आजकै दिन

अस्ट्रेलियालाई विश्वकप उपाधि

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् २०१५ मा आजकै दिन (मार्च २९) मा अस्ट्रेलियाले न्युजिल्यान्डलाई हराउँदै पाँचौं पटक पुरुष क्रिकेट विश्वकपको उपाधि जितेको थियो । एकदिवसीय फर्म्याटको उक्त विश्वकप अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गरेका थिए ।

फेब्रुअरी १४ देखि मार्च २९ सम्म आयोजित यो ११ औं विश्वकप थियो । ब्रेन्डन म्याकुलम कप्तान रहेको न्युजिल्यान्डले सबै विकेट गुमाउँदै १ सय ८४ रनको लक्ष्य दिएको थियो । अस्ट्रेलियाले ३ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्टाएको थियो । त्यस क्रममा अस्ट्रेलियाका कप्तान माइकल क्लार्कले ७४ रन बनाएका थिए ।

फाइनल खेल अस्ट्रेलियाको मेलबर्न क्रिकेट ग्राउन्डमा खेलाइएको थियो, जहाँ ९३ हजार दर्शक उपस्थित थिए । प्रतियोगितामा १४ देशका क्रिकेट टोली सहभागी थिए, जसलाई दुई समूहमा विभाजन गरी खेलाइएको थियो । अस्ट्रेलियाका बलर मिचेल स्टार्क ‘प्लेयर अफ द सिरिज’ घोषित भएका थिए । अस्ट्रेलिया क्रिकेटतर्फ सर्वाधिक विश्वकप जित्ने टोली हो । यो प्रतियोगितासँगै अस्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ मा पनि विश्वकप जितेको छ । अस्ट्रेलियाले एक पटक सन् २०२१ मा टी–२० विश्वकपको उपाधि पनि जितिसकेको छ । अस्ट्रेलियापछि भारत र वेस्ट इन्डिजले दुई–दुई पटक एकदिवसीय फर्म्याटको पुरुष क्रिकेट विश्वकपको उपाधि जितेका छन् ।

प्रकाशित : चैत्र १५, २०७९ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्

कोरोना पुनः बढ्दै, मंगलबार २४ जनामा संक्रमण

अतुल मिश्र

काठमाडौँ — सीमा जोडिएका उत्तरप्रदेशलगायत भारतीय राज्यहरूमा कोरोना संक्रमण अप्रत्याशित वृद्घि भइरहँदा त्यसको असर नेपालमा पनि देखिन थालेको छ । पछिल्लो एक सातामा संक्रमित संख्या बढेर ७८ पुगेको छ । मंगलबार एकैदिन २४ जनामा संक्रमण पुष्टि भएको छ । 

‘भारतमा जस्तै नेपालमा पनि संक्रमित संख्या एक्कासि बढ्न थालेको छ,’ स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास भन्छन्, ‘५–६ दिनयता सीमा नाकाहरू त्रिनगर, गड्डाचौकी, कृष्णनगर, झुलाघाट, बेलहियाबाट नेपाल भित्रिनेमा संक्रमण देखिएको छ ।’

स्वास्थ्य अधिकारीका अनुसार भारतमा देखिएको ‘एक्सबीबी.१.१६’ भेरिएन्ट पहिलेको ओमिक्रोनका भेरिएन्टहरूको दाँजोमा बढी संक्रामक छ । उत्तरप्रदेशमा ‘एक्सबीबी.१.१६’ भेरिएन्ट देखिरहेको जनाउँदै डा. दासले भने, ‘हामीले सतर्कता बढाएका छौं, जिन सिक्वेन्सिङका लागि समेत नमुना संकलन बढाएका छौं ।’

भारतमा जनवरीमा ‘एक्सबीबी.१.१६’ को २ वटा मात्र केस पुष्टि भएकामा फेब्रुअरीमा १ सय ४० र मार्चमा २ सय ४ नाघिसकेको छ । नेपालमा हालसम्म ‘एक्सबीबी.१.१६’ को संक्रमण पुष्टि भएको छैन । मुख्य रूपमा ओमिक्रोनको सब भेरिएन्ट एक्सबीबी, एक्सबीबी.३, बीए २.७५ को संक्रमण देखिएको छ । त्यस्तै ओमिक्रोनकै बीए ५.२, बीएम.१.१.३ को समेत पुष्टि भएको छ । दास भन्छन्, ‘तत्काल आत्तिनुपर्ने अवस्था छैन तर मास्कको प्रयोग, हातको सरसफाइ, पूर्ण मात्रा खोपलगायतका जनस्वास्थ्य मापदण्ड पालना गर्नु आवश्यक छ ।’ संक्रमण बढे पनि ८० दिनयता मुलुकमा कोभिडका कारण ज्यान गएको छैन । गत पुस २३ गते कोभिडले एक जनाको मृत्यु भएको थियो ।

डब्लूएचओद्वारा गत सोमबार जारी विश्वव्यापी साप्ताहिक कोरोना रिपोर्टअनुसार पछिल्लो २८ दिनमा ४० लाखभन्दा बढी नयाँ कोरोना केस पुष्टि भएको छ भने ३५ हजारभन्दा बढीको मृत्युसमेत रेकर्ड गरिएको छ ।

रिपोर्टका अनुसार दक्षिणपूर्व एसियामा ७० प्रतिशत, पूर्व भूमध्य क्षेत्रमा ८९ प्रतिशत र युरोपेली क्षेत्रमा ९ प्रतिशतले संक्रमण बढेको छ । डब्लूएचओले दक्षिणपूर्व एसियाका ११ मुलुकमा मात्र १८ हजार नयाँ केस पुष्टि भएको जनाएको छ । सबैभन्दा बढी नयाँ केसहरू भारतमा पाइएको छ ।

कोरोना संक्रमण पुनः तीव्र बनिरहँदा रोकथामको दरिलो व्यवस्थापनमा जानुपर्ने विज्ञले औंल्याएका छन् । धुलिखेल अस्पतालका जिनोमिक ल्याबका प्रमुख डा. राजीव श्रेष्ठले खोप नभएका बेला लकडाउन, आइसोलेसनको विकल्प नहुने तर अहिले भने स्वास्थ्य मापदण्ड, खोपलगायतका समग्र व्यवस्थापनमा जानुपर्ने बताए । पछिल्लो समय सरकारले ल्याएको कोभिडविरुद्घको बायो भेलेन्ट खोपले हाल फैलिरहेको भेरिएन्टहरूलाई नियन्त्रण गर्न सकिने उनको भनाइ छ । ‘रोग प्रतिरोधक क्षमता कम भएका, दीर्घरोगी वा शारीरिक समस्या भएकाहरूलाई कोभिड संक्रमणमा बढी जटिलता देखिन सक्छ । त्यस्ताले खोप नलगाएको खण्डमा ज्यान जोखिममा पर्न सक्छ,’ उनले भने, ‘सबैले तेस्रो मात्रा खोप लगाउनै पर्छ । दीर्घरोगी, बुढापाकाहरूले वाइभेलेन्ट खोपको चौथो मात्रा लगाउनु आवश्यक छ ।’ खोपले संक्रमण हुनबाट नजोगाए पनि स्वास्थ्यमा देखिने जटिलता र मृत्युदरमा व्यापक कमी ल्याउँछ । संक्रमण बढिरहेकाले मास्क लगाउने, हातको सरसफाइजस्ता स्वास्थ्य मापदण्ड पालना गर्दै खोपको उपयुक्त मात्रा लगाउन डा. श्रेष्ठको सुझाव छ ।

प्रकाशित : चैत्र १५, २०७९ ०७:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×