सन् १९९४ मा आजकै दिन : बेलायत–फ्रान्स सुरुङ मार्ग 

वैशाख २४, २०८१

कान्तिपुर संवाददाता

On this day in 1994: The UK-France tunnel

काठमाडौँ — सन् १९९४ मा आजकै दिन (मे ६) मा बेलायत र फ्रान्स जोड्ने सुरुङ मार्ग खुला गरिएको थियो । ‘च्यानल टनेल’ नाम दिइएको सुरुङ मार्ग बेलायती महारानी एलिजाबेथ द्वितीय र फ्रान्सका राष्ट्रपति फ्राँस्वा मितेराँले उद्घाटन गरेका थिए । 

बेलायतको फोल्कस्टोन सहरदेखि उत्तरी फ्रान्सको क्लाइस सहर जोड्ने मार्ग ५०.४६ किमि लामो छ । त्यसमध्ये ३७.८ किमि समुद्रमुनि रहेको छ । यो समुद्रमुनि निर्मित सबैभन्दा लामो सुरुङ हो । यस मार्गमा सञ्चालन हुने रेलमार्फत वार्षिक करिब एक करोड यात्रुले बेलायत र फ्रान्सबीच आवतजावत गर्ने गर्छन् । 

कार तथा बसहरू सञ्चालन गर्ने उद्देश्यले बनाइएको भए पनि सुरुङ मार्गमा हाल सुरक्षाका कारण रेल मात्रै गुड्छन् । मार्गमा गुड्ने रेलका लागि १६० किमि प्रतिघण्टाको गति तोकिएको छ । त्यसका आधारमा फोल्कस्टोनदेखि क्लाइस पुग्न ३५ मिनेट हाराहारी समय लाग्छ ।

कान्तिपुर

Link copied successfully