कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

लोकसभा चुनाव : दक्षिण भारतमा किन जोड दिँदैछन् मोदी ?

‘अबकी बार चार सौ पार’ को नारा दिएर चुनावी मैदानमा होमिएका मोदीलाई दक्षिण भारतमा चुनाव जित्न सहज भने छैन ।
‘दिल्ली, बिहार, राजस्थान, महराष्ट्र जस्ता राज्यमा विपक्षी इन्डिया गठबन्धनले यस पटक भाजपालाई केही न केही क्षति पुर्‍याउने सम्भावना देखिँदैछ । त्यो सम्भावित क्षतिको पूर्ति पनि दक्षिणबाट गर्न सकिन्छ कि भन्ने प्रयासमा भाजपा लागेको देखिन्छ ।’
राजेश मिश्र

नयाँदिल्ली — प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभा चुनावका लागि भारतको दक्षिणी राज्यका मतादाता रिझाउन अधिकतम प्रयत्न गरिरहेका छन् । उत्तर र पश्चिमको तुलनामा सत्तारुढ भारतीय जनता पार्टी(भाजपा) दक्षिणमा कमजोर छ । ५ सय ४३ सदस्यीय भारतीय लोकसभाको चुनाव १९ अप्रिलबाट प्रारम्भ भएर चरणबद्ध रूपमा १ जुनसम्म हुँदैछ ।

लोकसभा चुनाव : दक्षिण भारतमा किन जोड दिँदैछन् मोदी ?

मोदी ‘अबकी बार चार सौ पार’ को नारा दिएर चुनावी मैदानमा होमिएका छन् । उनले आगामी चुनावमा भाजपा एक्लैले ३ सय ७० र भाजपा नेतृत्वको गठबन्धनले ४ सय सिट जित्ने दाबी गरिरहेका छन् । तर मोदीले भनेझैं चुनावी परिणाम हात पार्न भने कठिन छ । त्यसका लागि २०१९ को जित दोहोर्‍याउने मात्र होइन दक्षिण भारतमा पनि जबर्जस्त जित हात पार्नुपर्छ ।

भाजपाले पछिल्लो दुईवटा लोकसभा चुनाव २०१४ र २०१९ मा एक्लैले बहुमत ल्याएको थियो । २०१४ मा २ सय ८२ सिट जितेको भाजपा एक्लैले २०१९ मा ३ सय ३ सिटमा विजयी भएको थियो । भाजपा नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन(एनडीए)को ३ सय ५३ सिट आएको थियो । अघिल्लो दुई सफलतमा भाजपाले हिन्दीभाषी क्षेत्र उत्तरी भारतको ठूलो साथ पाएको देखिन्छ । लगातारको बहुमतबाट उत्साहित मोदीले आगामी चुनावमा आफ्नो पार्टीको लक्ष्य बढाएका हुन् । दक्षिण भारतका पाँच राज्यमा १ सय ३० लोकसभा सिट छन् । मोदीले दिएको चार सय पारको नाराका लागि दक्षिण भारतमा अधिकतम सिट भाजपाले जित्नुपर्ने हुन्छ । तर दक्षिण भारतमा विपक्षी दल कांग्रेससहित दलहरूको उपस्थिति राम्रो छ ।

दक्षिणमा अघिल्लो पटक २९ सिट जितेको भाजपाले यसपटक कुल सिटको कम्तीमा आधा ६२ देखि ६५ सिट जित्ने लक्ष्य लिएको छ । त्यसका लागि प्रधानमन्त्री मोदी महिनौंयता लगातार दक्षिण भारतको यात्रा गरिरहेका छन् । आफ्नो चुनावी रैलीको प्रारम्भ पनि उनले दक्षिणबाटै गरेका छन् । चुनाव घोषणापूर्व नै मोदीले तमिलनाडु, केरल र आन्ध्र प्रदेशका मन्दिरहरूको यात्रा गरेका छन् । आचारसंहिता लाग्नुपूर्व चुनावलाई लक्ष्यमा राखेर उनले विकासका कैयौं परियोजनाहरूको उद्घाटन, शिलान्यास र घोषणा गरेका छन् ।

पछिल्लो तीन महिनामा उनले २७ दिन दक्षिण भारतको यात्रा गरेका छन् । मार्च महिनामा मात्र उनले दक्षिणी राज्यमा दर्जनौं सभालाई सम्बोधन गरिसकेका छन् । सात चरणको मतदानसम्ममा मोदी अझै धेरै पटक दक्षिणको यात्रा गर्ने कार्यक्रम छ । भाजपाले दक्षिणमा मोदीको लोकप्रियताको अधिकतम् लाभ लिन प्रयत्नशील छ । दक्षिणको चुनावी प्रचारको नेतृत्व स्वयं मोदीले सम्हालेको देखिन्छ ।

भाजपाले उत्तर र पश्चिमका राज्यहरूमा उच्चस्तरको उपलब्धि पछिल्ला चुनावमा पाइसकेको छ । त्योभन्दा सिट बढ्न सक्ने सम्भावना कम छ । विपक्षी गठबन्धन ‘इन्डिया’ले भाजपाको केही सिट लगेको स्थितिमा साविकको भन्दा सिट घट्न सक्छ । राजनीतिक विश्लेषक रशीद किदवई भाजपा एक्लैले ३ सय ७० सिटको अपेक्षा राख्नुलाई चुनौतीपूर्ण देख्छन् । त्यसका लागि अधिकतम् राज्यमा ९० र बाँकीमा ६० प्रतिशत सिट भाजपाले जित्नुपर्ने उनी भन्छन् । ‘उत्तर र पश्चिमका राज्यमा पछिल्लो चुनावमा भाजपाले उत्कृष्ट प्रदर्शन देखाइसकेको छ । पूर्वी राज्यमा पनि औसतन राम्रो नतिजा आएको थियो,’ उनले भने ‘सिट संख्या बढाउनलाई भाजपालाई दक्षिणको साथ चाहिएको छ ।

२०१९ दक्षिणमा कर्नाटकबाहेकका राज्यमा भाजपाले राम्रो प्रदर्शन गर्न सकेको थिएन ।’ दक्षिणमा राम्रो सफलता प्राप्त गर्नु अहिले पनि भाजपाका लागि मुश्किल नै देखिँदै आएको उनको विश्लेषण छ । प्रधानमन्त्री मोदीले दक्षिणका मतदातालाई रिझाउन अधिक्तम प्रयास गरिरहेका छन् । त्यसले भाजपाको मत प्रतिशत त केही बढाउने सम्भावना रहन्छ, तर त्यसले चुनावी जित नै दिलाउने विषय अझै कठिन देखिएको उनले उल्लेख गरे । दक्षिणको हरेक राज्यमा त्यहाँको स्थानीय भाषाको रक्षाको लडाइँको राजनीति छ । भाजपाले भारतभरि हिन्दीभाषालाई प्राथमिकता दिएर बढाउन खोजेको छ । त्यसबाट पनि दक्षिणी राज्यमा भाजपालाई लिएर एक प्रकारको असन्तुष्टि पहिल्यैदेखि कायम छ । त्यसलाई विकासको नारा दिएर चिरेर जाने प्रयत्नमा भाजपा देखिन्छ ।

लोकसभामा दक्षिण भारतको तमिलनाडुमा–३९, कर्नाटकमा–२८, आन्ध्र प्रदेशमा–२५, केरलमा–२०, तेलंगानामा–१७ र पुड्डुचेरीमा–१ सिट छन् । अघिल्लो पटक कर्नाटकबाहेकका राज्यमा भाजपाको प्रदर्शन राम्रो थिएन । भाजपाले कर्नाटकको २८ मध्ये २५ सिट जितेको थियो । अहिले कर्नाटकमा पनि कांग्रेसले भाजपालाई छेक्ने अधिकतम् प्रयास गरिरहेको छ । त्यहाँको विधानसभा चुनाव जितेर कांग्रेसले सरकार चलाइरहेको छ । २०२३ मा भएको विधानसभा चुनावमा कांग्रेसले उत्कृष्ट नतिजा पाएको थियो ।

कर्नाटक दक्षिणको प्रवेशद्वार मानिन्छ । त्यहाँ भाजपालाई पुरानै प्रदर्शन दोहर्‍याउन मुश्किल मानिएको छ । टिकट वितरणलाई लिएर पार्टीभित्रै नेताहरू असन्तुष्ट रहेका समाचार आएका छन् । त्यसको लाभ कांग्रेसले उठाउने सम्भावना छ । चुनावी नतिजा आफ्नो पक्षमा पार्न भाजपाले पूर्वप्रधानमन्त्री एच.डी देवेगौडाको पार्टी जनता दल(सेक्युलर)सँग त्यहाँ गठबन्धन गरेको छ । कर्नाटकबाहेक भाजपाले तेलंगानामा ४ सिट जितेको थियो ।

सबैभन्दा बढी लोकसभा सिट रहेको तमिलनाडुमा अघिल्लो चुनावमा भाजपाले एक सिट पनि जितेको छैन । आन्ध्र, केरल र पुड्डुचेरीमा पनि त्यस्तै नतिजा थियो । राजनीतिक विश्लेषक किदवई दक्षिणमा आएको अघिल्लो नतिजाकै स्थितिले ३ सय ७० पुर्‍याउन असम्भव हुने भएरै भाजपाले सक्दो बल दक्षिणमा लगाइरहेको बताउँछन् । भाजपा दक्षिणमा स–साना पार्टीसँग गठबन्धन गरेर आफ्नो मत बढाउने प्रयासमा छ । आन्ध्र प्रदेशमा भाजपाले पूर्वमुख्यमन्त्री चन्द्रबाबु नायडूको तेलुगु देशम पार्टी र जनसेना पार्टीसँग गठबन्धन गरेको छ । दुई क्षेत्रीय पार्टीसँगको गठबन्धनले त्यहाँ भाजपालाई केही लाभ दिलाउन सक्ने सम्भावना छ । तमिलनाडुमा त्यहाँको दुई ठूला क्षेत्रीय दलले दूरी बनाएपछि भाजपाले साना दललाई जोडेको छ । प्रधानमन्त्री मोदीले दक्षिणका सबै प्रदेशको लगातार यात्रा गरिरहेका छन् । चुनावी र्‍यालीहरूमा भाजपा सरकारको उपलब्धि र भविष्यका योजना चर्चा गरिरहेका छन् ।

सन् २०१९ को चुनावमा भाजपाले गुजरातको २६, हरियाणाको १०, हिमाचल प्रदेशको ४, त्रिपुराको २, चण्डीगढको १, दमन र दीवको १, दिल्लीको ७ र उत्तराखण्डको सबै ५ सिट जितेको थियो । यी प्रदेशमा यहाँभन्दा अगाडि बढ्ने कुनै ठाउँ छैन । निर्णायक मानिएको ठूला राज्यमा भाजपाकै पकड थियो । सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशको ८० सिटमध्ये ६२ सिट जितेको थियो । पश्चिम बंगालको ४२ सिटमा १८, बिहारको ४० सिटमा भाजपा एक्लैले १७ र गठबन्धले ३९ सिट जितेको थियो । त्यस्तै, मध्यप्रदेशको २९ मध्ये २८, राजस्थानको २५ मध्ये २४ र महाराष्ट्रको ४८ सिटमा २३ सिट जितेको थियो ।

पञ्जाबमा भने भाजपा कमजोर छ । क्षेत्रीय दलसँग गठबन्धन हुन नसक्दा त्यहाँ भाजपा एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएको छ । पञ्जाबका १३ सिटमध्ये २०१९ को चुनावमा सबैभन्दा बढी भारतीय राष्ट्रिय कंग्रेसले ८ सिट जितेको थियो । त्यस्तै भाजपा र शिरोमणि अकाली दलले २–२ सिट जितेको थियो । त्यस्तै आम आदमी पार्टीले १ सिट जितेको थियो ।

सन् २०१९ मा झारखण्डको १४ मध्ये ११, छत्तीसगढको ११ मध्ये ९ र असमको १४ मध्ये ९ सिट भाजपाले जितेको थियो । मणिपुर र मेघालयको दुई–दुई सिटमा एक–एक सिट जितेको थियो । भाजपाले २०१९ मा एक्लैले ३ सय ३ सिट जित्दा दक्षिणी हिस्सा भने कम थियो ।

‘त्यही हिस्सेदारीलाई बढाउन प्रधानमन्त्री मोदी प्रयत्नशील हुनुहुन्छ, उनको लगातारको दक्षिण यात्रा चुनावी गणितलाई कसरी बढाउन सकिन्छ भनेरै हो,’ विश्लेषक किदवईले कान्तिपुरसँग भने ‘दिल्ली, बिहार, राजस्थान, महराष्ट्र जस्ता राज्यमा विपक्षी इन्डिया गठबन्धनले यस पटक भाजपालाई केही न केही क्षति पुर्‍याउने सम्भावना देखिँदैछ । त्यो सम्भावित क्षतिको पूर्ति पनि दक्षिणबाट गर्न सकिन्छ कि भन्ने प्रयासमा भाजपा लागेको देखिन्छ ।’

चुनावी प्रचारमा पार्टीलाई ‘ब्रान्डिङ’ गर्न सक्ने खुबी पनि अरु पार्टीभन्दा भाजपासँग भएको विश्लेषक किदवईको भनाइ छ ।

प्रकाशित : चैत्र २०, २०८० १८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?