्गको जस्तो परिभाषा भए पनि आफूलाई मध्यमवर्ग वा तल्लो वर्गको सम्झिनु चाहिँ व्यक्ति वा समाजको मानसिकतामा निर्भर गर्छ । प्रायःले मान्छन्, सरकारले तल्लो वर्गलाई अशिक्षित बनाउन चाहन्छ, साम्प्रदायिक हिंसा अनि भोट ब्याङ्क निमित्त ।

सरकारले मध्यमवर्ग सिर्जना गर्दा यो जमातलाई सबै प्रकारको सरकारी सहुलियतबाट वञ्चित राख्यो । त्यसरी यो जमात दैनिक जीवनका चिजहरू ठीक गर्न व्यस्त बन्यो । यो जमात शिक्षित त थियो, तर परिवारबारे चिन्तित रहँदा यसले सरकारको भूललाई विरोध गर्ने समय पाएन ।

प्रत्येक तीनमा एक भारतीय ‘मध्यमवर्ग’ हो, जसको वार्षिक आय रु. ६ लाखदेखि ३० लाखसम्म छ । र, भारतको सांस्कृतिक–राजनीतिक जीवनमा मध्यमवर्गको प्रभुत्व छ ।

भारतीय होस् वा नेपाली मध्यमवर्ग, त्यो केवल त्यहाँको मानसिकता हो । एउटा यस्तो मानसिकता, जसले जीवनमा स्थिरता खोज्छ र त्यो स्थिरताका निम्ति आफूलाई बारम्बार परिवर्तनतिर होमिरहन्छ । वास्तवमा, मध्यमवर्ग त्यो जमातको नाम हो, जोसँग समाज परिवर्तन गर्ने क्षमता हुन्छ ।

जोन लक, जिन ज्याक रुसो र मोन्टेस्क्युजस्ता दार्शनिकहरू समाजमा परिवर्तनमूलक क्रान्तिका लागि मध्यमवर्गलाई जिम्मेवार ठान्छन् । दार्शनिकहरूका अनुसार, मध्यमवर्गले स्वतन्त्रता, समान कानुन अनि सबै प्रकारका जागरुकताका अवसरहरूको विचार समाजमा फैलाइरहेका हुन्छन् । सलाम छ– मध्यमवर्गलाई ।

त्यसैले एक प्राइभेट ब्याङ्कमा लेनदेनको हिसाब–किताबमै टाउको दुखाउँदै जागिर खाए पनि म उही मध्यमवर्गमै गनिन्छु । सोध्न मन लाग्यो– यो लेख पढिरहनुभएको तपाईं पनि के म जस्तै मध्यम वर्गीय नै हुनुहुन्छ ?

प्रकाशित : असार २२, २०८१ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×