न्यु साउथ वेल्समा लेबर पार्टीको जित

नारायण खड्का

अस्ट्रेलिया — न्यु साउथ वेल्समा १२ वर्षपछि विपक्षी दल लेबर सरकारमा फर्किएको छ । शनिबार सम्पन्न निर्वाचनमा लिबरल कोअलिसनलाई पराजित गर्दै लेबरले जित हासिल गरेपछि १२ वर्षसम्म विपक्षीमा बसेको लेबरले सरकार बनाउने पक्का भएको हो ।

स्थानीय समाचारमा जनाइए अनुसार ९३ सांसद संख्या रहेको तल्लो सदनमा बहुमतको सरकार निर्माणका लागि आवश्यक पर्ने ४७ संख्या लेबरले जित्ने उल्लेख छ । मतगणना भइरहेका कारण यथार्थ नतिजा सार्वजनिक भइसकेको छैन । यद्यपि अस्ट्रेलियामा हुने संसदीय निर्वाचन मुख्य गरेर विद्युतीय प्रणालीबाट हुने र प्रारम्भिक नजिता निर्वाचनकै दिन अनुमान गर्ने गरिएको छ । एबीसीका निर्वाचन विश्लेषक एन्थोनी ग्रिनले समेत लेबरले बहुमत सरकारका लागि आवश्यक पर्ने सिट संख्या लेबरले जित्ने अनुमान गरेका छन् । यसपटक निर्वाचनको दिनअघि नै १० लाख बढी मतदाताले अग्रिम रुपमा मतदान गरेका थिए भने लाखौं मतदातालाई हुलाकमार्फत समेत मतपत्र पठाइएको थियो ।

निर्वाचनमा जित हासिल गरेसँगै लेबरका नेता क्रिस मिन्स यस राज्यको प्रिमियर बन्ने पक्का भएको छ । ४३ वर्षीय लेबरका नेता पूर्व अग्निनियन्त्रक हुन भने उनले आफू जनताको हकहित र सुरक्षाका लागि सरकार निर्माणका लागि तयार भएको बताएका छन् । उनले धेरै चुनौती र अवसर रहेको बताउँदै लेबर यसका लागि तयार रहेको बताएका छन् । वर्तमान प्रिमियर तथा लिबरल नेता डोमिनिक पेरोटेले लेबर नेता मिन्सलाई शुभकामना दिएका छन् । हारसँगै लिबरल नेता पेरोटेले पार्टी नेताबाट राजीनामा दिएका छन् । उनले यस राज्यमा लिबरलले बेहोर्नुपरेको हारको जिम्मेवारी लिँदै पार्टीको नेतृत्वबाट हट्ने जनाएका हुन् ।

यसपटक न्यु साउथ वेल्सको निर्वाचनमा उम्मेदवार बनेका दुई नेपालीमूलका उम्मेदवारले विपक्षीलाई कडा चुनौती दिएपनि जित भने हासिल गर्न सकेनन् । एबीसीमा उपलब्ध निर्वाचन नतिजा अनुसार लेबर पार्टीबाट उम्मेदवार बनेका एलेक्स कार्कीले लिबरलका रे विलियम्ससँग हार बेहोर्ने देखिएको छ भने लिबरलबाट उम्मेदवार बनेकी ज्योप्सना पौडेलले ग्रेग वारेनसँग हार बेहोर्ने देखिएको छ । यद्यपि कार्की उम्मेदवार बनेको केलिभिल निर्वाचन क्षेत्रको करिब ६५ प्रतिशतमात्र मतगणना भएको छ भने पौडेल उम्मेदवार रहेको क्याम्पेलटाउन निर्वाचन क्षेत्रको करिब ५० प्रतिशत मात्र मतगणना भएको कारण अन्तिम नतिजा भने आइसकेको छैन । अहिलेसम्म केन्द्रीय राजनीतिमा सफलता हासिल नगरेपनि नेपालीको उपस्थिति यहाँको राजनीतिमा पछिल्लो समयाम दरिलो बन्दै गएको छ ।

प्रकाशित : चैत्र १२, २०७९ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्

हुम्लामा ६ परीक्षा केन्द्रबाट १ हजार २३४ विद्यार्थीले एसईई दिँदै

जनकबहादुर शाही

हुम्ला — आउँदो चैत्र १७ गतेबाट सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षमा हुम्लाका ६ वटा परीक्षा केन्द्रबाट १ हजार २ सय ३४ जना परीक्षार्थी सहभागी हुने भएका छन् । कोरोना महामारीपछि जिल्ला बाहिर अध्ययन गर्दै आएका विद्यार्थी जिल्लामै फर्किएर पढ्न थालेपछि परीक्षार्थीको संख्या बढी देखिएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख तिलक भट्टराईले बताए ।

दुई वर्ष लगातार कोरोनाका कारण पठनपाठन बन्द हुँदा जिल्ला बाहिर अध्ययन गर्दै आएका विद्यार्थी जिल्लामै आएर एसईई दिने भएपछि उक्त संख्या बढेको हो । जिल्लाका ६ वटा परीक्षा केन्द्र सिमकोट गाउँपालिकाका २ केन्द्र बालमन्दिर माविमा २ सय ५६ जना र मानसरोवर माविमा १ सय ८० जना परीक्षार्थी सहभागी हुनेछन् भने सर्केगार्ड गाउँपालिकाका हिमज्योति मावि सर्केगार्डमा २ सय ५३ जना र कोटमावि रोडिकोटमा १ सय ४८ जना, अदानचुली गाउँपालिकाको सूर्योदय मावि श्रीनगरमा १ सय ५७ जना र ताँजाकोट गाउँपालिकाको मदानादेव मावि पाँदामा २ सय ४० जना परीक्षार्थी गरी जिल्लाभरिबाट बाट १ हजार २ सय ३४ जना परीक्षार्थीको सहभागिता रहने छ ।

हुम्लाबाट ६ सय ६० जना छात्र र ५ सय ७४ जना छात्राले एसईई परीक्षा दिँदैछन् । जसमा साधारणतर्फ १ हजार १ सय ४८ जना, प्राविधिक धारतर्फ ८० जना र ग्रेडवृद्धितर्फ ६ जना परीक्षार्थीमध्ये १ हजार २ सय २८ जना नियमित र ६ जना साधारणतर्फको ग्रेडवृद्धिका परीक्षार्थी रहेका प्रमुख भट्टराईले बताए । गत वर्ष हुम्लाबाट १ हजार १ सय ३६ जना परीक्षार्थीले एसईई परीक्षा दिएका थिए ।

प्रकाशित : चैत्र १२, २०७९ १०:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×