१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

रूसी कन्सर्ट हलमा भएको आक्रमणको विश्वभरबाट निन्दा

रासस/एएफपी

मस्को — मस्कोस्थित कन्सर्ट हल (क्रोकस सिटी हल) मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ६० जनाभन्दा बढीको मृत्यु हुनुका साथै १०० भन्दा बढी घाइते भएको घटनाप्रति विश्वभरका नेताहरूले दुःख व्यक्त गरेका छन् । 

रूसी कन्सर्ट हलमा भएको आक्रमणको विश्वभरबाट निन्दा

शुक्रबार मस्कोको क्रोकस सिटी हलमा भएको आतंकवादी हमलामा ६० जनाभन्दा बढीको मृत्यु भएको रूसको अनुसन्धान समिति (आइसीआर) ले पुष्टि गरेको छ ।

आतंकवादी आक्रमणका कारण ६० जनाभन्दा बढीको मृत्यु भएको प्रारम्भिक पुष्टि आइसीआरले गरेको हो । घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या थप बढ्न सक्ने आइसीआरले शनिबार बताएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुका साथै उपचारमा संलग्न चिकित्सकलाई धन्यवाद दिएको रूसी उपप्रधानमन्त्री तात्याना गोलिकोवालाई उद्धृत गरी रूसी सञ्चारमाध्यमहरूले समाचार सम्प्रेषण गरेका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार एक विज्ञप्ति जारी गरी मस्कोमा आजको आतंकवादी आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् ।

गुटेरेसले रूसको आधिकारिक नाम उल्लेख गर्दै शोक सन्तप्त परिवार, जनता र रूसीसरकारप्रति भावपूर्ण समवेदना व्यक्त गरेका छन् ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले पनि शोक व्यक्त गर्दै सबै राष्ट्रलाई रूसी सरकार र अन्य अधिकारीहरूसँग आतंकवादका यी निन्दनीय कार्यहरूका दोषी र समर्थकहरूलाई जवाफदेही बनाउन र उनीहरूलाई न्यायको कठघरामा ल्याउन ‘सक्रिय सहयोग गर्न’ आग्रह गरेको छ ।

'सुरक्षा परिषद्का सदस्यहरूले जघन्य र कायरतापूर्ण आतंकवादी आक्रमणको कडा शब्दमा निन्दा गरेका छन्,' विज्ञप्तिमा भनिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस जघन्य आतंकवादी आक्रमणको भर्त्सना गर्दै भनेका छन्, 'दुःखको यस घडीमा भारत सरकार रूसी महासंघका जनतासँग ऐक्यबद्धताका साथ उभिएको छ ।'

जापानको विदेश मन्त्रालयका प्रेस सचिव कोबायाशी माकीले आक्रमणको निन्दा गर्दै जापानले शोक सन्तप्त रूसी नागरिकप्रति समवेदना प्रकट गरेका छन् । उनले घाइते जनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।

त्यसैगरी, चिनियाँ राष्ट्रपति सी चिनफिङले आक्रमणको कडा शब्दमा निन्दा गर्दै रूसी जनता र राष्ट्रपति पुटिनप्रति समवेदना प्रकट गर्नुभएको छ ।

चिनियाँ राष्ट्रपति सीले चीनले सबै प्रकारका आतंकवादको विरोध गर्ने, आतंकवादी आक्रमणको कडा निन्दा गर्ने र आफ्नो राष्ट्रिय सुरक्षा र स्थायित्वको रक्षाका लागि रूसी सरकारको प्रयासलाई दृढतापूर्वक समर्थन गर्ने कुरामा जोड दिएका छन् ।

विगत दुई वर्षदेखि रूसी सैन्य आक्रमणको सामना गरिरहेको युक्रेनका राष्ट्रपतिका सहयोगी माइखाइलो पोडोल्याकले टेलिग्राममा लेखेका छन्, 'युक्रेनको यस आक्रमणसँग कुनै सम्बन्ध छैन ।'

युक्रेनी रक्षा मन्त्रालयको मुख्य गुप्तचर निर्देशनालयले ‘मस्कोमा भएको आतंकवादी हमला पुटिनको आदेशमा रुसी विशेष सेवाहरूको योजनाबद्ध र सुनियोजित उक्साहट भएको’ बताउँदै युक्रेनसँगको युद्धलाई थप चर्काउने र विस्तार गर्ने उद्देश्य रहेको आरोप लगाएको छ ।

अमेरिकाले ‘भयानक’ गोलीकाण्डका पीडितप्रति समवेदना व्यक्त गर्दै थप जानकारी लिने प्रयास गरिरहेको जनाएको छ ।

राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले पत्रकारहरूसँग भने, 'यस भयानक गोलीकाण्डका पीडितहरुप्रति हाम्रो समवेदना छ । ‘घटनास्थल र वरपरका तस्वीरहरू भयानक छन् र हेर्न गाह्रो छ ।'

ह्वाइट हाउसका अनुसार अमेरिकाले मार्चको सुरुमा रूसका अधिकारीहरुलाई मस्कोमा हुने ‘ठूलो जमघट’लाई लक्षित गरी ‘योजनाबद्ध आतंकवादी हमला’ हुनसक्ने चेतावनी दिएको थियो ।

युरोपियन युनियन (ईयू) ले मस्को आक्रमणले विश्वलाई स्तब्ध बनाएको जनाएको छ ।

'इयूले नागरिकमाथि हुने कुनै पनि आक्रमणको निन्दा गर्दछ । प्रभावित सबै रूसी नागरिकप्रति हाम्रो समवेदना छ,' ईयूका प्रवक्ताले बताए ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले इस्लामिक स्टेट (आइएस)ले रूसमा गरेको आतंककारी आक्रमणको कडा शब्दमा निन्दा गरेको बताएका छन् ।

'फ्रान्सले पीडित, उनीहरूका प्रियजन र सम्पूर्ण रुसी जनताप्रति ऐक्यबद्धता प्रकट गर्दछ,' फ्रान्सको राष्ट्रपतिको कार्यालयले उल्लेख गरेको छ ।

प्रकाशित : चैत्र १०, २०८० १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?