कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतमा बजार खोज्दै अस्ट्रेलिया

दुई महिनायता व्यापार र आप्रवाससम्बन्धी सम्झौता, भारतसागको व्यापार १ सय अर्ब डलर पुर्‍याउने लक्ष्य

अस्ट्रेलिया — चीनसँगको व्यावसायिक सम्बन्धमा तिक्तता आएपछि अस्ट्रेलियाले भारतसँग द्विपक्षीय सम्बन्ध अझ बलियो बनाउन सुरु गरेको छ । दुई महिनाको बीचमा अस्ट्रेलियाले भारतसँग दुई महत्त्वपूर्ण सम्झौता गरेको हो ।

भारतमा बजार खोज्दै अस्ट्रेलिया

गत सेप्टेम्बरमा दुई देशबीच महत्त्वपूर्ण व्यापार सम्झौता सम्पन्न भएको थियो । एक साताअघि दुईदिने अस्ट्रेलिया भ्रमणमा आएका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीबिच आप्रवाससम्बन्धी सम्झौता भएको छ ।

मोबिलिटी एरेन्जमेन्ट फर ट्यालेन्टेड अर्ली प्रोफेसनल स्किम (मेट्स) नाम दिइएको यो सम्झौताअन्तर्गत अस्ट्रेलियाले भारतबाट दक्ष तथा व्यावसायिकहरूलाई भिसा सहज उपलब्ध गराउनेलगायत प्रावधान राखिएको छ । अस्ट्रेलियाले भारतलाई सबैभन्दा ठूलो व्यापार साझेदार बनाउन प्रयास गरिरहेको र अर्कोतिर सहज अध्यागमन कार्यक्रमअन्तर्गत दक्ष तथा व्यावसायिक ज्ञान भएकालाई आफ्नो रोजगार क्षेत्रमा आकर्षित गर्न खोजिरहेको विज्ञको विश्लेषण छ ।

दुई देशबीच वार्षिक करिब ४६ अर्ब डलरको व्यवसायलाई अझ बलियो बनाउने उद्देश्यले करिब ५ महिनाअघि व्यापार अस्ट्रेलिया इन्डिया इकोनोमिक कोअपरेसन एन्ड ट्रेड एग्रिमेन्ट (एक्टा) सम्झौता गरिएको हो । गत वर्षको डिसेम्बर २९ देखि लागू भएको उक्त सम्झौताअनुसार अस्ट्रेलियालबाट भारततर्फ हुने निर्यातका सामग्रीमध्ये ८५ प्रतिशतसम्ममा शुल्क मिनाहा हुनेछ भने थप ३ वर्षसम्म करमुक्त हुने अस्ट्रेलियाली उत्पादन ९० प्रतिशत पुर्‍याइने अस्ट्रेलियाका सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

यसैगरी भारतबाट अस्ट्रेलिया निर्यात हुने करिब ९६ प्रतिशत वस्तुमा कर छुट गरिएको छ । भारतसँग अस्ट्रेलियाले गरेको यो व्यापार सम्झौता कुनै पनि पश्चिमा मुलुकले भारतसँग गरेको अहिलेसम्मकै पहिलो स्वतन्त्र व्यापारिक सम्झौता भएको समाचार संस्था एबीसीले उल्लेख गरेको छ । हालै सम्पन्न मेट्स सम्झौताअनुसार हरेक वर्ष ३ हजार भारतीय युवा व्यवसायीलाई २ वर्षसम्मका लागि कुनै स्पोन्सर्सबिना नै आउन पाउने प्रावधान राखिएको छ । यसले भारतका दक्ष युवालाई रोजगारी मिल्ने र अस्ट्रेलियाको जनशक्ति अभावलाई समेत केही हदसम्म सहयोग पुग्ने अपेक्षा गरिएको छ । सम्झौतापछि दुवै देशका प्रधानमन्त्रीले द्विदेशीय सम्बन्ध अर्को चरणमा प्रवेश गरेको बताएका छन् । अस्ट्रेलियाली प्रधानमन्त्री अल्बानिजीले दुई देशको सम्बन्ध हरेक क्षेत्रबाट अझ समृद्ध र सुदृढ हुँदै गएको बताएका छन् । भारतीय प्रधानमन्त्री मोदीले दुई देशको सम्बन्ध अझ गहिरो र परिपक्व बन्दै गएको प्रतिक्रिया दिएका छन् । अस्ट्रेलियाली प्रधानमन्त्री भारत भ्रमणमा गएको ३ महिना नपुग्दै भारतीय प्रधानमन्त्री मोदी अस्ट्रेलिया भ्रमणमा आएका हुन् । यसले समेत अस्ट्रेलियाले आफ्नो कूटनीतिक सम्बन्ध दक्षिण एसियाको एक शक्तिशाली देशसँग सफलतापूर्वक सुदृढ बनाइरहेको प्रस्ट भएको समाचारमाध्यमले उल्लेख गरेका छन् ।

आफ्नो सबैभन्दा ठूलो व्यावसायिक साझेदार चीनसँगको व्यावसायिक र कूटनीतिक सम्बन्धमा लामो समयदेखि समस्या आएको र त्यसमा कुनै नदेखिएकाले अस्ट्रेलियाले अन्य देशसँगको व्यापारिक सहकार्यमा जोड दिइरहेको छ । चीनले अस्ट्रेलियाली उत्पादन वाइन, जौ, मासु, फलाम लगायतमा लगाएको व्यावसायिक अवरोध पूर्ण रूपमा हटाइसकेको छैन । कृषक तथा व्यावसायीको दबाब र मागका कारण समेत अस्ट्रेलिया अरू बजार खोज्न बाध्य छ । अस्ट्रेलियाले गत वर्षको अन्त्यमा गरेको व्यापार सम्झौतामा अस्ट्रेलियाली उत्पादनलाई शुल्क मिनाहा गर्ने मात्र नभएर भारतीय कामदारलाई अस्ट्रेलियामा आएर काम गर्न पाउने (वर्किङ होलिडे भिसा) समेत दिने उल्लेख छ । अस्ट्रेलियाले दक्षिण एसियाली मुलुकका नागरिकलाई वर्किङ होलिडे भिसा दिएको भारत पहिलो देश हो । नयाँ सम्झौतामा भारतीय विद्यार्थीलाई विशेष सुविधा दिइएको छ । जसअनुसार जुलाईदेखि अस्ट्रेलियाको विश्वविद्यालयबाट अध्ययन सकेका विद्यार्थीले आठ वर्षसम्मका लागि वर्कभिसाका लागि आवेदन दिन सक्नेछन् ।

त्यसैगरी अनुसन्धान गर्नका लागि भारत जाने अस्ट्रेलियाका नागरिकले ३ वर्षसम्मका लागि बस्न अनुमति पाउनेछन् । अस्ट्रेलियाले पछिल्लो समयमा गरेका यी सम्झौताले व्यापार तथा व्यावसायिक सम्बन्धमा सुधार ल्याउने मात्र नभएर भविष्यमा भारतसँगको व्यापार वर्षमा १ सय अर्ब डलर पुर्‍याउने लक्ष्य राखिएको छ । अस्ट्रेलियाका लागि भारत छैटौं ठूलो व्यावसायिक साझेदार हो भने चौथो ठूलो निर्यात बजार हो । अस्ट्रेलियाली अर्थतन्त्रका लागि महत्त्वपूर्ण योगदान दिने अन्तर्राष्ट्रिय विद्यार्थीका आधारमा भारत दोस्रो ठूलो बजार हो ।

प्रकाशित : जेष्ठ २१, २०८० ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?