१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०६

अमेरिकी सहायता समुद्री मार्ग हुँदै गाजामा

रासस/एएफपी

गाजा — अमेरिकी परोपकारी संस्था ‘वर्ल्ड सेन्ट्रल किचन’ ले पठाएको सहायता सामग्री शनिबार युद्धग्रस्त गाजा क्षेत्रमा पुगेको छ । सहायताका लागि पठाइएको २ सय ४० टन खाद्यान्नलगायत सामग्री गाजामा वितरणका लागि तयारी भइरहेको संस्थाले विज्ञप्तिमार्फत जानकारी गराएको छ । संस्थाले साइप्रसबाट हुँदै अर्को २ सय ४० टन खाद्यान्न भरिएको डुंगा ढुवानीका लागि तयारी भइरहेको जनाएको छ । 

अमेरिकी सहायता समुद्री मार्ग हुँदै गाजामा

संस्थाले खाद्यान्न अभाव कम गर्न सहायता जारी राखेको बताएको छ । यसले गाजामा अनिकालको चेतावनीलाई कम गर्ने आशा गरिएको छ । उक्त ढुवानीमा तयारी खानेकुरा सिमी, गाजर, चना, मकै, चामल, पिठो, तयारी खाना तथा तेल र नुनलगायत सामानहरू समावेश रहेको संस्थाले जनाएको छ । मानवीय सहायता समूहले दोस्रो जहाज कहिले गाजा पुग्छ भन्नेबारे जानकारी नभएको बताएको छ ।

इजरायली सेनाले शुक्रबार स्पेनी परोपकारी संस्था ओपन आर्म्सद्वारा सञ्चालित पहिलो जहाज आइपुगेको पुष्टि गरेको छ । उक्त क्षेत्रलाई सुरक्षित गर्न र सुरक्षा निरीक्षण गर्न सैनिकहरू तैनाथ गरिएको सेनाले बताएको छ । सन् २००७ देखि हमासद्वारा शासित समुद्री मार्गबाट मानवीय सहायता वितरण गर्न लागिएको हो । यसले गाजाको वर्षौं लामो समुद्री नाकाबन्दीलाई उल्लंघन नगर्ने सेनाले बताएको छ । संस्थाले सहायता पुर्‍याउन गाजा सहरको दक्षिणपश्चिममा अस्थायी पोर्ट निर्माण गर्नुपर्ने जनाएको छ ।

दक्षिणी इजरायलमा अक्टोबर ७ मा प्यालेस्टिनी लडाकु समूह हमासको अकल्पनीय आक्रमणमा परिणामस्वरूप लगभग एक हजार १ सय ६० जनाको मृत्यु भएको थियो । इजरायल आक्रमणको बदलामा इजरायली सेनाले गाजामा सुरु गरेको सैन्य कारबाहीमा ३१ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।

प्रकाशित : चैत्र ४, २०८० ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?